Comments Add Comment

सुनको मूल्य तोलाको ६५ हजार पुग्यो, बिक्री घट्यो

६ असार, काठमाडौं । नेपालको इतिहामै शुक्रबार छापावाल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा पुगेको छ । मूल्य बढेसंगै सुन किन्ने ग्राहक संख्या ज्यादै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

बुधबार ६३ हजार प्रतितोलामा कारोेबार भएको छापावाल सुनको एकै दिन एक हजार रुपैयाँले बढेर बिहिबार नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार बिहीबारको मूल्य नेपाली सुन व्यवसायको इतिहासमा सबैभन्दा उच्च थियो तर उक्त रेकर्ड शुक्रबार पुनः प्रतितोला एक हजारले नै बढेर तोडिएको छ ।

प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य बजेटमा एक हजार कर थपिए पछि ६० हजार पुगेको थियो ।

महासचिव बज्राचार्यका अनुसार बजारमा सुनको मूल्य बढ्नुमा कुनै आन्तरिक कारण भने छैन ।

इरान र अमेरिकाबीच चर्किदो विवाद, अमेरिका चीन व्यापार युद्धलगायतका कारणले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको हुन सक्ने बज्राचार्यले बताए ।

असार महिनामा धेरै विवाह हुने भएकाले सुन ब्यवसायका लागि सिजन मानिन्छ । तर मूल्य वृद्धिका कारण ग्राहकहरु पर्ख र हेरको अवस्थामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment