Comments Add Comment

उच्च मनोबलमा बंगलादेश, अष्ट्रेलियालाई कति डर ?

४ असार, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशको प्रदर्शन देखेर सबै अचम्मित छन् । एकपछि अर्का राष्ट्रमाथि सनशनीपूर्ण जित हात पार्नु धेरैले नसोचेको विषय भएकैले बंगलादेशको तारिफ भइरहेको छ ।

बिहीबार बंगलादेशले बलियो प्रतिस्पर्धी अष्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । ट्रेन्ट ब्रिजमा नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुने खेलमा अष्ट्रेलियालाई डरै डर पैदा भएको छ । यसको कारण हो, बंगलादेशको प्रदर्शन ।

विश्वकपमा श्रीलंका, दक्षिण अफ्रिका तथा वेष्ट इन्डिज जस्ता शक्तिशाली टिमको प्रदर्शन खस्किँदो अवस्थामा हँुदा बंगलादेशले भने तहल्का नै मचाएको छ । बंगलादेशले आफ्नो पहिलो खेलमा नै दक्षिण अफ्रिकामाथि २१ रनको सनशनीपूर्ण जित निकाल्यो । दक्षिण अफ्रिका बंगलादेशभन्दा निकै राम्रो र स्तरीय टिम मानिन्छ । त्यसपछि बंगलादेशको शिकार बन्यो वेष्ट इन्डिज ।

विश्व चर्चित र स्तरीय खेलाडीले भरिभराउ वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै अर्को ठूलो उपलब्धिले बंगलादेशलाई उचाई दियो । ३२२ रनको विशाल लक्ष्य बंगलादेशले ४१.३ ओभरमै तीन विकेटको क्षतिमा पूरा ग¥यो । यहाँ बंगलादेशा खेलाडीले बहादुरी नै देखाए । विशेषगरी सकिब अल हसन र लिटन दासको प्रदर्शनले सबै अचम्मित भए ।

न्युजिल्यान्डसँग २ विकेटले हार्दा पनि बंगलादेशको प्रदर्शन तारिफयोग्य नै रह्यो । इंग्ल्यान्डविरुद्धको खेलमा फराकिलो अन्तरले हारेपनि बंगलादेशका खेलाडीले विश्वासयोग्य प्रदर्शन गरे ।

यता, अष्ट्रेलियाले खेलेको पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाएको छ । अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग भने हारेको थियो ।

अष्ट्रेलियाविरुद्ध बंगलादेश उच्च मनोबलको साथमा मैदानमा छिर्दै गर्दा अष्ट्रेलिया भने ढुक्क देखिँदैन । बंगलादेशले प्रदर्शन नै त्यही अनुसार गर्दै आएको छ जुन अरु टिम अचम्मै पर्ने गरेका छन् ।

विशेषगरी अष्ट्रेलियालाई बंगलादेशको ब्याटिङको चिन्ता छ । त्यहीमाथि अष्ट्रेलियाको बलिङ लाइन राम्रो देखिएको छैन । मिचेल स्टार्क, प्याट क्युमिन्स, नाथन काउल्टर नाइलको बलिङ पहिलेको जस्तो उत्कृष्ट छैन । यसको प्रत्यक्ष फाइदा बंगलादेशले लिने नै छ ।

चार खेल : दुई शतक, दुई अर्धशतक !

शकिब अल हसन बंगलादेशका मुख्य खेलाडी हुन् । अझ भनौं बंगलादेशको जितमा उनी नै नायक बन्दै आएका छन् ।

जारी विश्वकपमा शकिबले सर्वाधिक रन बनाएका छन् । उनले ४ खेलबाट ३८४ रन बनाएका छन् । विशेषगरी शकिबको ब्याटिङ देखेर सबै अचमित परेका छन् भने बलरहरु हैरान छन् । उनले खेलेका चार खेलमध्ये दुई खेलमा शतक र दुई खेलमा अर्धशतक पार गरेका छन् ।

शकिबले दक्षिण अफ्रिकाविरुद्ध ७५ रन बनाउँदै आफ्नो टिमलाई सनशनीपूर्ण जित दिलाए । त्यस्तै, न्युजिल्यान्डविरुद्ध ६४ रन बनाएका थिए ।

त्यसपछि इंग्ल्यान्डविरुद्ध बंगलादेश १०६ रनले पराजित भएपनि शकिबले शतक बनाए । उनले ११९ बलमा १२ चौका र एक छक्का प्रहार गर्दै १२१ रन बनाए । त्यस्तै वेष्ट इन्डिजविरुद्धको खेलमा बंगलादेशले जित हात पार्दा पनि शकिब नै नायक बने । शकिबले ९९ बलमा १६ चौका प्रहार गर्दै १२४ रन बनाएका थिए ।

एकपछि अर्को खेलमा असाधारण प्रदर्शन गर्दै आएका शकिबले अष्ट्रेलियाविरुद्ध कस्तो प्रदर्शन गर्लान् ? त्यसो बंगलादेशका शकिबले मात्रै हैन अन्य खेलाडीले पनि उच्च स्तरको प्रदर्शन गरेका छन् । लिटन दास, सौम्य सरकार, मुसिफिकुर रहिम जस्ता खेलाडी अष्ट्रेलियाका लागि घातक हुन सक्छन् ।

फिन्चसँग के छ अस्त्र ?

विश्वकप क्रिकेटमा अष्ट्रेलियाको कप्तानको भूमिका आरोन फिन्चले गरिरहेका छन् । विश्वकप अघि उनको ब्यक्तिगत प्रदर्शन निराश भएपनि जारी विशवकपमा उनको प्रदर्शन निकै तारिफयोग्य भइरहेको छ ।

उनले पाँच खेलबाट ३४३ रन बनाएका छन् । एक शतक र दुई अर्धशतक बनाएका फिन्च बंगलादेशविरुद्धको खेलमा पनि राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छन् । तर उनलाई बंगलदेशको डर छ ।

कप्तान फिन्च यो विश्वकपबाट सफल कप्तानको रुपमा प्रमाणित हुन चाहन्छ । तर उनको अघि बंगलादेश तगारोको रुपमा देखा परेको छ ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल, जासन बेहरेन्डोरफ, नाथन कउल्टर नाइल, उस्मान ख्वाजा, सन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट क्युमिन्स, नाथन लियोन, मार्कस स्टोइनिस र एडम जाम्पा ।

बंगलादेश टिम

मर्सफी मोरटजा (कप्तान), अबु जायद, लिटन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुसिफिकुर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment