Comments Add Comment

बिल गेट्स भन्छन्- एन्ड्रोइड खरीद नगर्नु जीवनकै ठूलो गल्ती

माइक्रोसफ्टका संस्थापक बिल गेट्सले गुगललाई एन्ड्रोइड अपरेटिङ्ग सिस्टम खरीद तथा विकास गर्ने मौका दिनु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् ।

यदि गुगलको एन्ड्रोइड सम्बन्धी योजनाका विषयमा सुरुवातमै पहिचान गर्न सकेको भए माइक्रोसफ्ट अहिले विश्वकै सबैभन्दा ठूलो कम्पनीको रुपमा हुने उनको भनाइ छ । तथापि माइक्रोसफ्टको अहिले पनि जबरजस्त पहिचान कायमै रहेको उनले बताएका छन् ।

भेन्चर क्यापिटल फर्म भिलेज ग्लोबलको एक कार्यक्रमका बेला गेट्सले यस्तो बताएका हुन् ।

‘मोबाइल प्लाटफर्ममा जित्नेले बजारमा प्रभुत्व जमाउँछ’

बिल गेट्स भन्छन्, ‘सफ्टवेयरको दुनियाँमा खासगरी मोबाइल प्लाटफर्ममा अगाडि हुनेले नै बजारमा राज गर्दछ । त्यसकारण मेरो सबैभन्दा ठूलो गल्ती भनेकै त्यसबेला चिजहरुलाई राम्रो ढंगले सम्हाल्न नसक्नु थियो । यो नै मूख्य कारण हो कि माइक्रोसफ्ट अहिले त्यो स्थानसम्म पुग्न सकेको छैन, जहाँ एन्ड्रोइड छ ।

एन्ड्रोइड खरीद नगर्दा करोडौँ डलर नोक्सानी

गेट्सका अनुसार त्यसबेला एप्पलका अलावा बजारमा केवल एउटा मात्र अर्को अपरेटिङ्ग सिस्टमको स्कोप थियो । त्यो खाली ठाउँलाई गुगलले मौका नगुमाइकन सजिलैसँग भरिदियो जुन काम माइक्रोसफ्टले पनि गर्न सक्दथ्यो । उनका अनुसार त्यो बेला केवल एउटा मात्र नन एप्पल अपरेटिङ्ग सिस्टमको लागि ठाउँ थियो र त्यसको मूल्य ४ खर्ब डलर थियो । एन्ड्रोइड खरीद नगर्नाले बिल गेट्सलाई करोडौँ डलरको घाटा भयो र त्यसमा गुगलले बाजी मार्यो ।

सन् २००५ मा ५ करोड अमेरिकी डलर मूल्यमा एन्ड्रोइडलाई गुगलले खरीद गरेको थियो । एन्ड्रोइड खरीद गर्नु पछाडिको आफ्नो योजनाका बारेमा गुगलले कहिल्यै पनि केही जानकारी जानकारी गराएको थिएन । एकातर्फ गुगलले गुपचुप रुपमा एन्ड्रोइड परियोजनामा व्यस्त थियो भने अर्कोतर्फ माइक्रोसफ्टचाहिँ  विन्डोज मोबाइल अपरेटिंग सिस्टममा काम गरिरहेको थियो । जसलाई माइक्रोसफ्टले सन् २०१० मा विन्डोज फोनमा पेश गरेको थियो ।

हालैको एक घण्टाको आफ्नो अन्तर्वार्ताका क्रममा गेट्सले माइक्रोसफ्टको सफलताको बारेमा पनि बयान गरे । उनका अनुसार विन्डोज तथा अफिस जस्ता प्रडक्टका कारण कम्पनीले नयाँ उचाई छोएको छ । यद्यपि गेट्सले एन्ड्रोइड खरीद गर्न नपाएकोमा आफ्नो पश्चाताप प्रकट गरिरहे । यदि एन्ड्रोइडलाई आफ्नो हातबाट फुस्किन नदिएको भए अहिले एन्ड्रोइडकै कारण माइक्रोसफ्ट विश्वको सबैभन्दा ठूलो कम्पनी बन्ने थियो भन्ने उनलाई लागेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment