Comments Add Comment

विश्वकपपछि पाकिस्तान टिमको ‘निर्मम समीक्षा’

४ असार, काठमाडौं । विश्वकप क्रिकेटमा कमजोर देखिएको पाकिस्तान टिमको विश्वकपपछि समीक्षा गर्ने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । विश्वकपका पाँच खेलमा एक खेल पानीले प्रभावित हुँदा पाकिस्तान ३ खेलमा पराजित भएको छ, एक खेल जितेको छ ।

विश्वकपमा पाँच खेल मात्रै हेरेर निराश देखिएको बोर्डले खेलाडीहरुमा मात्रै होइन सहयोगी कर्मचारीसम्मको समीक्षा कडा रुपमा गर्ने निर्णय लिएको छ । बोर्डका अध्यक्ष एशान मानीले विश्वकपको खेललाई मात्रै नभएर गएको तीन वर्षदेखिको अवस्थालाई निर्मम भएरै समीक्षा गर्ने उल्लेख गरेका छन् ।

विश्वकपमा खेलाडी छनोटदेखि आलोचना खेपेको पाकिस्तान क्रिकेटले मैदानमा देखिएका अवस्थाहरुले झनै प्रश्नहरुको सामना गर्नु परिरहेको छ । पाँच खेलको आँकलन गरेर बोर्डले नै पनि अगाडिका खेलहरु बलियो बनाउने प्रयासमा खेलाडीदेखि पदाधिकारीसम्म लाग्नुपर्ने जनाएको छ ।

विश्वकपमा मात्रै होइन त्यसको केही समयअघि देखि नै पाकिस्तानी टिम संघर्ष गरिरहेको थियो । त्यसअघि नै लगातार हार भोगेका ११ एकदिवसीय खेलका साथै युएईलाई घरेलु मैदान बनाएपछि पहिलो पटक गुमाएको टेस्ट सिरिजले नै पाकिस्तानी क्रिकेट बोर्ड बेखुशी देखिएको थियो । तर टिमदेखि पदाधिकारीसम्मको हेरफेरको सोच भने भारतसँग आइतबार विश्वकपमा ८९ रनको हारपछि आएको हो ।

समीक्षामा विभिन्न चार एजेण्डालाई उठाइने र त्यसमा अनुसन्धान गरेरै अगाडि बढ्नेमा बोर्डको धारणा आएको छ । विश्वकप सकिँदासम्मको अवस्थाले ती एजेण्डामा केही फरक देखिन सकिने भए पनि परिवर्तनका लागि जागरुक रुपमा अघि बढ्ने बोर्डले जनाएको छ ।

‘एकदिवसीय खेलमा मात्रै होइन, सबै खेलमा रहेर समीक्षा हुने छ । विश्वकपमा अहिलेसम्म देखिएको खेल त सोचेभन्दा निकै तल्लो स्तरको छ । तर हामीले अहिले नै विश्वास गुमाएर समर्थन गर्न भने छाड्नु हुँदैन । आशा छ बाँकी खेलमा सबैले क्षमता अनुसार राम्रो सुधार गर्ने छन्’ बुधबार बसेको बोर्ड अफ गभनर्सको बैठकपछि जारी गरिएको विज्ञप्तीमा लेखिएको छ ।

‘विश्वकप सकिए लगत्तै अनुसन्धान र समीक्षा गर्दै प्रतिवेदन जारी गरिने छ । त्यसमा खेलाडीसँगै सबै पदाधिकारी बारे खोजमूलक समीक्षा हुने छ ।’

विश्वकपमा देखिएको खराब प्रदर्शनपछि मैदानमा नै देखिने गरी समस्याहरु आइरहेका छन् । स्थानीय सञ्चार माध्यममा त पाकिस्तान क्रिकेट टिममा खेलाडीबीच नै तालमेल नरहेको भन्नेसम्मका खबरहरु आइरहेका छन् ।

यसैले मंगलबार बोर्डका अध्यक्ष मानीले कप्तान सर्फराज अहमदसँग भेटेर अगाडिका खेलमा राम्रो गर्नेबारे सल्लाहसमेत गरेका थिए । उनलाई आफ्नो कप्तानीमा विश्वस्त भएर खेलमा ध्यान दिन मानीको सल्लाह थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment