Comments Add Comment

रुक्शना कपालीले त्रिविमा पढ्न पाउलिन् ?

३ असार, काठमाडौं । करिब दुई वर्ष भयो, ललितपुर महानगरपालिका, पाटनकी रुक्शना कपाली जिन्दगीको एउटा महत्वपूर्ण दोबाटोमा पुगेर रोकिएकी छिन् । उनका अगाडि केही बाटाहरू छन्, तर हरेक बाटा आफैँमा रनभुल्ल परेजस्ता लाग्छन् ।

रुक्शनाका हरेक बाटा चुनौतीपूर्ण छन् । तर, उनी स्पष्ट छिन् कि आजकै विन्दुमा चुप लागेर बस्न सकिँदैन । एउटा न एउटा बाटो रोज्नैपर्छ । जिन्दगीको यात्रा अगाडि बढ्नैपर्छ ।

करिब दुई वर्ष अगाडि कपाली भाषाविज्ञान र समाजशास्त्रमा स्नातक तह पढ्नका त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र कलेजमा भर्ना भइन् । पढाइ राम्रोसँग अगाडि बढ्दै थियो । ०७४ को अन्त्यतिर पहिलो वर्षको परीक्षाका लागि दर्ता फारम भर्नुपर्ने बेला भयो । उनले फारम भरिन् । तर, विश्वविद्यालयले उनको फारम दर्ता गर्न मानेन ।

विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले कपालीको कक्षा १० को (एसएलसी) प्रमाणपत्र र कक्षा ११ र १२ (प्लस टु) को प्रमाणपत्रमा नाम र लिङ्ग फरक रहेको पत्ता लगायो । उनले दुवैलाई एउटै नबनाएसम्म कुनै पनि परीक्षामा बस्न नदिने अडान लियो ।

त्यसपछि उनको पढाइको यात्रा रोकिएको छ, तर उनी बाधा फुकाउनका लागि सङ्घर्षरत छिन् ।

कसरी यस्तो भयो ?

विश्वविद्यालयको ठम्याइ सही नै हो । कपालीले कक्षा १० उत्तीर्ण गर्दाको प्रमाणपत्रमा नाम अर्कै छ भने लिङ्ग पुरुष । प्लस टुको प्रमाणपत्रमा उनको नाम रुक्शना कपाली लेखिएको छ, लिङ्ग उल्लेख नगरिए पनि किशोरी भनेर स्पष्ट चिनिने फोटो छ ।

खासमा कपाली एक ‘पारलिङ्गी महिला’ (ट्रान्सजेन्डर विमन) हुन् । उनलाई जन्मँदा ‘बालकको पहिचान’ दिइए पनि उनी आफूलाई महिला भनेर चिनाउँछिन् । आफूलाई पहिल्यैदेखि आफू महिला भएको महसुस हुने र कक्षा नौमा पढ्दा, संवत् २०७०को अन्त्यतिर आफूले नयाँ पहिचानलाई पूर्णतः स्वीकार गरी परिवार र समाजलाई बताएको उनको भनाइ छ ।

‘तर त्यतिबेला एसएलसी फारममा मैले आफ्नो लिङ्ग बदल्न पाइनँ किनकि मलाई प्रिन्सिपलले स्कुलबाट निकालिदिने धम्की दिए,’ उनी सुनाउँछिन् ।

आफूले लामो कपाल पाल्दा र स्कर्ट लगाउँदा प्रिन्सिपलले बारम्बार दुर्व्यवहार गरेकाले कपालीले फारम भर्दा बालककै रूपमा आफूलाई चिनाइन्, तर त्यस लगत्तै लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा रहेका व्यवस्था अध्ययन गर्न लागिन् ।

यस क्रममा उनले पत्ता लगाइन् कि आफूलाई ‘महिला’ वा ‘पुरुष’ बाहेक अन्य लैङ्गिक पहिचानमा चिनाउन चाहने मानिसलाई ‘अन्य’ लैङ्गिक पहिचानसहित नागरिकता दिनू भनेर नेपालको सर्वोच्च अदालतले पनि सरकारलाई आदेश दिइसकेको रहेछ ।

‘हुन त आफूलाई ‘अन्य’ बनाइनु पनि मेरा लागि चित्तबुझ्दो त होइन । तर पनि मैले यही विकल्प रोजेँ किनकि यसले मलाई जन्म दर्ता प्रमाणपत्रमा भएको नाम बाहेक अर्को नाम राख्ने विकल्प पनि दिन्थ्यो,’ उनी भन्छिन् ।

त्यसैअनुसार उनले रुक्शनाकै नाममा नागरिकता प्रमाणपत्र लिइन् र सोही नाममा बिना कुनै झन्झट कक्षा ११/ १२ उत्तीर्ण गरिन् । सम्भाव्य समस्या टार्नका लागि उनले आफ्नो वडाबाट रुक्शना कपाली र कक्षा १०सम्मका कागजातमा उल्लेखित नाम एकै व्यक्तिका फरक नाम रहेको कुरा प्रमाणित गरिएको एक सिफारिस पनि लिएकी थिइन् ।

‘तर जब म त्रिवि गएँ, उनीहरूले फरक नाम र फोटो देखाए र यसलाई ठूलै समस्याका रूपमा प्रस्तुत गरे,’ रक्शानाको गुनासो छ, ‘त्यसपछि म रोकिएँ । न त म पछाडि फर्किएर आफ्नो एसएलसी प्रमाणपत्र सच्याउन सक्छु, न त त्यसलाई स्वीकार गरेर भर्ना अगाडि बढाउन सक्छु ।’

लडाइँको सुरुवात

तर, उनी सधैँ त्यहाँ रोकिएर बस्ने अवस्था थिएन । एउटा न एउटा विकल्प रोज्नैपर्थ्यो । त्यसैअनुसार उनी विविध तरिकाले त्रिविलाई मनाउन लागिरहिन् । यस क्रममा उनी शिक्षा मन्त्रालयसम्म पुगिन् ।

मन्त्रालयका अधिकारीहरूले पनि उनलाई सहयोग गरे । फलतः गत वैशाखसम्म आइपुग्दा त्रिविका अधिकारीहरू नियम संशोधन गरेरै भए पनि कपालीलाई भर्ना गराउने तयारीमा लागेका छन् । त्रिविले आफ्नो नियम संशोधन गर्‍यो भने भविष्यमा आफूजस्ता अन्य पारलिङ्गी विद्यार्थीलाई पनि धेरै सजिलो हुने उनको विश्वास छ ।

तर औपचारिक निर्णय हुन र त्यसलाई कार्यान्वयन गर्न अझै केही समय लाग्ने कुरामा कपाली जानकार छिन् । त्रिविको सकारात्मक जवाफलाई उपलब्धिका रूपमा लिँदै उनी आफ्नो एसएलसी प्रमाणपत्र पनि सच्याउन सकिन्छ कि भनेर लागेकी छिन् ।

तर यो काम त्यति सजिलो भने छैन । उनलाई धेरै मान्छेले भनेका छन् कि एसएलसी प्रमाणपत्रमा सामान्य ह्रस्वदीर्घ सच्याउन नै कति गाह्रो हुन्छ, एउटा नाम हटाएर पूरै अर्को नाम राख्नु त असम्भव नै हो ।

त्यसमाथि लिङ्ग सच्याउने कुरा त कुनै नियममा छैन । यद्यपि उनी बारम्बार राष्ट्रिय परीक्षा बोर्ड धाउन थालेपछि केही अधिकारीहरूले उनलाई एउटा निवेदन दिन सुझाव दिए । त्यसैअनुसार उनले गत वैशाख ३० गते परीक्षा बोर्डमा एसएलसीको प्रमाणपत्रमा नाम र लिङ्ग सच्याइपाऊँ भनेर एउटा निवेदन दिएकी छिन् ।

तर उनको आग्रह कुन रूपमा सुनुवाइ हुन्छ भन्ने विषयमा उनलाई केही थाहा छैन । न त अधिकारीहरू कुनै स्पष्ट जवाफ दिन्छन् । तर पनि उनी हप्तैपिच्छे फोन गरेर आफ्नो काम कहाँ पुग्यो सोधिरहेकी छिन् ।

‘नेपालका सबै सरकारी कार्यालय उस्तै रहेछन् । कसैले पनि तपाईँको काम यो दिन सकिन्छ भनेर भन्दैनन् । सबै कुरा कर्मचारीको इच्छा र मुडमा भर पर्छ,’ उनी भन्छिन्, ‘तर जेसुकै होस्, म चुप लागेर बस्नेवाला चाँहि छैन ।’

अर्थात् उनीसँग यो प्रक्रियाले काम नगरेको अवस्थामा अर्को योजना छ ।

के हो वैकल्पिक योजना ?

परीक्षा बोर्डले एसएलसी प्रमाणपत्र सच्याउन समय लगाओस्, त्यसलाई उनको परवाह छैन । तर अहिलेका लागि भने उनलाई स्पष्ट जवाफ चाहिएको छ : उनको काम हुन्छ कि हुँदैन ?

कपालीको निवेदनमा त्रिवि सकारात्मक देखिएको छ । परीक्षा सहनियन्त्रक पशुपति अधिकारीले विश्वविद्यालयले यो मुद्दामा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिसकेको र उनीहरूले कपालीको पक्षमा राय दिएको बताए

‘हरेक चोटि उनीहरू मेरो कामको जिम्मा नयाँ कर्मचारीलाई लगाइदिन्छन् र मैले तिनलाई सुरुदेखिकै सबै कुरा दोहोर्‍याउनुपर्छ । यसका लागि धेरै भावनात्मक मेहनत पर्छ ।’

उनको सुझाव छ, ‘यसको सट्टा मलाई हुन्छ कि हुँदैन भनिदिए हुन्थ्यो । मुखले होइन, लिखितमा । सम्भव छ भने त म पढ्न जान्छु, सकिइहाल्यो । सम्भव भएन भने उनीहरूको लिखित जवाफ लिएर म अदालत जान पाउँछु ।’

तर नचाहाँदा नचाहाँदै पनि तत्कालका लागि भने उनीसँग कुर्नुको विकल्प छैन । तर अलि पछिसम्म ‘ल्याङ्ल्याङ्’ जारी रहृयो भने उनी धर्ना कस्न पछि नपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘मलाई प्रहरी धरपकडको कुनै डर छैन । मैले धेरै चोटि माइतीघर मण्डलामा पानीको फोहोरा खाइसकेकी छु ।’

‘के गर्छु थाहा छैन । तर चुप लागेर चाँहि बस्दिनँ ।’

अधिकारीहरू के भन्छन् ?

अनलाइखबरसँगको कुराकानीमा परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कपालीको माग पूरा हुन नसक्ने बताए । आफूहरूको चाहनाभन्दा पनि नीतिनियमले आफूलाई कुनै विद्यार्थीको सिङ्गै नाम र लिङ्ग बदल्न नदिने उनले बताए ।

‘हामीले झुलाउन खोजेको होइन । तर हामी कानुनभन्दा बाहिर गएर काम गर्न मिल्दैन,’ पौडेलले भने ।

बोर्डले कपालीको निवेदन दर्ता गरी कारबाही अगाडि बढाएको, प्रक्रिया पुगेपछि निर्णय आउने र यसको लिखित जानकारी निवेदकलाई गराउने पौडेल बताउँछन्, ‘मिल्दैन भन्न पनि निश्चित प्रक्रिया पूरा गर्नुपर्छ । त्यत्तिकै हुँदैन,’ उनले भने ।

आफ्ना कर्मचारीहरूले प्रक्रियाअनुसार नै काम गरिरहेको बताए पनि यो विषय कहिलेसम्म टुङ्गिन्छ भनेर उनले कुनै जानकारी दिएनन् ।

कपालीको निवेदनमा त्रिवि भने सकारात्मक देखिएको छ । त्रिविका परीक्षा सहनियन्त्रक पशुपति अधिकारीले विश्वविद्यालयले यो मुद्दामा आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरिसकेको र उनीहरूले कपालीको पक्षमा राय दिएको बताए ।

‘अलिकति ढिला भएको हो । तर अब हप्तादिनमा निर्णय हुन्छ,’ उनी भन्छन्, ‘त्यसपछि म उहाँलाई फोन गरेर फारम दर्ता गर्न लगाउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment