+

रियल मड्रिडमा सकिएको सपना एथ्लेटिको मड्रिडमा !

२०७६ असार  ६ गते १९:५० २०७६ असार ६ गते १९:५०
रियल मड्रिडमा सकिएको सपना एथ्लेटिको मड्रिडमा !

६ असार, काठमाडौं । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले रियल मड्रिडबाट मिडफिल्डर मार्कस लोरेन्टेलाई किनेको छ । सानो बेलादेखि रियलका समर्थक लोरेन्टे रियलकै युवा टिमबाट फुटबलमा अघि बढेका थिए ।

रियल मड्रिडलाई आदर्श मानेर चलिरहेका लोरेन्टे रियल मड्रिडमा नै भने लामो समय रहन सकेनन् । एथ्लेटिको मड्रिडले उनको आगमनलाई अल्भारो मोराटोसँग तुलना गरेको छ । एथ्लेटिकोले ४० मिलियन युरोमा लोरेन्टेलाई पाँच वर्षको सम्झौतामा ल्याएको हो ।

रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले नयाँ सिजनका लागि आफ्नो योजनामा लोरेन्टेको स्थान नरहेको बताएसँगै उनको नयाँ क्लबको खोजी भएको थियो । तर ७० मिलियन युरोसम्मका प्रस्तावलाई छाडेर उनी छिमेकी क्लब नै जाने निर्णयमा पुगे ।

अरु क्लबको तुलनामा ३० मिलियन युरो नै कम भए पनि एथ्लेटिको मड्रिडमा लोरेन्टेले खोजेको जस्तै वातावरण भने छ ।

प्रशिक्षक डिएगो सिमोनले खोजेजस्ता खेलाडी, च्याम्पियन्स लिगमा बलियो उपस्थिति रहने क्लब, अरु तलब सुविधामा पनि राम्रो क्लब, आफ्नै एउटै शहर जहाँ परिवारहरु सँगै बस्ने अवसर जस्ता कारणले नै लोरेन्टे एथ्लेटिको मड्रिडमा गए ।

स्पेनिस क्लब लस रोजासबाट २००२ मा सानै उमेरमा फुटबल सुरु गरेका लोरेन्टे, रोसेना, रायो माजाडाहोन्डा हुँदै २००८ मा १३ वर्षको उमेरमा रियल मड्रिडको युवा टिममा पुगेका थिए । जहाँ २०१४ मा रियल मड्रिड बी टिममा उनको प्रवेश भयो । त्यसको एक वर्षपछि देखि नै रियलको सिनियर टिममा बेलामौका खेल्न पाएका लोरेन्टे २०१६ देखि भने लोनमा अलाभेसमा रहे ।

सान्टियागो सोलारी रियल मड्रिडको प्रशिक्षक हुँदा लोरेन्टेको अवसर मड्रिडमा नै बढ्ने अवसरहरु पनि आइरहेका थिए । तर जिदान आएपछि उनको क्षमता पहिलो रोजाइको टिममा मात्रै होइन दोस्रो रोजाइमा समेत परेन । गएको सिजन नै जिदानले रियल मड्रिड नछाडेका भए त्यही साल लोरेन्टे अर्को क्लबमा पुगिसकेका हुने थिए ।

अब सिमोनको नजरमा उनको खेल निराखिने विश्वासमा समर्थक देखिन्छन् । जसमा उनको शारीरिक क्षमताका साथै डिफेन्सिभ स्किलको तारिफ सिमोनले गरिरहेका हुन्छन् । यसैले २४ वर्षका लोरेन्टेले रियल मड्रिड र जिदानलाई गलत सावित गर्न नै एथ्लेटिको मड्रिड रोजेका हुन् । उनमा रोमा र इन्टर मिलानले पनि इच्छा देखाइरहँदा एथ्लेटिको नै रोज्नुको विशेष कारण यही नै रहेको फुटबल विश्लेषक बताउँछन् ।

लोरेन्टे यस्ता मिडफिल्डर हुन् जो मिडफिल्डसँगै डिफेन्स लाइनलाई बलियो बनाउन पनि सक्षम छन् । उत्कृष्ट पास खेल्ने क्षमतामा देखिने लोरेन्टे युवा बेलादेखि नै डिफेन्स र मिडफिल्ड दुवैमा उत्तिकै सक्रिय थिए ।

२०१६–१७ को सिजन अलाभेसमा रहँदा उनले उत्कृष्ट ३०३ बल बचाउ गर्दै ला लिगामा सबैभन्दा धेरै बल रिकोभरी गर्ने खेलाडीको रुपमा चिनिएका थिए । त्यही सिजन नै अलाभेसलाई कोपा डेलरेको फाइनलसम्म पु¥याउन उनको भूमिका महत्वपूर्ण थियो ।

२०१४ मा स्पेनको यु १९ राष्ट्रिय टिमबाट खेलेका उनी २०१६ देखि दुई वर्षसम्म स्पेनको यु २१ टिममा थिए । जहाँ उनको क्षमता क्लब फुटबलमा भन्दा उत्कृष्ट देखिएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय