News Summary
Generated by OK AI. Editorially reviewed.- नबिल बैंकले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ।
- तालिममा सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा र लगानीका विकल्पबारे प्रयोगात्मक ज्ञान प्रदान गरिने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए।
- तालिमले बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती, तरकारी खेती लगायतका विषयमा प्राविधिक ज्ञान र व्यावसायिक अवसर पहिचान गर्ने सिप उपलब्ध गराउने बैंकले जनाएको छ।
१० वैशाख, काठमाडौं । नबिल बैंकले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ । जुम्लाको सिँजा गाउँपालिकामा वैशाख ९ गते बुधबारदेखि तालिम सुरु भएको छ ।
यस्तै तालिम चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा सञ्चालन गरिने बैंकले जनाएको छ । बैंकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँगको सहकार्यमा तालिम सञ्चालन गर्न लागेको हो । कृषिमा आधारित व्यवसाय सञ्चालन गरिरहेका र गर्न चाहने करिब पाँच सय व्यक्तिलाई लक्षित गरी तालिम सञ्चालन गर्न लागिएको बैंकको भनाइ छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले तालिममा सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा, लगानीका विकल्पलगायतका विषयमा प्रयोगात्मक ज्ञान प्रदान गरिने बताए । ‘सहभागीहरुलाई वित्तीय साक्षरतामा सशक्त बनाउने, बेरोजगारी घटाउने, नयाँ व्यवसाय गर्न प्रोत्साहन गर्ने तथा उद्यमशीलता विकासमार्फत दिगो आर्थिक वृद्धि प्रवद्र्धन गर्न तालिम सञ्चालन गर्न लागिएको हो’, उनले बताए ।
बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा रहेका व्यक्तिलाई आत्मनिर्भर बनाउन प्रोत्साहन गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागेको हो ।
तालिममा ग्रामीण भेगका किसानहरुको रुची पहिचान गरी सोहीअनुरुप उनीहरूलाई आत्मनिर्भर बनाउन आवश्यक जानकारी र सिप उपलब्ध गराइनेछ ।
‘सहभागी हुनेले बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती, तरकारी खेती लगायतका विषयमा प्राविधिक ज्ञानका साथै व्यावसायिक अवसर पहिचान गर्ने, बजारीकरण तथा वित्तीय व्यवस्थापन लगायतका विषयमा ज्ञान र सिप प्राप्त गर्नेछन्’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।
कार्यक्रमले दिगो बैंकिङको अवधारणालाई समेत अघि बढाउँदै वातावरणमैत्री, सामाजिक रूपमा जिम्मेवार तथा दीर्घकालीन आर्थिक लाभ दिने लगानीलाई प्राथमिकतामा राखेको जनाइएको छ ।
प्रतिक्रिया 4