Comments Add Comment

मड्रिडमा संसारकै खुशी फुटबलर !

३१ जेठ, काठमाडौं । ‘म संसारकै खुशी फुटबर हुँ’, जर्मन क्लब इन्ट्राच्ट फ्राङफर्टबाट स्पेनिस क्लब रियल मड्रिड आएपछि लुका योभिचले भनेको यो वाक्यसँगै उनको अनुहारमा देखिएको खुशी हेर्न लायक थियो ।

२१ वर्षको उमेरमा विश्वकै सफल क्लबमा आउन सक्नु सामान्य कुरा पनि होइन । त्यसमा पनि भर्खरै सकिएको सिजन बुन्डेस लिगामा ३२ खेलमा १७ गोल र ६ असिस्ट साथै युरोपा लिगको १४ खेलमा १० गोल एक असिस्ट गरेका योभिचको मनोबल उच्च हुनु जायज नै देखिन्छ । उनका गोलका संख्या मात्रैले पनि उनको स्तरीय खेलबारे पूरा विवरण बोल्दैन । ती संख्याभन्दा माथि देखिन्छ उनको खेल शैली ।

बोस्निया हर्जगोभिनामा जन्मिएका योभिचको फुटबल जीवन सर्बियन फुटबल क्लब रेड स्टार बेलग्रेडबाट सुरु भएको हो ।

पाँच वर्षको उमेरदेखि नै फुटबलले छोएका योभिच क्लबमा नै जान थालेपछि त फुटबलरकै बाटोमा लागे । साना केटाकेटीको लागि बेलग्रेडमा गरिने ‘मिनि म्याक्सी’ फुटबल प्रतियोगिताको एउटै खेलमा तीन गोल गरेपछि पाँच वर्षकै उमेरमा उनले एक खेलको ५० युरो कमाएका थिए । त्यसमा उनका बुबा समेतको लागि खानासमेत सित्तैमा थियो ।

त्यही तहल्काले नै उनको फुटबलको जिम्मा रेड स्टार बेलग्रेड क्लबले लिएको थियो । ६ वर्षको उमेरमा उनलाई सर्बियाको पार्टिजन फुटबल क्लबले महिनाको दुई सय युरोमा अनुबन्ध गर्न चाहेको थियो । तर उनका बुबाले बेलग्रेड नछाड्ने निर्णय लिए ।

बेलग्रेडबाट १६ वर्षको उमेरमा व्यावसायिक खेलमा डेब्यू गर्दा नै उनले मैदान छिरेको दोस्रो मिनेटमा गोल गरेका थिए । त्यसले भोजभोडिनाविरुद्धको खेल ३–३ को बराबरी हुँदै बेलग्रेडले २०१३–१४ को सर्बियन सुपर लिगाको उपाधि जितेको थियो ।

लुका योभिच

त्यसपछिको एक सिजन बेलग्रेडमा नै बिताएका उनी २०१६ मा पोर्चुगिज क्लब बेनफिकामा गए । जहाँ सिनियर टिममा कमै मौका पाएका योभिच २०१७ मा जर्मन क्लब इन्ट्राच्ट फ्राङफर्ट गएका थिए । फ्राङफर्टमा गएपछि त फुटबलप्रेमीको नजरमा योभिचको शैली पर्न थालिसकेको थियो ।

त्यसअघि २०१२ देखि नै सर्बियाको यु १६ टिमबाट खेलेका उनले यु १७, यु १८, यु १९, यु २०, यु २१ हुँदै २०१८ मा सर्बियाको राष्ट्रिय टिमबाट डेब्यू गरे । उनले ०१८ को विश्वकपमा ब्राजिलविरुद्धको खेलसमेत खेलेका थिए ।

एकपछि अर्को चरणमा पुगिरहे पनि यति छिटै फ्राङफर्टबाट योभिच ६० मिलियन युरोमा रियल मड्रिड पुग्लान् भन्ने विश्वास कमैलाई थियो । हुन पनि बेनफिकाको बेञ्चमा बसेर खेल्ने मौका कुरिरहेका योभिचलाई फ्राङफर्ट पुग्नेवित्तिकै भाग्यले समेत साथ दिन थालेको थियो ।

यसैले फ्राङफर्टका स्पोर्टिङ डाइरेक्टर फ्रेडी बोभिकले भनेका थिए, ‘हामी उनलाई क्लबै राख्न चाहन्थ्यौँ । तर अवस्थाअनुसार हामीले फरक निर्णय लिनै पर्‍यो । उनी विश्वकै राम्रोमध्येको क्लबमा पुगेका छन्, जहाँ नामसहित उनले राम्रो पारिश्रमिक पाउने छन्, उपाधिहरु जित्ने छन् ।’

योभिचले बुन्डेसलिगामा गरेका २५ गोलमा १० गोल दाहिने खुट्टाले १० गोल देब्रे खुट्टाले साथै पाँच गोल हेडिङमार्फत गरेका छन् । यसले पनि उनको क्षमता रियल मड्रिडमा कस्तो देखिएला भन्ने आँकलन गर्न सकिन्छ । तथ्यांकलाई हेर्दा उनले हरेक ४.४ सटमा एक गोल भएको देखिन्छ । जहाँ पाँच काउन्टर अट्याकमा समेत उनको क्षमता अब्बल छ ।

योभिचको तिब्रता र बल बढाउने शैलीका कारण डिफेन्डरसँग एउटै विकल्प बचिदिन्छ, फोउल गर्ने । यसले उनले बुन्डेस लिगामा गरेका ५६ ड्रिबलमा २५ पटक बल अघि बढाएका छन् भने २९ पटक डिफेन्डरले फोउल गरेका छन् । दुईपटक मात्रै उनको खुट्टाबाट बल खोसिएको छ ।

रियल मड्रिडमा करिम बेन्जेमा, भिनिसियस जुनियरसहित भर्खरै भित्रिएका इडन हाजार्डसँग तालमेल मिलाउँदै योभिचलाई विश्व फुटबलमा नयाँ स्टार नाम बनाउने बाटो खुलेको छ ।

यसैले उनले रियल मड्रिडमा आउने वित्तिकै भनेका हुन्, ‘म संसारकै खुशी फुटबर हुँ । मलाई थाहा छ मड्रिड आउने निर्णय मेरो उत्कृष्ट छनोट हो । क्लबमा अझ धेरै उपाधिहरु जिताउन म सक्दो प्रयास गर्ने छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment