Comments Add Comment

ब्यूँझियो लामिडाँडा बिमानस्थल, पक्की रनवेमा फुच्चे जहाज अवतरण

३ असार, खोटाङ । लामिडाँडा एयरपोर्टको स्तरोन्नती गरिएको छ । साढे दुई वर्षअगाडि शुरु भएको स्तरोन्नती योजनाअनुसार धावनमार्ग तथा एप्रोन एरिया पीच गरिएको छ ।

स्तरोन्नती सकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार समिट एयरको जहाजको सफल परीक्षण उडान गरेको छ । प्राधिकरणका वरिष्ठ अधिकृत तथा आयोजना प्रमुख विनायक भट्टराईकाअनुसार ६ करोड ३४ लाख रुपैयाँ लगानीमा लामीडाँडा एयरपोर्टको स्तरोन्नती गरिएको हो ।

अब विमानस्थल जुनसुकै मौसममा पनि सुरक्षित रुपमा प्रयोग गर्न सकिने उनको भनाइ छ । लामिडाँडा एयरपोर्ट यस भेगमा लुक्ला पछिकै व्यस्त विमानस्थल मानिन्छ ।

काठमाडौंबाट लुक्ला उडेका जहाज प्राविधिक कारणले लुक्ला पुग्न सकेन भने लामीडाँडा ट्रान्जिट बस्छन् । त्यसकारण पनि यो विमानस्थल रणनीतिक महत्वको मानिन्छ । समुन्द्री सतहबाट १२३० मिटर उचाईमा रहेको लामिडाँडा मौसमका दृष्टिकोणबाट पनि सुरक्षित विमानस्थल रहेको प्राधिकरणको भनाइ छ ।

नियमित चल्ने वातावरण बनाउँछु : भट्टराई

रावाबेसी गाउँपालिकामा पर्ने यो विमानस्थललाई अब नियमित सञ्चालनको वातावरण बनाउने प्रतिवद्धता खोटाङका सांसद विशाल भट्टराईले गरे । मंगलबार विमानस्थल स्तरोन्नतीपछि पहिलो उडानका क्रममा काठमाडौंबाट पुगेका प्राविधिक तथा जहाजका कर्मचारीलाई स्वागत गर्दै भट्टराईले अब यस भेगका बिरामीले काठमाडौंबाट हेलिकोप्टर मगाउनु पर्ने अवस्थाको अन्त्य हुने बताए ।

निजी क्षेत्रका वायुसेवा कम्पनी लुक्ला र जोमसोम मात्र नभई ग्रामिण भेगका नेपालीलाई पनि सेवा दिनुपर्ने उनको भनाइ थियो । खोटाङसहित सोलुखुम्बु र ओखलढुंगाका नागरिकसमेत जहाज चढ्न लामिडाँडा आउने भएकाले नियमित उडान गर्दा वायुसेवा कम्पनीलाई घाटा नहुने उनको दाबी छ ।

रावावेशी गाउँपालिकाका अध्यक्ष लिलानाग निरौलाले खोटाङको पहिचानका रुपमा रहेको हलेसी महादेवको मन्दिरका कारण पनि यो विमानस्थलमा यात्रुको कमी नहुने उल्लेख गरे । विमानस्थलबाट करीव १ घण्टाको दूरीमा हलेसी महादेव पर्छ ।

५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइ धावनमार्ग रहेको यो विमानस्थलमा ट्वीनटर जहाजहरु उडान-अवतरण गर्न सक्छन् अर्थात लुक्लाकै आकारमा यो विमानस्थल तयार भएको छ । यहाँ एक साथ दुईवटा जहाज रोक्न मिल्ने गरी एप्रोन बनाइएको छ । २०२८ सालबाट सञ्चालनमा आएको यो विमानस्थल धेरै समयसम्म खोटाङबासीको एक मात्र माध्यम थियो ।

खोटाङमा लामीडाँडासँगै खानीडाँडा र थामखर्कमा पनि विमानस्थल छ । थामखर्क विमानस्थलको २९ माघमा तत्कालिन पर्यटनमन्त्री स्वं रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । खानीडाँडा विमानस्थल स्तरोन्नतीको क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment