Comments Add Comment

अलकत्रा आयातमा कडाई, ‘असारे विकास’ प्रभावित

सरकारलाई फाइदा कि घाटा ?

११ असार, काठमाडौं । असारे झरीमा धमाधम सडक पिच गर्ने क्रम अघिल्ला वर्षहरुमा जस्तो व्यापक यसपाली देखिएको छैन । तर, यो नसोच्नुस कि सरकार सुध्रिएर असारमा सडक पिच नगर्ने नीति लिएको हो ।

यसपाली पनि वर्षे झरीबीचमै सडक कालोपत्रे गर्ने तयारीमा थिए निर्माण व्यवसायी र विकासे अड्डाका हाकिम । तर, बिटुमिन अर्थात् अलकत्रा आयातमा गरिएको कडाईले उनीहरुको योजना तुहिएको छ । भन्सार विन्दुमा भारतीय र तेस्रो मुलकको बिटुमिन कडाइका साथ निरीक्षण हुन थालेपछि आयात प्रभावित भएको व्यवसायी बताउँछन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहको भनाइमा बिटुमिन आयातमा समस्या भएपछि धेरै विकास आयोजनाहरु प्रभावित भएका छन् । मागअनुसार बिटुमिन आयात नभएपछि मुख्य सडक तथा विमानस्थल आयोजनामा काम रोकिएको उनले जानकारी दिए ।

विशेषगरी भारतीय कम्पनीले आपूर्ति गर्ने बिटुमिनको आयात लगभग ठप्प भएको छ । भारतीय कम्पनीमार्फत नेपालमा बिटुमिन आपूर्ति गरेर बेचिरहेका नेपालका ४० भन्दा बढी फार्महरुले अहिले आपूर्ति गर्न सकेका छैनन् । सरकारले यो समस्यालाई तुरुन्तै सम्बोधन गर्नुपर्ने अध्यक्ष सिंहले बताए ।

आर्थिक वर्ष समाप्त हुनै लाग्दा निर्माण कार्यमा देखापरेका समस्याले देशभरका निर्माण व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको भन्दै महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

कहाँ-कहाँ बढी प्रभाव ?

हाल कलंकी–नागढुंगा सडक–खण्डको अन्तिम चरणमा पुगेको कामलाई पनि यसले प्रभावित गरेको ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनको दावी छ । यस्तै हुलाकी राजमार्गमा पनि बिटुमिन अभावले विभिन्न खण्डको काम रोकिएको निर्माण व्यवसायी बताउँछन् ।

मध्यपहाडी लोकमार्गसहित मुख्य रुपमा तराईका सडकमार्गहरुमा यो समस्याले बढी प्रभाव परेको छ । महासंघ अध्यक्ष सिंहका अनुसार बिटुमिनको मौज्दात नराख्ने र भारतीय कम्पनीबाट आपूर्ति गर्नेहरु बढी प्रभावित भएका छन् ।

मुख्यरुपमा तराईका सडक आयोजनाहरुले बिटुमिनको मौज्दात राख्ने गरेका छैनन् । भारतबाट नियमित आपूर्ति गर्दै काम चलाउनेहरु यतिबेला बिटुमिन नै नभएपछि हात बाँध्न बाध्य भएका छन् ।

सरकारलाई फाइदा कि घाटा ?

यसै पनि वर्षायाममा हुने यस्तो असार विकासको गुणस्तर कमजोर हुन्छ । यस्तो समयममा काम रोकिँदा निर्माण व्यवसायी र विकासे अड्डाका हाकिमहरुलाई छट्पटी भएको छ । तर, अब आर्थिक वर्ष सकिनै लागेकाले असारअघि बिटुमिन आपूर्ति सुचारु भएर यसै वर्षामा सडकमा खन्याउन सक्ने अवस्था भने टरेको छ ।

सडक विभागका एक अधिकारी बिटुमिन आयात रोकिँदा केही अन्तिम चरणमा पुगेका आयोजनालाई निकै प्रभाव परे पनि समग्रमा देशकलाई ठूलो घाटा नलागेको बताउँछन् ।

‘अब २० गतेपछि भूक्तानीका लागि दौडिनुपर्छ, त्यसैले अब १० दिनमा बिटुमिन आइहाले पनि ठूलो काम हुने सम्भावना छैन,’ ती अधिकारी भन्छन्, ‘वर्षामा काम हुन नपाएर देशले ठूलौ नोक्सानी पनि बेहोर्नुपर्ने होइन, बरु असारमै काम गर्ने परिपाटीमा बाध्यात्मक ब्रेक लागेको छ ।’

तर, विकास खर्च जतिसक्दो धेरै देखाउनुपर्ने बाध्यतामा रहेको सरकारलाई बिटुमिन अभावको कारण उत्पन्न परिस्थितिले पनि केही समस्या भने परेको छ ।

किन चर्कियो अलकत्रा अभाव ?

हाल नेपालमा धेरैजसो बिटुमिन भारतीय कम्पनीहरुबाट आउँछ । नेपाली आपूर्तिकर्ताले भारतीय उत्पादनको प्रमाणपत्रका आधारमा भारतबाट धेरै बिटुमिन भित्र्याउँछन् । यसको प्रमुख कारण हो, साफ्टा अनुसारको भन्सार दर । भारतमा उत्पादन भएको बिटुमिनमा ७.२५ प्रतिशत मात्रै भन्सार लाग्छ भने त्यसबाहेकका तेस्रो मुलकमा उत्पादित बिटुमिनमा १५ प्रतिशत ।

यसैलाई ध्यानमा राखेर भारतीय र नेपाली आपूर्तिकर्ताले तेस्रो मुलकबाट भारतमा आएका बिटुमिन पनि ‘भारतीय उत्पादन’ भन्दै नेपाल भित्र्याउने गरेका थिए । भन्सार दकर कम हुने भएकाले सेटिङमा भारतमा जारी उत्पतिको प्रमाणपत्र जारी गरेर उनीह्रुले बिटुमिन ल्याउने गरेका थिए ।

तर, वीरगञ्ज भन्सार कार्यालयले गत जेठ महिनमा ३ ट्रक विटुमिन नियन्त्रणमा राख्यो । कारण थियो, भारतीय भनिएको बिटुमिनको ड्रममा ‘इरान’ मा उत्पादित भनेर उल्लेख हुनु । यसैका आधारमा वीरगञ्ज भन्सार कार्यालयले उत्पत्तिको प्रमाणपत्रमाथि प्रश्न उठायो र पर्याप्त आधार पेश गर्न भन्यो । तर, आपूर्तिकर्ताले अझै सो बिटुमिन भारतमा उत्पादित हो भन्ने प्रमाणित गर्न सकेको छैन ।

त्यसलगत्तै इरान लगायतका मुलुकबाट भारतमा बिटुमिन ल्याएर नेपालमा सस्तो भन्सार दरमा भित्र्याइरहेका कम्पनीले आयात बन्द गरे । आफ्नो माल पनि समातिने त्रास फैलिएपछि बिटुमिन आयात ठप्प जस्तै भयो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता मनिष महतो आपूर्तिकर्तालाई पर्याप्त प्रमाण ल्याउन भनिए पनि नल्याएका कारण भन्सार विभागमा यसबारे के गर्ने भनेर लेखी पठाइएको बताउँछन् ।

‘भारतीय भनिएको उत्पत्तिको प्रमाणपत्र र भित्र्याउन खोजिएको बिटुमिनमा प्राविधिक रुपमा केही प्रश्न उठेका छन्,’ उनले भने, ‘आपूर्तिकर्ताले त्यसको जवाफ दिएको छैन । हामी विभागको जवाफ कुरिरहेका छौं ।’

उनले पछिल्लो सयमममा साफ्टा सुविधा लिएर भारतबाबाट आउने बिटुमिनको आयात घटेको जानकारी दिए । तर, तेस्रो मुलकुबाट १५ प्रतिशत भन्सार तिरेर आउने बिटुमिनको आयात निरन्तर भइरहेको प्रवक्ता महतोले बताए ।

महतो भारतीय बिटुमिन तेस्रो मुलुकबाट ल्याइने भन्दा गुणस्तरीय हुने बताउँछन् । तर, बाहिरबाट कमजोर गुणस्तरको बिटुमिन भित्र्याउने क्रम बढ्दा त्यसले नेपालको विकासको गुणस्तर पनि खस्काउँदै लगेको छ ।

कस्तो हुनुपर्छ बिटुमिन ?

सडक तथा धावनमार्ग पिच गर्दा प्रयोग हुने प्रमुख वस्तु हो, बिटुमिन । केन्द्रीय सडक प्रयोगशालामा परीक्षणका लागि आउने बिटुमिनहरु ५० ग्रेडभन्दा तलका समेत हुन्छन् ।

विज्ञहरुका अनुसार ५० ग्रेडभन्दा तलको बिटुमिन ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा मात्रै प्रयोग गर्न पाइन्छ । यो बिटुमिनको प्रयोग गर्दा गुणस्तर कायम हुँदैन । तर यस्तो बिटुमिन नेपालमा बिरलै मात्रै अस्वीकृत गरिन्छ ।

ठेकेदारहरुले यस्तो कमसल खालको बिटुमिनको प्रयोग गरेर पिच गर्ने गरेका छन् । जसका कारण सडकको पिच छिट्टै उप्कने गर्छन् ।

कुनै पनि सडक पिच गर्नुअघि बिटुमिन परीक्षण गर्नुपर्ने हुन्छ । यसरी परिक्षण भएको बिटुमिन उक्त सडकका लागि उपयुक्त भए वा नभएको बारेमा निर्णय गर्ने जिम्मेवारी इन्जिनियरको हुन्छ । तर इन्जिनियरहरुको नै साँठगाँठमा कम गुणस्तरको बिटुमिन प्रयोग गरेर सडक निर्माण गरिन्छ ।

इन्जििनियरहरुले नै फिल्डमा कमसल गुणस्तका बिटुमिन प्रयोग गरर प्रयोगशालामा भने उच्च गुणस्तरको बिटुमिन पठाउने प्रचलन छ । जसका कारण बिटुमिनको गुणस्तरबारे सरकारी रिपोर्ट पनि तथ्यपरक हुने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment