Comments Add Comment

प्रदेश ५ का मुख्यमन्त्रीले ३४ अर्बको बजेट प्रस्तुत गर्ने

१ असार, बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३४ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदै छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले बजेट प्रस्तुत गर्नेछन् ।

प्रदेश सभामा बजेट प्रस्तुत गर्नुअघि दिउँसो १ बजे मन्त्रिपरिषदको बैठक बसेर बजेटलाई स्वीकृति दिइने छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीले गए राति नै ३४ अर्ब रुपैयाँ हाराहारीको वजेट तयार गरेर मुख्यमन्त्रीलाई बुझाइसकेका छन् ।

त्यसमा मुख्यमन्त्रीले हेरफेर र पुनरावलोकन नगरे ३४ अर्बकै बजेट आउने मन्त्रालयको स्रोतले जनाएको छ । प्रदेश योजना आयोगले तयार गरेको पाँच वर्षे आवधिक योजना र सरकारको नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाइएको छ । कृषि र पूर्वाधारलाई प्राथमिकता दिइएको बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई आउँदो आर्थिक वर्षभित्र पूरा गर्ने गरी रकम विनियोजन भएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख बजेट विनियोजन भएको छ ।

गत वर्ष संघीय सरकारबाट यी तीन शीर्षकमा १७ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको थियो ।

प्रदेश सरकारको राजस्व बाँडफाँटको १० अर्ब ९५ करोड ३० लाख जोडेर प्रदेश सरकारले गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment