Comments Add Comment

खराब ऋणीको कालोसूची तन्किँदै, भ्यू टावरका भेटवाल अझै सूचीमा

४ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा कर्जा लिएर नतिर्नेको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार ऋण नतिरेर कालोसूचीमा पर्नेहरु ८ हजारभन्दा बढी छन् ।

असारको पहिलो ३ कार्यदिनमा नै ५७ जना व्यक्तिहरु कालोसूचीमा थपिएको केन्द्रले जनाएको छ । औद्योगिक क्षेत्रमा व्याप्त निराशा, सेयर बजार एवम् रियल स्टेट क्षेत्रमा छाएको मन्दीले कर्जा तिर्न नसक्नेको संख्या बढेको हो । कर्जा सूचना केन्द्रले कर्जा लिएर लामो समयसम्म नतिर्नेहरुलाई कालोसूचीमा राख्छ ।

केन्द्रले सूचीको पहिलो नम्बरमा हेटौंडा लेदर इन्डस्ट्रिज प्रालि र बाँसबारी लेदर सुज एण्ड फ्याक्ट्री देख्न सकिन्छ । यो उद्योग बन्द भएको धेरै भइसकेको छ । केन्द्रले फागुन २१, ०४६ मा नै यसलाई कालोसूचीमा राखेको थियो ।

३ असार ०७६ सम्म ८ हजार ३ सय ९ वटा ऋणी कालोसूचीमा रहेको सूची केन्द्रले सार्वजनिक गरेको छ । कतिपय एउटै शीर्षकमा ५ जना व्यक्तिसम्म कालोसूचीमा परेका छन् । ०७५ चैत्र मसान्तसम्म सूचीमा ७ हजार ६ सय ८५ थिए । वैशाख मसान्तसम्म आइपुग्दा २ सय ५८ जना थपिएर ७ हजार ९ सय ४३ जना पुगे ।

एक वर्षको अवधिमा मात्रै २ हजार ३ सय ४९ व्यक्तिहरु कालोसूचीमा परेका थिए । ०७५ असार ३ गतेसम्म कालोसूचीमा पर्नेको संख्या ५ हजार ९ सय ६० थियो । यो संख्या एक वर्षको अवधिमा २ हजार ३ सय ४९ ले बढेको हो ।

उक्सन सकेनन् ठेकेदार भेटवाल

काठमाडौं भ्यू टावरको जिम्मा पाएका विवादित ठेकेदार मनोजकुमार भेटवाल पनि कालोसुचीमा छन् । स्वछन्द बिकोई कम्पनीका अध्यक्ष भेटवाललाई केन्द्रले ०७५ असार १५ मा कालोसूचीमा राखेको थियो ।

उनको काम गराइको स्थिति हेर्दा भ्यूटावरको निर्माण सम्पन्न कहिले हुन्छ भनेर कसैले भन्न सक्ने अवस्था छैन । उनले भ्यूटावर बनाउनका लागि विभिन्न ठूला उपकरणहरु भाडामा ल्याएका छन् । तर त्यसको भाडा पनि नतिरी थन्काएर राखेको भन्दै उपकरणका मालिकले त्यो उठाएर लैजान खोजिरहेका छन् ।

भ्यूटावर निर्माणको जिम्मा पाएर भन्दा पनि खुलामञ्च काण्डले भेटवाल विवादमा आएका थिए । आफ्ना उपकरण राख्न खुलामञ्चको केही क्षेत्र महानगरले उपलब्ध गराएको मौका छोपी सटर नै बनाएर बिक्री गरेका थिए उनले । यसअघि भेटवाल ०७४ असोजमा पनि कालोसूचीमा परेका थिए ।

सहकारीकाण्ड मच्चाएका सुधीर बस्नेत पनि केन्द्रको कालेसूचीमा छन् । कोहिनुर हिल हाउजिङका सञ्चालक बस्नेत एकपटक होइन, दर्जनभन्दा बढी पटकसम्म कालोसूचीमा परिसकेका व्यक्ति हुन् ।

पर्यटन व्यवसायी हरिमान लामा पनि केन्द्रको कालोसूचीबाट उक्सन सकेका छैनन् । उनी एक वर्ष पहिले नै कालोसूचीमा परेका व्यक्ति हुन् ।

उनको समूहद्वारा सञ्चालित इन्सेन्टिभ ट्राभल्स एन्ड टूरले एयर एसियाको जीएसए लिएर नेपालमा वायु सेवासम्बन्धी काम गर्दै आएको थियो । एयर एसिया भने केही समयअघि नै काठमाडौं छाडेर गइसकेको छ ।

एयरपोर्टको दस्तुर समेत नतिरी एयर एशिसयाको जहाज जानुअघि नै समूहका अध्यक्ष लामासहित गणेशमान लामा, सावित्री श्रेष्ठ र मञ्जु तामाङ लामासमेत कालोसूचीमा परेका थिए । तर अझै उनीहरु उस्कन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment