
४ असार, काठमाडौं । हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा बेपत्ता भएको जीप खोज्न सशस्त्र प्रहरी बल, कुरिनटारको गोताखोर टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा ४ जनाको गोताखोर टोली घटनास्थलमा पुगेको हो ।
कर्णाली प्रदेश प्रहरीका डीएसपी लोकनाथ रिजालका अनुसार नेपाली सेनाको होलिकोप्टरमा एपीएफको टोली ११ः५५ बजे काठमाडौंबाट उडेको छ । टोलीमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल समेत छन् ।
मंगलबार दिउँसो तल्लो खार्पुबाट खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुका लागि गएको लु १ ज ७१६६ नम्बरको जिप बेडुबिसौनामा अनियन्त्रित भइ कर्णाली नदीमा पसेको थियो ।
गाउँपालिका उपाध्यक्षसहित ८ बेपत्ता
प्रहरी अधिकृतले दिएको जानकारी अनुसार प्रारम्भिक छानविनले जीपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीसहित ८ जना रहेको देखाएको छ ।
शाहीका भाइ चन्द्र हमाल, ढुकु भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह, गोकुल सुनार, चन्द्र हमाल र सवारी चालक गणिजंग शाही पनि बेपत्ता रहेको आशंका गरिएको छ ।
बेपत्ता हुने अर्का एक व्यक्तिको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय, हुम्लाले जनाएको छ । जीपमा १० जना चढेको बताइए पनि २ जनाबारेको विवरण प्राप्त नभएको प्रहरीले बतायो ।
प्रतिक्रिया 4