Comments Add Comment

प्रदेश ५ को बजेटमा पर्यटन : हिल स्टेशनदेखि कोसेली घरसम्म

३ असार, बुटवल । प्रदेशको समृद्धिको दीर्घकालीन आधार पर्यटनलाई मानेको प्रदेश ५ सरकारले आगामी वर्षको वजेटमा पर्यटनका क्षेत्रमा पर्याप्त कार्यक्रमहरु समावेश गरेको छ । कृषिपछि दोस्रो प्राथमिकतामा परेको पर्यटन क्षेत्रका लागि ७५ करोड छुट्टाइएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनी र मानसरोवर पुग्ने प्रवेशद्वार नेपालगञ्जलाई टुरिजम हबको रुपमा विकास गर्ने लक्ष्यसहित बजेट छुट्टाइएको छ । पर्यटकहरुलाई आवश्यक सबै जानकारी दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र नेपालगञ्जमा वृहत पर्यटक सूचना केन्द्रहरु स्थापना गर्ने कार्यक्रम छ । लुम्बिनीलगायत पर्यटकीय केन्द्रहरुमा परम्परागत एवं स्थानीय उत्पादनहरुको खरिद तथा बिक्री हुने कोसेली घर स्थापना गरी पर्यटकलाई आकर्षण गर्ने सरकारको योजना छ ।

पर्यटकीय पार्क

लुम्बिनी घुम्न आएका पर्यटकहरुको बसाइ लम्ब्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने योजना छ । स्थानीय समुदायको संलग्नतामा ग्रामीण पर्यापर्यटन र होमस्टेको प्रवद्र्धन तथा प्रोत्साहन गर्न बजेट दिइने छ ।

वनस्पतिको संरक्षण गर्दै शहरी, हरियाली तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उपयुक्त स्थानहरुमा वनस्पति उद्यान तथा पर्यटकीय पार्कहरु निर्माण गर्न १५ करोड विनियोजन भएको छ ।

पाल्पा, बर्दिया र दाङमा सांस्कृतिक डबली

प्रसिद्ध धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा जैविक विविधता समेतबाट मनोरम प्राकृतिक क्षेत्रहरु तथा गुफा, तालतलैया, झरना, गढी जस्ता महत्वपूर्ण स्थानहरुमा पर्यटन प्रवद्र्धन गर्न अत्यावश्यक पूर्वाधार निर्माणको लागि ३५ करोड विनियोजन गरिएको छ ।

स्थानीय भाषा, कला, साहित्य र संस्कृतिको प्रवद्र्धन गर्न पाल्पाको श्रीनगर, नुवाकोट, बर्दियाको ठाकुरद्वारा र दाङको घोरदौरामा सांस्कृतिक डबलीहरु निर्माण गर्न ६ करोड छुट्टाइएको छ ।

दंगीशरण र बलिहाङको शालिक बनाइने

प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको विकास गर्ने र पर्यटकको बसाइ अवधि लामो बनाउने नीति अनुरुप सम्राट अशोकले स्तम्भ गाडेका ऐतिहासिकस्थल निग्लिहवामा कनकमुनी बुद्धको र गोटिहवामा क्रकुच्छन्द बुद्धको प्रतिमा स्थापना गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

यस्तै दाङको दंगीशरणको राजधानी सुकौरामा दंगीशरणको र पाल्पाको बल्डेङगढीमा बलिहाङ (बलि राजा)को शालिक निर्माण गरी ती क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पनि बजेट छुट्याइएको छ । दंगीशरणलाई दाङको आदिवासी थारु समुदायको राजा मानिन्छ । उनैको नामबाट दाङ जिल्लाको नाम राखिएको इतिहासमा पढ्न पाइन्छ ।

इतिहासका जानकारहरुका अनुसार ईसा पूर्व १४ औं शताब्दीमा बलिहाङ पाल्पा बल्ढेङगढीका राजा थिए । उनी संसारकै दानी र जनताप्रति बफादारी थिए । उनले अठार मगरात र बाह्र मगरातबीच समझदारी कायम गरी आफ्नो पालामा सुशासन कायम राखेको बताइन्छ ।

तिहार पर्वको मिथकमा संस्कृतिविद् र इतिहासकारहरूले लेखेका छन्– बलिहाङ राना मगर (बलि राजा) न्यायप्रेमी, धर्मात्मा, भविश्यवेत्ता थिए । उनले रैतीहरुको मृत्यु भएको खबर सुन्नै सक्दैनथे ।

पहाडी जिल्लामा हिल स्टेशन

पहाडी जिल्लाहरु पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, रुकुम पूर्व र प्युठानमा हिल स्टेशन निर्माणको शुरुवात गरिने छ । त्यसका लागि पर्यटकीय विकासको गुरुयोजना तयार गरिनेछ । विशेषगरी गर्मीयाममा पहाडका हिल स्टेशनमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न यस्तो योजना अघि सारिएको हो ।

बाँकेमा मानसरोवर पार्क, स्वर्गद्वारीमा केवुलकार

बाँकेमा निर्माण शुरु भएको मानसरोवरको आकृति सहितको बहुउद्देश्यीय पार्क आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बजेट छुट्टाइएको छ । मानसरोवर हिन्दु र बौद्ध दुवै धर्मावलम्वीको आस्थाको धरोहर मानिन्छ ।

प्युठानको स्वर्गद्वारीमा केवुलकार निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने वजेटमा उल्लेख छ । स्थानीय कला, संस्कृति, ऐतिहासिक महत्व लगायतका विषयलाई समेटी पर्यटन प्रवद्र्धनका लागि पर्यटक गाइड तयार गर्ने योजनासमेत बजेट वक्तब्यमा उल्लेख छ ।

२५६ एकड जग्गामा सारस उद्यान

प्रदेश सरकारले २०७६ लाई लुम्विनी भ्रमण वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन गरिरहेको छ । आगामी वर्षको वुद्ध पूर्णिमासम्म कायम रहने लुम्बिनी भ्रमण वर्षमा त्यस क्षेत्रको २५६ एकड जग्गामा सारस उद्यान निर्माण गर्ने, बुद्धिस्ट बनस्पति उद्यान निर्माण गर्ने, बुद्धकालीन बोट बिरुवाहरुको प्रबद्र्धन गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेट छुट्टाइएको छ ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले प्रदेश सरकारले पर्यटनलाई कृषिपछि पहिलो प्राथमिकतामा पारेर कार्यक्रम र बजेट छुट्टाएको बताउँछन् । लुम्बिनी भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्य रहेको र ती पर्यटकलाई प्रदेश ५ का सबै प्रमुख पर्यटकीय स्थलसम्म पुर्‍याइ बसाइ लम्ब्याउन बजेट छुट्टाइएको गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment