Comments Add Comment

विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाको पहिलो जित, अफगानिस्तानले फेरि हार्‍यो

१ असार, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पहिलो जित दर्ता गरेको छ ।

शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको हो । १२७ रनको सामान्य चुनौती पछ्याँदै ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २८.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

दक्षिण अफ्रिकाका लागि डि ककले ६८ रन बनाए । त्यस्तै, हसिम अमला ४१ रनमा अविजित रहे । बलिङतर्फ गुल्बादिन नाइबले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ३४.१ ओभरमा सबै विकेटको क्षतिमा १२५ रन मात्रै बनाएको थियो । अफगानिस्तानका लागि राशिद खानले ३५ रन बनाए । नोर अली जाड्रानले ३२ र हज्रतउल्लाह जाजईले २२ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन् ।

बलिङतर्फ इमरान ताहिरले चार विकेट लिए । उनले ७ ओभर बलिङ गर्दै मात्र २९ रन खर्चिएर चार विकेट लिएका थिए । त्यस्तै, क्रिस मोरिसले तीन विकेट लिए ।

दक्षिण अफ्रिकाले जारी विश्वकप क्रिकेटमा पाँचौ खेलमा आरएर मात्रै जित हात पारेको हो । यसअघि भएको तीन खेलमा हार र एक खेलमा वर्षाको कारण खेल रद्द भएको थियो ।

दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध १०४ रनले पराजित भएको थियो । त्यस्तै, दोस्रो खेलमा दक्षिण अफ्रिका बंगलादेशसँग पनि २१ रनले पराजित भएको थियो । लगातार दुई खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिकाले आफ्नो तेस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा दक्षिण अफ्रिका ६ विकेटले पराजित भयो । आफ्नो चौथो खेलमा भने वर्षा भएपछि वेष्ट इन्डिजसँग अंक बाँडेको थियो ।

यता अफगानिस्तानले भने लगातार चार खेलमा हार ब्यहोरेको छ । अफगानिस्तानले अष्ट्रेलियासँग सात विकेटले र दोस्रो खेलमा श्रीलंकासँग ३४ रनले पराजित भएको थियो । त्यस्तै, तेस्रो खेलमा न्युजिल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment