Comments Add Comment

मूल्य आकासिएसँगै सुन पसलमा पुराना गहना बेच्नेको भीड

७ असार, काठमाडौं । सुनको मूल्यले बिहीबार र शुक्रबार लगातार नयाँ रेकर्ड राख्यो । यससँगै राजधानीका सुन पसलहरुमा पुराना गहना बेच्नेहरुको संख्या बढ्दो छ । नयाँ बानेश्वर, दरबारमार्ग, न्यूरोड, बागबजार क्षेत्रका सुन पसलहरुमा सुन बेच्न चाहनेहरुको सानोतिनो भीड नै छ ।

बिहीबार र शुक्रबार औसत २० जना भन्दा धेरै ग्राहकले पुरानो सुन फिर्ता गर्न आएको व्यवसायीको अनुमान छ । न्युरोडस्थित जेम्स अर्नामेन्ट्सका अनुसार शुक्रबार मात्रै ३० जना बढी ग्राहकले पहिले किनेका सुन बेच्न पसलमा आएका छन् ।

न्यूरोडकै श्रीओम ज्वेलर्सका म्यानेजर रमेश नेपालका अनुसार बिहीबार भन्दा शक्रबार सुन बेच्ने ग्राहकको संख्या बढेको छ । म्यानेजर नेपालका अनुसार नयाँ सुन बिक्री पछिल्लो एक सातादेखि ठप्प छ ।

दैनिक एक हजार रुपैयाँका दरले बिहीबार र शुक्रबार सुनको मूल्य बढेपछि बोहनी गर्नै कठिन भएको नेपालले बताए ।

रिद्धीसिद्धी ज्वेलर्समा भेटिएकी चन्द्र कुमारी सिंहले डिजाईन पनि गएको र बढेको बेलामा फाइदा पनि हुने भएकाले सुन बेच्न आएको बताइन् । बढेको बेलामा बेचेर बस्ने र फेरि मूल्य घटेपछि किन्ने सोच रहेको उनले सुुनाइन् ।

लगानी गरेको भन्दा ३० हजार रुपैयाँ बढीले नाफा भएपछि सुन बेच्न आएको श्री ओम ज्वेलर्समा भेटिएका सुजन सेरचनले बताए । ‘सुन भनेको सम्पत्ति हो सस्तोमा किन्ने हो महँगो हुँदा बेच्ने हो । अहिले बेच्ने सिजन चलेको छ, शेरचनले भने ।

नयाँ बानेश्वरमा रहेको काठमाडौं अर्नामेन्ट्स सुन चँँदी पसलका सञ्चालक एवं सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मरत्न बज्राचार्यले सुन किन्न बिहीबारदेखि नै ग्राहक नआएको बताए । बज्राचार्यका अनुसार पुराना अर्डर भएका गहना लिन बाहेक नयाँ सुन किन्ने ग्राहक आएका छैनन् । यसअघि सस्तोमा हगना किनेकाहरु भने आफ्नो सुन बिक्री गर्न आएका छन् ।

पछिल्लो दुईदिनमा विश्व बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपालमा शुक्रबार छापावल सुनको मूल्य सबै भन्दा उच्च बिन्दुमा पुगेको छ । शुक्रबारका लागि छापावल सुनको प्रतितोला मूल्य ६५ हजार रुपैयाँ तोकिएको छ । बिहीबार प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

इरान र अमेरिकाबीच चर्किदो विवाद, अमेरिका चीन व्यापार युद्ध तथा अमेरिकी फेडरल बैंकले आर्थिक मन्दीका कारण ब्याजदर कटौती गर्ने निर्णय गर्दा विश्व अर्थतन्त्रमा प्रभाव पारेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

यस अघि २०७५ साल फागुन ८ गते सुनको मूल्य सबै भन्दा धेरै ६३ हजार ३०० कायम भएको थियो ।

चाडपर्व तथा विवाहको सिजनमा नेपाली बजारमा दैनिक ४० किलो तथा सामान्य अवस्थामा दैनिक १० किलो हाराहारी सुन नेपाली बजारमा खपत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment