Comments Add Comment

मिसन टी-२० विश्वकप : उत्साहित छन् खेलाडी

५ असार, काठमाडौं । टी–२० विश्वकप २०१४ मा डेब्यू गर्दा नेपालले सहभागिता मात्र जनाएन, उदीयमान क्रिकेट राष्ट्रका रुपमा आफूलाई प्रस्तुत गर्‍यो । हङकङ र अफगानिस्तानलाई हराएको नेपालले टेष्ट खेल्ने देश बंगलादेशलाई पनि राम्रै चुनौती दियो ।

तर क्रिकेटको घरेलु विवादमा रुमलिएको नेपालले अर्को पटक विश्वकपमा स्थान नै बनाउन सकेन ।

नेपाललाई अब फेरि विश्वसामू आफूलाई प्रस्तुत गर्ने मौका आएको छ, अष्ट्रेलिया विश्वकप ।

विश्वकपको ग्लोबल छनोट यूएईमा हुनेछ, जसमा १४ टिमबाट ६ टिमले अष्ट्रेलियाको टिकट पक्का गर्नेछन् । त्यहाँ पुग्नु अघि नेपालले एसिया फाइनल खेल्दैछ, जहाँ सिंगापुर, कुवेत, मलेसिया र कतारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सिंगापुरमा हुने प्रतियोगिताको शीर्ष टिम ग्लोबल छनोटमा पुग्नेछ । यसका लागि नेपालले तयारी थालेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नयाँ प्रशिक्षक उमेश पटवालको प्रशिक्षणमा अभ्यास थाल्दा खेलाडीहरु उत्साहित देखिए । कप्तान पारस खड्का भन्छन्, ‘सबैले घरेलु प्रतियोगितामा खेलिरहेका छन् । नयाँ प्रशिक्षक आउँदा जोश जाँगर बढेको छ ।’


तर नयाँ प्रशिक्षक आउँदैमा सबै राम्रो हुन्छ भन्ने नभएको भन्दै उनले अगाडि भने, ‘जिम्मेवारी हामीमा छ । विश्वकपमा पुग्न यो खुड्किलो पार गर्नुपर्छ ।’

प्रधानमन्त्री कपमा भएको प्रदर्शनका लागि २५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । टिममा युवा खेलाडीको बाहुल्यता छ । ‘नेपाली क्रिकेट खेलाडीमा प्रतिभा छ । तर त्यो प्रतिभाले कतिको एक्सपोजर पायो भन्ने कुरा हो’ कप्तान पारस भन्छन्, ‘एकैचोटी टिममा फेरबदल हुन्छ भन्ने चाहिँ होइन ।’

सिंगापुरमा नेपालले खेल्ने टिम तुलनात्मक रुपमा कमजोर मानिन्छ । तर कप्तान पारस भने एसिया क्षेत्र छनोटका कुनै पनि टिमलाई कमजोर मान्न नमिल्ने बताउँछन् । ‘हो, हामी बलियो प्रतिद्वन्द्वी हौं’ उनले भने, २०–२० फम्र्याट हो । चार वटा मात्र खेल भएको हुनाले कुनै खेललाई सहज रुपमा लिन मिल्दैन । प्रतिद्वन्द्वी कमजोर होला भन्दा पनि हामीले राम्रो क्रिकेट खेल्नु प¥यो ।’

कप्तान पारसका अनुसार खेलाडीमा जितको भोक छ ।

नेपालले गत फेब्रअरीमा यूएईसँग एकदिवसीयसँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । दुबै सिरिज नेपालले समान २–१ ले जित्यो तर, त्यसपछि अर्को खेल खेलेको छैन । कप्तान पारस भन्छन्, ‘यूएईमा गएर उसैलाई हराएको थियौं तर, त्यो ५ महिना अघि थियो । अब जुलाईमा हुने प्रतियोगिताका लागि फेरि सुरुवातदेखि नै थाल्नु पर्ने हुन्छ । हामी कुनै पनि टिमलाई सजिलै लिनौं ।’


पहिलो पटक नेपाली टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका प्रशिक्षक उमेश पटवाल पनि लक्ष्य विश्वकपमा छनोट हुने भएको बताउँछन् । ‘सिंगापुर र ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप पुग्ने सपना छ’ उनले भने ।

सन् २०१८ मार्चमा नेपालले जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा उमेश पटवाल ब्याटिङ प्रशिक्षक थिए । नेपालले युएईमा एकदिवसीय क्रिकेट र टी–२० क्रिकेट सिरिज जित्न पनि उनको साथ थियो । त्यसैले उनीमाथि धेरै अपेक्षा छ । उनको लागि यो परीक्षा पनि हो ।

प्रशिक्षक पटवाल भन्छन्, ‘एसियामै छनोट भएनौं भने विश्वकप कसरी खेल्न सक्छौ‌ं ? त्यसैले हामी सिंगापुरतर्फ केन्द्रित छौं ।’ प्रतिभावान खेलाडी रहेको भन्दै नेपालले राम्रो गर्ने उनको विश्वास छ ।

एसिया क्षेत्र छनोटको पहिलो राउण्डमा नेपालले शतप्रतिशत जित हात पारेको थियो । त्यसबेला मलेसिया, भुटान, चीन, थाइल्यान्ड र म्यानमारलाई सहजै पराजित गरेको नेपालले सिंगापुरसँग खेल्दा भने पानी बाधक बनेको थियो ।

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो पनि पढ्नुहोस टी–२० विश्वकपको एसिया छनोटका लागि सुरु भयो नेपालको तयारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment