+
+
Shares

निजामती ऐनलाई लिएर संसदीय समिति र सरकारबीच टकराव

पुरानो घरमा डोजर लगाउँन सकिन्न : मन्त्री पण्डित

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ असार ८ गते १७:५५

८ असार, काठमाडौं । निजामती सेवाको श्रेणीगत र तहगत प्रणालीलाई निरन्तरता दिने वा दुई मध्ये एउटा मात्रै कायम राख्ने भन्नेमा सरकार र संसदीय समितिका बीचमा मत बाझिएको छ ।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादव कोइराला दुबै प्रणालीलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिए । तर, सांसदहरु दुईमध्ये एउटालाई त्याग्नुपर्नेमा अडिक रहे ।

दुबै पक्षले आ-आफ्नो अडान राखेपछि यो विषयमा कुनै निर्णय हुन सकेन । समिति सभापति शशी श्रेष्ठले यो व्यवस्था भएको दफा (संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ५) माथिको छलफललाई स्थगित गरिदिइन् ।

विधेयकको दफा ५ को उपदफा ७ मा ‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि संघीय निजामती सेवाको श्रेणीगत व्यवस्थालाई तहगत प्रणालीमा रुपान्तरण गरी एकिकृत निजामती सेवा प्रणाली लागू गर्न सक्ने’ उल्लेख छ । विधेयकमाथिको छलफलमा भाग लिने सबै सांसदहरुले यो व्यवस्था (एकीकृत प्रणाली)लाई कायम गरेर जानुपर्ने बताए ।

तर, जवाफ दिने क्रममा मन्त्री पण्डितले दुबै प्रणाली आवश्यक रहेको उल्लेख गर्दै भने, ‘डोजर लगाएर घर भत्काएजस्तो सबै कुरा भताभुंग बनाएर ऐन आएको छ । अहिले त्यो सम्भव छैन ।’

उनले थपे, ‘अहिले त्यो गर्‍यो भने नीतिगत रुपमा विधेयक फिर्ता लैजानुस् भन्नुपर्ने हुन्छ । हामी त्यो ठाउँमा छैनौं । समग्र परिवेशले कहाँनेर कति चेन्ज गर्न सकिन्छ, त्यति बुझेर अगाडि बढ्यौं भने हामी निकासमा पुग्छौं ।’

लगत्तै समिति सभापति शशी श्रेठले मन्त्री पण्डितको अभिव्यक्तिको आलोचना गरिन् । ‘कुनै नयाँ चीज बनाउनका लागि पुरानो भत्काउनैपर्छ । हामी छाता ऐन बनाउन लागिरहेका छौं । त्यसकारण संविधान अनुकुल बनाउन लागेको कारणले गर्दा यहि हिसावबाट सोचिनुपर्छ ।’ सभापति श्रेष्ठले भनिन् ।

समिति सदस्य एवं सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले परिवर्तन गर्नलाई हिँडेको भन्ने तर पुरानै नीति नियम मान्ने हो भने परिवर्तन सम्भव नभएको बताए ।

‘डोजर लगाउनै पर्छ, र नयाँ कुराको थालनी गर्नै पर्छ,’ उनले भने ।

शर्माको भनाईलाई प्रतिपक्षी दल कांग्रेसका सांसद दिलेन्ऽप्रसाद बडुले समर्थन गरे । ‘हामीले फिर्ता लिन भनेका छैनौं । एकिकृत प्रणाली अपनाऔं भनेका हौं । यसमा कसैले पोजिशन लिन आवश्यक छैन,’ उनले भने ।

नेकपाकी सांसद यसोदा सुवेदीले मन्त्रीलाई आफुले जे ल्याएको छ त्यो सही हो भन्नेमा पोजिशन नबनाउन आग्रह गर्दै भनिन्, ‘सरकारलाई सहयोग गरौं र आफ्नो अधिकारको पनि प्रयोग गरौं भन्ने हो । यहाँ पोजिशन बनाउन आवश्यक छैन् ।’

सांसद सुवेदी भन्छिन्, ‘फिर्ता लिन खोज्या भए स्वतन्त्रता छ । एउटा निर्णय गरे सकिन्छ ।’

कांग्रेस सांसद दिलेन्द्रले त्यसैमा थपे, ‘त्यही अभ्यासमा जान खोजेको भए के गर्ने …’

नेकपाकी सांसद लक्ष्मी चौधरीले मन्त्री पण्डित कर्मचारीतन्त्रबाट प्रभावित भएको आरोप लगाइन् । ‘अडान नलिन आग्रह गर्दछु । मन्त्रीज्यु ब्युरोकेसीबाट प्रभावित हुनुहुन्छ । पोजिशन नबनाउँ,’ उनले भनिन् ।

मन्त्री पण्डितको भनाइको बचाउमा मन्त्रालयका सचिव कोइराला उभिए ।

कर्मचारी सेवाको श्रेणीगत र तहगत प्रणालीको व्यवस्था भएको विधेयकको दफा ५ माथिको छलफल स्थगित भएर दफा ६ माथि छलफल सुरु भएको थियो । तर, सचिव कोइरालाले दफा ५ माथि कै प्रसंग कोट्याउँदै भने, ‘यहाँ मन्त्रीज्युको भनाइको गलत ब्याख्या …’

लगत्तै, सचिव नजिकै रहेका नेकपाका सांसद जनार्दन शर्माले सचिवलाई मन्त्रीको बचाउ नगर्न आग्रह गरे । तर, सचिव कोइराला रोकिएनन् । त्यसपछि अरु सांसदले पनि आपत्ति जनाए । ‘तपाइँ आफूलाई दिइएको जिम्मेवारी पूरा गर्नुस् । अह्राएको काम गर्नुहोस् । मन्त्रीको बचाउ गर्ने होइन ।’

भनाभनको स्थिति आएपछि सभापति श्रेष्ठले रुलिङ गरिन् । सभापतिले रुलिङ गरिरहँदा सांसद शर्माले सचिव कोइरालाले विगतमा पनि गलत शब्दहरु प्रयोग गर्दै आएको आरोप लगाए ।

सभापतिले सांसदहरुलाई पनि रुलिङ गर्दै मन्त्रालयका सचिव कोइरालालाई दफा ६ माथि मन्त्रालयले गरेको गृहकार्यबारे प्रस्तुती गर्न आग्रह गरिन् ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?