Comments Add Comment

मेरो अनुभवः जापानीहरु यसरी लामो आयु बाँच्छन्

कसरी जापानीहरु लामो आयु बाँच्छन् ? यसबारे धेरै खोजीनिती हुने गरेको छ । सामान्यत जापानीहरु सय बर्ष बाँच्छन् । बाँच्ने मात्र होइन, तगडा र फुर्तिलो जीवन बाँच्छन् । सक्रिय जीवन बाँच्छन् । ऐयाअत्था गर्दै, थलिएर बाँच्नुको त के अर्थ भो र ?

जापानीहरु जति बाँच्छन्, स्वस्थ्य बाँच्छन् । सय बर्ष पार गरेका जापानीहरुको सांगीतिक समूह नै छ, जो सांगीतिक कार्यक्रम गर्दै विश्व फन्को लगाउँछन् । जापानीहरुसँग जोडिएको केही महत्वपूर्ण पर्छ छ । जस्तो कि, उनीहरु असाध्यै मेहनती हुन्छन् । श्रममा विश्वास गर्छन् । साथै उनीहरु खुसी र आनन्दित जीवन बाँच्ने प्रयास गर्छन् । अनुशासित जीवनमा अभ्यस्त हुन्छन् ।

म वितेको १२ बर्षदेखि जापानमा बसोबास गरिरहेको छु । मनोविज्ञको रुपमा यहाँ काम गरिरहेको छु । यो बसाईमा मैले जापानी जनजीवनलाई नजिकबाट नियाल्ने मौका पनि पाएको छु । उनीहरुको खानपान, रहनसहन, सोंच-चिन्तन, बोली-व्यवहार सबै कुरा मैले प्रत्यक्ष अनुभव गर्न पाएको छु । जापानी समाजमै घुलमिल भएर बसिरहँदा उनीहरुको लामो आयुबारे चासो रहन्छ नै । मैले चासोपूर्वक नै उनीहरुको जीवनशैली नियालेको छु । कसरी उनीहरु लामो आयु बाँच्छन् ? कसरी जीवनभर तन्दुरुस्त रहन्छन् ?

मेरो बुझाई वा हेराईमा जापानीहरु लामो आयुमा मुख्य २ वटा पक्ष महत्वपूर्ण छ । एक खाना, अर्को सर्वसुलभ स्वास्थ्य सेवा ।

जापानीको खानपान

अहिले हामी नेपालीहरु खानेकुरा बार्ने गरेका छौ, रोग लाग्छ भनेर । मधुमेह, उच्च रक्तचाप जस्ता थुप्रै रोगले च्यापेपछि मुखलाई चाबी लगाइदिनुपर्ने अवस्था छ । खानपानमा सचेत हुनुपर्ने अवस्था छ । यसको अर्थ के भने हाम्रो खानपानले नै पनि हामीलाई रोगी बनाइरहेको छ ।

तर, जापानीहरु तन्दुरुस्त र दीर्घायु रहनुमा उनीहरुको खानाको योगदान छ भन्ने मेरो ठम्याई हो । उनीहरु के खान्छन् ? कसरी खान्छन् ?

उनीहरुको खानामा समुन्द्री खाना एवं माछाजन्य परिकार बढी हुन्छ । उनीहरु अन्य मासु खान्छन् । तर, हामीले जस्तो मासु मात्र होइन, त्यसमा सागपात र सलाद बढी हुन्छ । उनीहरुको खानामा छुट्दै नछुट्ने परिकार भनेको सलाद हो । काँचो र उसिनेको खानेकुरामा जापानीहरुले बढी जोड दिने गरेका छन् ।

खाने समय तालिका पनि जापानीहरुबाट हामीले सिक्नुपर्छ । हामीले जस्तो जथाभावी खाँदैनन् । समय मिलाएर खान्छन् । बिहान, दिउसो र साँझ उचित मात्रा मिलाएर खानेकुरा सेवन गर्छन् ।

जापानीहरुको भान्सामा नछुट्ने कुरा हो ग्रीन टी । उनीहरुले चार, पाँच महिनाको बच्चालाई समेत ग्रीन टिमा अभ्यस्त गराउँछन् । यो पनि लामो आयुको एउटा कारण हो जस्तो लाग्छ ।

अर्को चाहि त्यहाँ प्रयोग हुने खानाको गुणस्तर हो । जापानीहरु पूर्ण जैविक, प्राकृतिक र मौसमी खाना मात्र खान्छन् । उनीहरुले सेवन गर्ने भोजनमा रसायन वा विषादीको त एक अंश पनि हुँदैन । जापानीको खेतीबाली नै रसायनमुक्त हुनेगर्छ ।

सुलभ उपचार

जापानीहरु निरोगी छन् । निरोगी भएकाले उनीहरु लामो आयु बाँच्छन् । जापानीहरु निरोगी हुनमा चाहि त्यहाँको स्वास्थ्य सेवा पनि एउटा कारण हो भन्ने मलाई लाग्छ । त्यहाँका नागरिकले उपचार अभावमा ज्यान गुमाउनुपर्दैन ।

उपचार खर्चको डरले अस्पताल नै नजाने, औषधी नै नखाने भन्ने पनि हुँदैन । किनभने आफ्ना नागरिकको उपचारका लागि सरकारले कुल खर्चको ७० प्रतिशत पैसा भुक्तान गरिदिन्छ । यसरी सबै जापानी स्वास्थ्य सेवाको पहुँचमा छन् । हामीकहाँ जस्तो नेता, मन्त्री वा ठूलाबडाले मात्र उपचार पाउने र गरिब एवं निमुखा चाहि सिटामोल खान नपाएर मर्नुपर्ने अवस्था छैन ।

सक्रिय र सकारात्मक जीवन

आज हामी सुविधाभोगी भएका छौ । ऐश आरममा जीवन विताइरहेका छौं । सुविधाको कुरा गर्ने हो भने जापान जस्तो उन्नत देशमा यसको उपभोग जतिपनि गर्न पाइन्छ । तर, जापानीहरु सुविधाभोगी छैनन् ।

उनीहरु शरीरलाई सक्रिय राख्छन् । शारीरिक श्रम गर्छन् । खेतीबालीमा जापानीहरुको लगाव छ । ८०, ९० बर्षसम्म पनि उनीहरु खेतीपाती गरिरहेका हुन्छन् । उनीहरु उपलब्ध सुविधा पनि छाडेर सक्रिय जीवन रोज्छन् । केही न केही काम गरिरहेकै हुन्छन् ।

जापानीहरु सकारात्मक पनि छन् । उनीहरुको संस्कार नै सकारात्मक सोंचबाट प्रेरित छ । सबैप्रति समान भाव राख्नु, खुसी हुनु र सकारात्मक हुनु नै जापानीहरुको गुण हो । यही गुणले उनीहरुलाई दीर्घजीवि बनाएको छ ।

अनलाइनखबरसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment