Comments Add Comment

सोमपालको विश्वास – एक दिन आईपीएलमा खेल्नेछु

६ असार, काठमाडौं । क्यानडामा ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएसँगै नेपाली क्रिकेटर सोमपाल कामी अहिले चर्चामा छन् । बिहीबार राति भएको ड्राफ्टमा सोमपालको नाम परेसँगै उनलाई बधाईं दिनेको लहरै छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सोमपाल कामीले आफू निकै उत्साहित रहेको बताएका छन् । उनी भन्छन् ‘खुशी लागि रहेको छ । पहिलेदेखि लाग्थ्यो हामी पनि सक्षम छौं । अब केही गरेर देखाउने छु ।’

सोमपालले ग्लोबल टी–२० क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएसँगै दुई जना नेपाली क्रिकेटर चलेको अन्तर्राष्ट्रिय मैदानमा पुग्ने भए । दुई वर्षअघिदेखि सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आएका छन् ।

सोमपाललाई विनिपिग हक्सले आफ्नो क्लबमा अनुबन्धित गरेको हो । सोमपालले विश्व चर्चित खेलाडी ड्यारेन ब्राभो, जेपी डुमिनी, साइमन अनवरसँगै एउटै टिममा खेल्ने छन् ।

प्लेइङ इलाभेनमा पर्दै आफू खेल्न पाउनेमा सोमपाल विश्वस्त छन् । तर सुरुवाती खेलमा भने टिममा आफू नपर्न सक्ने सम्भावनालाई उनले बुझेका छन् । उनी भन्छन्, ‘पहिलो तीन खेल गुमाउछु होला । त्यहाँ कप्तान र प्रशिक्षकको रणनीतिमा भर पर्छ ।’

म अन्तर्राष्ट्रिय लिग खेल्ने हुँदा सबै खुशी छन् । सबैलाई ठूलो उपलब्धी लागि रहेको छ । तर मेरो बुबालाई भने भारतीय टिम र आईपीएल क्रिकेट नै सबैभन्दा ठूलो लाग्छ । आशा छ एकदिन आईपीएल पनि खेल्नेछु । हिजो ८० प्रतिशत आत्मविश्वास थियो भने अहिले सय प्रतिशत पुगेको छ ।’

सन्दीपले गतवर्षदेखि खेल्न थालेको ग्लोबल टी–२० क्यानडा लिगमा यो पटक पनि उनी खेल्ने भएका छन् । सन्दीपले टोरोन्टो नेशनल्सबाट खेल्दै छन् । संयुक्तरुपमा पत्रकारकासँग कुरा गर्दै सन्दीपले पनि सोमपाल थपिएपछि आफ्नो इच्छा पूरा भएको बताएका छन् ।

उनले भने ‘एउटा खेलाडीले मात्र खेलिरहेको थियो । अब दुई जना भएका छौं । आशा छ भविष्यमा अझ धेरै खेलाडीले अन्तर्राष्ट्रिय स्तरका ठूला लिगहरु खेल्नेछन् ।’

ग्लोबल टी–२० क्यानडा प्रतियोगिता आगामी जुलाई २५ तारिखदेखि सुरु हुँदैछ । तर सन्दीप र सोमपाल भने केही ढिलो गरी मात्रै क्यानाडा पुग्ने छन् । आईसीसी टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनल राउण्ड जुलाई २८ तारिखमा मात्रै सकिनेछ । नेपाली क्रिकेट टिमका भरपर्दा यी दुई खेलाडी सिंगापुरबाट उतै क्यानडा जाने छन् ।

यो पनि पढ्नुहोस ड्रिम टु प्ले वर्ल्डकप !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment