Comments Add Comment

प्लास्टिकको छानामुनि डोटीका कैदीको बास

७ असार, डोटी । जिल्ला कारागारका कैदी प्लास्टिकको छानामुनि बस्न बाध्य भएका छन् । कारागार भवन जीर्ण भएर चुहिन थालेपछि उनीहरु कष्टकर जीवन बिताउन बाध्य भएका हुन् ।

झरी परेका बेला पानी चुहिन्छ । जीर्ण कारागार भवन टालटुल गरे पानी चुहिने समस्या हटेको छैन । पानी चुहिने भएपछि कैदी प्लास्टिक राखेर सुत्ने गरेका छन् ।

‘राणाकालमा निर्माण गरिएको भवनमा स्लेट खिइएर झर्न थालेको छ’, कैदीबन्दीका नाइके दीपेन्द्र जेठाराले भने, ‘दिउँसो चौरमा बस्छौँ, छानो खस्ने चिन्ताले पिरोल्छ ।’ ढोका पुरानो भएका कारण लगाउन नमिल्ने अवस्थामा छ ।

बजेट अभावका कारण जीर्ण भवन मर्मतसम्भार गर्न नसकिएको कारागारका प्रमुख राजन केसीले बताए । ‘भवन पुरानो भएकाले छत चुहिन्छ, कैदीलाई बस्न निकै गाह्रो भएको छ’, उनले भने ।

पच्चीस कैदीको क्षमता रहेको डोटी कारागारमा हाल ४३ पुरुष कैदी र चार महिला कैदी छन् । क्षमताभन्दा बढी कैदी हुँदा खानेपानी र शौचालयको समस्या भएको छ । पालो पखर्नुपर्ने अवस्था छ ।

दीपायल–सिलगढी नगरपलिकाले कारागार मर्मतका लागि रकम उपलब्ध आश्वासन दिएको कारागार प्रशासन प्रमुख केसीले बताए । उनले भने, ‘रकम उपलब्ध हुनेवित्तिकै मर्मत थाल्छौं ।’

कैदीलाई पढ्न सहज होस् भनेर नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले केही समय अघि कारागारमा पुस्तकालय स्थापना गरेको छ । डोटी कारागार सुदूरपश्चिम प्रदेशको सबैभन्दा पुरानो कारागार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment