Comments Add Comment

भुटानमा कसरी नापिन्छ जनताको खुशी ? विश्वमा नेपालको स्थान १००

भारतीयभन्दा नेपाली बढ्ता खुशी

११ असार, काठमाडौं । नेपाल सरकारले तथ्यांक विभागमार्फत नेपाली जनताको खुशी मापन गर्ने तयारी गरेको छ । ओली सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको सफलतालाई परीक्षण गर्नका लागि तथ्यांक विभागले नेपाली जनता कति खुशी छन् भनेर सर्वे गर्ने तयारी थालेको हो ।

जनताको खुशीको मापनलाई संविधानमै उल्लेख गरेर औपचारिकरुपमा सर्वे गर्दै आएको देश भुटान हो । अब नेपाल सरकारले पनि भुटानको सिको गर्न लागेको हो ।

त्यसो त भुटानले जस्तै विश्वका अन्य कतिपय देशहरुले आफ्ना जनता कति खुशी छन् भन्नेबारे मापन गर्ने गर्न थालेका छन् । संयुक्त राष्ट्र संघको मञ्चबाट समेत हरेक वर्ष ‘ह्याप्पीनेस इन्डेक्स’ मापन गर्न थालिएको छ, जसमा १५६ देशका जनताको खुसीको सूची तयार पार्ने गरिएको छ ।

विश्वमा नेपालको स्थान कहाँ छ ?

सन् २०१८ को ‘ह्याप्पीनेस इन्डेक्स’मा नेपालको स्थान १५६ देशहरुमध्ये १०१ औं स्थानमा थियो । सो अवधिमा नेपाल र भेनेजुएलासँगै थिए । अर्थात ‘ह्याप्पीनेस इन्डेक्स’ मा भेनेजुएलाको स्थान नेपालभन्दा ठीक पछाडि अर्थात, १०२ औं नम्बरमा थियो ।

सन् २०१९ मा भने ‘ह्याप्पीनेस इन्डेक्स’ मा नेपाल १०० औं स्थानमा परेको छ । भेनेजुएलाचाहिँ १०८ औं स्थानमा धकेलिएको छ । जनताको खुशी मापनका आधारमा फिनल्याण्ड एक नम्बरमा छ भने दक्षिणी सुडान सबैभन्दा अन्तिम अर्थात् १५६ औं स्थानमा छ ।

एशियाको तथ्यांक हेर्दा भारतीयहरु भन्दा नेपालीहरु खुशी देखिएका छन् । नेपाल १०० औं स्थानमा हुँदा भारतचाहिँ ‘ह्याप्पीनेस इन्डेक्स’मा १४० औं स्थानमा छ । त्यसैगरी भुटान ९५, पाकिस्तान ६७, बंगलादेश १२५, श्रीलंका १३०, चीन ९३, म्यानमार १३१, सिंगापुर ३४, कतार २९ र अफगानस्तिान १५४ औं नम्बरमा छन् ।

सन् २०१९ को ‘ह्याप्पीनेस इन्डेक्स’ मा विकसित देशमध्ये बेलायत १५ र अमेरिका १९ औं स्थानमा छन् ।

सन् २००८ देखि भुटानकै जोडबलमा संयुक्त राष्ट्र सङ्घका केही मञ्चहरूमा कुल राष्ट्रिय खुसीबारे छलफल सुरु भएको हो । यसका साथै, केही पश्चिमा देशहरूमा पनि यसको प्रयोग सुरु भएको छ ।

भुटानमा कसरी नापिन्छ कुल राष्ट्रिय खुशी ?

सन् २००८ देखि लागू भएको भुटानको संविधानमा नै राज्यका नीति तथा सिद्धान्तअन्तर्गत ‘कुल राष्ट्रिय खुसीको खोजीलाई सशक्त बनाउने अवस्थाको प्रवद्र्धनमा राज्यले पहल गर्नेछ’ भनी उल्लेख गरिएको छ ।

आफ्नो संवैधानिक सिद्धान्तमा आधारित भएर भुटानले सन् २००८ मा पहिलोपटक कुल राष्ट्रिय खुसी सर्वे गर्‍यो । त्यसयता सर्वेले निरन्तरता पाए पनि यस्तो सर्वेको समय तालिका भने निश्चित छैन । सन् २०१० मा दोस्रो सर्वे भयो भने सन् २०१५ मा तेस्रो सर्वे भयो । अर्थात्, पहिलो र दोस्रो सर्वेको अन्तर दुई वर्ष मात्रै रहेकोमा दोस्रो र तेस्रो सर्वेको अन्तर पाँच वर्ष रह्यो ।

खुसी मापनका लागि भुटानले विभिन्न सूचक, मूल्यमान्यता र प्राथमिकता तय गरेको छ । तिनीहरूलाई मुख्यतः ९ क्षेत्रमा विभाजन गरिएको छ । जनताको खुशी नाप्ने ९ वटा ‘इण्डिकेटर’हरु यस्ता छन् –

१. मनोवैज्ञानिक सुस्वास्थ्य  २. स्वास्थ्य ३. समयको प्रयोग तथा सन्तुलन ४. शिक्षा ५. सांस्कृतिक विविधता तथा सामना क्षमता ६. सुशासन ७. सामुदायिक जीवन ८. पर्यावरणीय विविधता तथा सामना क्षमता ९.  जीवनस्तर ।

यी क्षेत्रहरूमा जम्मा ३३ सूचकाङ्कहरू सूचीकृत गरिएका छन् । हरेक सूचकाङ्कलाई फरक–फरक भार दिइएको छ ।

समयको प्रयोग, मनोवैज्ञानिक सुस्वास्थ्य, सामुदायिक जीवन र सांस्कृतिक विविधताजस्ता तत्व मानिसको आय तथा भौतिक उपभोगको मात्रामा निर्भर नहुने भुटानको तर्क छ ।

जापान सरकारको आर्थिक सहयोगमा सञ्चालन भएको सन् २०१५ को सर्वेमा ८ हजार ८७१ जना जनताको स्याम्पल छनोट गरिएको थियो । प्रश्नहरूको जटिलतालाई ख्याल गर्दै यसमा १५ वर्ष उमेरभन्दा माथिका मानिस मात्रै सहभागी थिए । स्याम्पलमा ग्रामीण र सहरी क्षेत्र साथै २० जोङ्खा (जिल्ला) कै प्रतिनिधित्व भएको दाबी गरिएको थियो ।

उक्त सर्वेमा तालिमप्राप्त तथ्याङ्क सङ्कलकलाई परिचालन गरी १० भागमा विभाजित एक प्रश्नावली मार्फत् सूचना सङ्कलन गरिएको थियो । यसमा ९ वटा क्षेत्रका लागि छुट्टाछुट्टै भाग लिएका थिए । बाँकी एक भाग जनसाङ्ख्यिक विशेषताबारे सूचना सङ्कलन गर्नका लागि थियो ।

प्रश्नावलीमा वस्तुगत, विषयगत र खुला गरी जम्मा १४८ प्रश्न थिए । यसअघिको सर्वेमा यसभन्दा धेरै प्रश्नहरू समावेश थिए । सर्वे सुरु गर्नु अगाडि ५ पटक प्रश्नावलीको परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment