Comments Add Comment

४७ वर्षपछि बोइङसँग निगमको नाता तोडिँदै

‘फापेको’ जहाज किन बेच्दैछ निगम ?

४ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले तीन दशकसम्म निरन्तर उडाएको बोइङ ७५७ जहाज बिक्रीको तयारी गरिरहेको छ । सम्भवतः यसै साता निस्कने बोलपत्र आह्वानसँगै निगमको स्वामित्वमा रहेको बोइङ बिक्रीका लागि जानेछ ।

निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार प्राविधिक समितिको मूल्यांकनबाट अब व्यावसायिक उडानमा उपयुक्त नहुने देखिएपछि बोइङ बेच्न लागिएको हो । गत फेब्रुअरीदेखि त्रिभुवन विमानस्थलमै ग्राउण्डेड यो जहाज निगमले मर्मत गरेर उडाउनुभन्दा बेच्दा फाइदा हुने निष्कर्ष समितिको छ । दुई वर्ष अगाडि निगमले पहिलो बोइङ ७५७ बिक्री गरेको थियो ।

अमेरिकी जहाज निर्माता कम्पनी बोइङको यस जहाजलाई नेवानिका कर्मचारी नेपाल एयरलाइन्सलाई ‘फापेको’ जहाज मान्छन् । यही जहाज लिएर नेपाल वायुसेवा निगम युरोप र एसियाका धेरै गन्तब्यमा उडेको छ ।

निगममा ३६ वर्ष काम गरी सेवा गरेर अहिले विज्ञका रुपमा कार्यरत राजु केसी सम्झन्छन्, ‘बोइङले यो जहाज निर्माण गर्ने बेला हामी नयाँ ग्राहक थियौं, त्यसबेला अहिलेजस्तो एयरक्राफ्टको ठूलो व्यापार थिएन, एउटा कम्पनीले दुई/दुई जहाज भित्र्याउनु निकै ठूलो प्रतिष्ठाको कुरा मानिन्थ्यो ।’

निगमले पहिलोपटक सन् १९८७ मा एउटा बोइङ किन्यो । त्यसको दुई वर्षपछि सन् १९८९ मा दोस्रो जहाज किनेको थियो । यही जहाजबाट विगतमा बेलायतको लण्डन, जर्मनीको फ्रैंकफर्ट र फ्रान्सको पेरिससम्म उडान विस्तार गरिएको थियो । जापान र चीनको सांघाइमा पनि नेपाल एयरलाइन्सले आफ्नो बलियो उपस्थिति जनाएको थियो । दुबई, ढाका, कराची र भारतीय शहरमा पनि नेपालले राम्रो व्यापारमा उडान गरेको थियो ।

निगमले पछिल्लो ३० वर्षयता धेरै उतारचढाव बेहोरेको छ । धेरै काण्ड यस कम्पनीमा भएका छन् । तर, यी दुई जहाजका कारण निगमको साख भने कायमै रह्यो । निगमसँग जहाज कम हुँदै गएपछि उसले उडान कटौती गर्‍यो । कुनै समय डेढ दर्जनभन्दा बढी जहाज पुर्‍याइसकेको निगमले कुनै समय भने यी दुई जहाजकै भरमा अन्तर्राष्ट्रिय उडान धानेको थियो ।

निगमले सन् २०१५ मा पहिलोपटक दुई एयरबस न्यारोबडी जहाज भित्र्याएपछि भने पुराना जहाज विस्थापन गर्ने नीति लिएको हो । नयाँ थप गर्ने र पुराना जहाज हटाउने नीतिसँगै अहिले निगमसँग एयरबस कम्पनीका दुई न्यारोबडी ए३२०–२०० र दुई वाइडबडी ३३०–२०० जहाज उपलब्ध छन् ।

बोइङ ७५७ बाट निगमले अन्तर्राष्ट्रिय उडान थाल्दा अहिलेका चर्चित र सफल वायुसेवा कम्पनीहरुसँग पनि यस मोडलका जहाज थिएनन् । केसी भन्छन्, ‘त्यतिबेला हामी दुबईबाट जर्मनीको फ्रैंकफर्ट जान्थ्यौं, दुबईको इमिरेट्स एयरलाइन्सका उच्च तहका मानिसहरु नेपाल एयरलाइन्सको जहाज हेर्न आउने गर्थे ।’

निगमले किन्दा खाडी मुलुकका कुनै पनि वायुसेवा कम्पनीसँग यस्तो मोडलका जहाज थिएनन् । त्यस समयमा सबैभन्दा अत्याधुनिक र विशेष खालको मोडलका रुपमा बोइङ ७५७ लाई लिने गरिन्थ्यो । बोइङले सन् २००४ बाट ७५७ मोडलका जहाज उत्पादन बन्द गर्‍यो । त्यसपछि भने यस मोडलको विश्वव्यापी बिक्री ओरालो लाग्यो ।

बोइङले सन् १९८१ मा निर्माण थालेको यस मोडलको अधिकतम क्षमता २ सय ३० सिटसम्म हो । निगमले भने दुई जहाजलाई लामो दूरीमा उडान गर्नुपर्ने भएका कारण आरामदायी बनाएको थियो । निगमका जहाजमा १६ विजनेश र १७४ सीट इकोनोमिक क्लास थिए । एक पटकमा निरन्तर ७ घण्टासम्म उड्न सक्ने क्षमता यी जहाजमा रहेको छ । निगमले दुई जहाजलाई ‘कर्णाली’ र ‘गण्डकी’ नाम दिएको थियो । कर्णाली दुई वर्ष अगाडि नै बेचिसकेको निगमले अब बेच्न लागेको जहाज गण्डकी हो ।

निगमसँग बोइङ ब्राण्ड ७५७ देखि मात्र शुरु भएको होइन् । निगमले सन् १९७२ मै १२३ सीट क्षमताको बोइङ ७२७ खरीद गरी चलाएको थियो । उक्त जहाजलाई पनि निगमले २१ वर्ष उडाएर सन् १९९३ मा विस्थापित गर्‍यो । त्यतिन्जेल निगमले बोइङकै ब्राण्ड न्यू जहाज किनेको थियो । त्यसकारण अब निगमसँग बोइङको ४७ वर्ष पुरानो नाता तोडिदै छ ।

त्यो स्थान यूरोपेली जहाज निर्माता एयरबसले लिँदैछ । किनकि निगमले एउटा कम्पनीका कम्तीमा २० वटा जहाज नभएसम्म दोस्रो कम्पनीका जहाज नथप्ने बताउँदै आएको छ । किनकि सानो पुँजीको एउटा कम्पनीसँग धेरै ब्राण्डका जहाज हुँदा त्यसले सञ्चालन खर्च बढाउने निगमको निष्कर्ष छ । सानो कम्पनीमा पनि दुई थरी ब्राण्डका जहाज राख्दा त्यसका लागि छुट्टाछुट्टै विभाग बनाउनु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment