News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १४.५७ प्रतिशत कम हो।
- खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँ र लोन लस प्रोभिजन ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा असर परेको छ।
- बैंकको निष्क्रिय कर्जा ४.३१ प्रतिशत पुगेको छ र वितरणयोग्य नाफा असोज मसान्तसम्म ५ अर्ब ६३ करोड रुपैयाँ छ।
२० कात्तिक, काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा २ अर्ब ५ करोड रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी सामान्य घट्नु र लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) सामान्य बढ्दा नाफामा असर परेको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी ३ अर्ब ९० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४ अर्ब १४ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी ५.७ प्रतिशतले घटेको छ ।
त्यस्तै लोन लस प्रोभिजन पहिले ४५ करोड ७७ लाख रुपैयाँ रहेकोमा अहिले ६४ करोड ७२ लाख रुपैयाँ छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी पनि घटेको छ । यस्तो आम्दानी पहिले २९ रुपैयाँ ८३ पैसा रहेकोमा अहिले २५ रुपैयाँ ४९ पैसा छ ।
बैंकको कुल वितरणयोग्य नाफा असोज मसान्तसम्म वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँ रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ३०.१५ रुपैयाँ हो । बैंकले गत आर्थिक वर्षसम्मको नाफाबाट अझै लाभांश वितरण गरेको छैन । जसले गर्दा वितरणयोग्य नाफा उल्लेख्य देखिएको छ ।
बैंकको निष्क्रिय कर्जा ४.३१ प्रतिशत छ, पहिले यस्तो कर्जा ४.२४ प्रतिशत थियो ।
प्रतिक्रिया 4