Comments Add Comment

क्लिन फिड बहस : विज्ञापन मात्रै बन्द गर्ने कि च्यानल पनि ?

भारतीय विज्ञापन नि:शुल्क विज्ञापन बजाउनैपर्छ भन्नु हेपाहा मानसिकता हो

यदाकदा मात्र सामाजिक सञ्जालमा आफ्ना धारणा राख्ने वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले सोमबार बेलुकी एउटा स्टाटस लेखे, जुन रातारात भाइरल भयो । अहिलेसम्म दुई हजार पाँच सय सेयर र २२ हजारभन्दा बढी लाइक पाएको यो स्टाटसमा आचार्यले विदेशी टेलिभिजनमा ‘क्लिन फिड’(विज्ञापनरहित प्रसारण) लागू गर्ने सरकारको नीतिगत तयारीप्रति दृढ समर्थन जनाएका छन् ।

उनले लेखेका छन्, ‘क्लिन फिडको विरोधमा टेलिभिजन च्यानलका विक्रेताहरुले २४ घन्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केही असर गर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु विज्ञापनरहित हुनु हाम्रो लागि राम्रो होइन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिकसहित नेपाली विज्ञापन उद्योग सबैको हित हुन्छ । नेपाल सरकारको यो हिम्मतिलो निर्णयमा हाम्रो साथ छ ।’

हरिबंशको उक्त स्टाटसले तताएको सामाजिक सञ्जाल अहिले पनि सेलाएको छैन । ‘क्लिन फिड’ एकाएक आमचासोको विषय बनेको छ । अधिकांसले यसमा सरकारलाई साथ दिएका छन् र पछि नहट्न सचेत गराएका छन् । लामो समयपछि सरकारले कुनै मुद्दामा बलियो जनसमर्थन पाएको छ । यही जनसमर्थनमा टेकेर साहसिक कदम चाल्ने अवसर सरकारका सामु छ ।

सरकारले गत वर्ष नै क्लिन फिडको प्रस्तावसहित आमसञ्चार नीति पारित गरेको थियो । त्यस बमोजिम बनाइएको ‘विज्ञापन नियमन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधयेक’ हाल संसदमा विचाराधीन छ । साउन १ गतेबाटै कार्यान्वयनमा ल्याउने भनिएको यही विधेयकलाई लिएर इन्टरनेट तथा केवुल व्यवसायीहरु विरोधमा उत्रेका हुन् । उनीहरुले आन्दोलनका नाममा २४ घन्टा विदेशी च्यानलहरु बन्द गराए, जबकि बन्द भएको अवधिको शुल्क उनीहरुले ग्राहकलाई छुट दिने छैनन् ।

क्लिन फिड भए के हुन्छ ?

क्लिन फिडको अर्थ विज्ञापनरहित टेलिभिजन च्यानल हो । अहिलेसम्म विदेशी च्यानलले नेपालको बजारमा निशुल्क विज्ञापन प्रशारण गरिरहेका छन् । क्लिन फिड लागू भएमा उनीहरुले विज्ञापनरहित सामग्री दिनुपर्ने हुन्छ ।

विश्वव्यापी अभ्यास हेर्दा कुनै पनि देशमा विदेशी च्यानलहरु दुई मोडलमा प्रशारण हुन्छन् । ‘पे च्यानल’ का रुपमा वा ‘फ्रि टु एयर’ मा । पे च्यानल हो भने त्यसका लागि ग्राहकले शुल्क तिर्नुपर्छ । तर, च्यानलले विज्ञापन बजाउन पाउँदैन । यसैलाई क्लिन फिड भनिन्छ । यदि ‘फ्रि टु एयर’ हो भने त्यसमा विज्ञापन बजाउन पाइन्छ । तर, ग्राहकबाट कुनै पनि शुल्क लिइँदैन । नेपालमा भने भारतीय च्यानलहरुले यी दुवै मोडल अपनाएका छैनन् । उनीहरुले एकातर्फ शुल्क पनि लिएका छन्, अर्कोतिर विज्ञापन हेर्न पनि बाध्य पारिरहेका छन् । सीएनएन, बीबीसी जस्ता अन्तर्राष्ट्रिय च्यानलहरु भने क्लिन फिडमा प्रशारण भइरहेका छन् ।

नेपालको विज्ञापन बजार अहिले अनुमानित ६ अर्बको छ । यसको ठूलो हिस्सा बहुराष्ट्रिय कम्पनीले ओगटेका छन् । तर, यी बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपाली सञ्चारमाध्यमले पाउँदैनन् । उनीहरुले भारतीय टेलिभिजनमा बजाउने विज्ञापनले नै नेपाली बजारलाई सम्वोधन गर्छ, किनकि अधिकांश नेपाली दर्शकले नेपालीभन्दा भारतीय टेलिभिजन ज्यादा हेर्छन् । यस हिसाबले नेपालको विज्ञापन बजारलाई सोझो घाटा भइरहेको छ ।

अहिले नेपाल सरकारलाई वार्षिक ७ लाख तिरेर विदेशी च्यानलहरु नेपालमा प्रशारण हुन्छन् । यही शुल्कबाट भारतीय टेलिभिजन सञ्चालकहरुले अर्बाैंको विज्ञापन देखाइरहेका छन् । क्लिन फिड लागू भएको खण्डमा त्यो बन्द हुन्छ र नेपालको बजारमा २ अर्बको विज्ञापन थपिने आँकलन गरिएको छ । यसबाट विज्ञापन एजेन्सी मात्रै नभएर नेपाली सञ्चारमाध्यमहरु पनि लाभान्वित हुनेछन् ।

विज्ञापनको बजार कुण्ठित हुँदा समस्यामा गुज्रिरहेका मिडियाले त्राण पाउन सक्छन् । अर्कोतर्फ नेपाली कलाकार तथा प्राविधिकहरुले काम पाउनेछन् । नेपाली साधन स्रोतको अधिकतम उपयोग हुनेछ । विज्ञापनको पनि स्तरवृद्धि हुनेछ ।

यसैसँग जोडिएको अर्को अत्यावश्यक विषय छ । त्यो हो, नेपाली टेलिभिजन च्यानलहरुमा प्रशारण हुने विज्ञापनमा विदेशी अनुहार । अहिले जेजति बहुराष्ट्रिय कम्पनीका विज्ञापन नेपाली च्यानलमा प्रशारण हुन्छन्, अधिकांशमा भारतीय सेलिब्रेटी (प्राय फिल्मी कलाकार र क्रिकेटर) ले अभिनय गरेका हुन्छन् । ती विज्ञापनहरु नेपालमा बनेका पनि हुँदैनन् । भारतमा भारतीय भाषामै बनेका विज्ञापनलाई नेपालीमा डविङ गरिने मात्र हो । यस्ता विज्ञापन भाषिकरुपमा अशुद्ध पनि हुन्छन् ।

अबको विज्ञापन नीतिले यसलाई सम्वोधन गर्नु अत्यावश्यक छ । नेपाली टेलिभिजन च्यानलमा आउने विज्ञापनमा नेपालमा बनेको हुनुपर्ने र नेपाली जनशक्ति प्रयोग गरिएको हुनुपर्ने दुईवटा प्रावधान थपियो भने त्यसले नेपाली कलाकारिता र विज्ञापन बजारको ठूलै कल्याण हुन्छ । बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा नै विज्ञापन बनाए भने भारतीय विज्ञापन कम्पनीले लैजाने पैसा नेपाली कम्पनीमा आउँछ । भारतीय सेलिब्रेटीले लिने पारिश्रमिक नेपाली सेलिब्रेटीले पाउँछन् । भलै उनीहरुको भन्दा कम किन नहोस । र, दर्शकले विज्ञापनमा विदेशी कलाकारलाई हेर्नुपर्दैन ।

टेलिभिजनको हकमा मात्र नभएर पत्रपत्रिकाको हकमा पनि यही व्यवस्था लागू गर्न सकिन्छ । अहिले पत्रिकाहरुमा आउने बहुराष्ट्रिय कम्पनीका विज्ञापनहरुमा भारतीय सेलिबे्रटीका ठूला–ठूला टाउका छापिएका हुन्छन् । उनीहरुका ठाउँमा नेपाली अनुहार नै प्रयोग भयो भने त्यसबाट नेपाली कलाकारहरुले काम र पैसा मात्र पाउँदैनन्, उनीहरुको स्टारडम पनि बढ्छ ।

नेपालमा विज्ञापन खेलाउन लायक सेलिबे्रटीहरु छैनन् भन्ने तर्क पनि सुनिन्छ । तर, यो सत्य होइन । नेपाली फिल्मभित्र अनमोल केसी, दयाहाङ राई, विपिन कार्की जस्ता स्टारहरुको लोभलाग्दो लोकप्रियता छ । हरिवंश आचार्यदेखि सिताराम कट्टल धुर्मुसम्सम्मका ठूलो फ्यान फलोइङ भएका हास्यकलाकारहरु छन् । पारस खड्का, सन्दिप लामिछाने लगायत युवाहरुको ढुकढुकी बनेका क्रिकेटरहरु छन् । अझ पछिल्लो समय त युट्युव र टिकटकले समेत थुप्रै सेलिबे्रटीहरु जन्माइरहेको छ । टिकटकमा एउटै नेपाली युवतीका ५० लाखसम्म फलोअर्स छन् । अरु कस्ता सेलिबे्रटी चाहियो ?

विज्ञापन रोक्ने कि च्यानल ?

‘क्लिन फिड’ एउटा व्यवसायिक विषय मात्र होइन । .व्यवसायिक विषय मात्रै हुँदो हो त यसले आम जनतालाई छुने थिएन । यो देशको राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय पनि हो ।

टेलिभिजनमार्फत कसरी नेपाली समाजमा विदेशी (मूलतः भारतीय) कला, संस्कृति र भाषाले जरो गाड्दै गइरहेको छ भन्ने हाम्रै आँखा अगाडि छर्लङ्ग छ । नेपाली भाषालाई हिन्दी भाषाले यसरी थिच्न थालेको छ, आजकाल स–साना बच्चाहरु पनि हिन्दी बुझ्न र बोल्न अभ्यस्त छन् । उनीहरु बाबुलाई ‘पापा’ भन्न सजिलो मान्छन् । उनीहरु नेपाली कलाकार चिन्दैनन्, तर भारतीय कलाकारबारे कण्ठ हुन्छ ।

टेलिभिजनले ल्याएको सांस्कृतिक असरको कुरा गर्दा, भारतीय चाडपर्वहरु नेपाली समाजभित्र जबरजस्त घुसिरहेका छन् । जस्तो– कि, विवाह अगाडि मेहन्दी लगाउने परम्पराकै रुपमा स्थापित हुन थालेको छ, जुन भारतीय सिरियलहरुको देन हो । दिपावलीमा रंगोली बनाउने चलन पनि त्यतैको आयातीत हो । दिपावलीलाई दिवाली भन्न, फागुपर्वलाई होली भन्न पनि भारतीय टेलिभिजनले नै बानी पारेका हुन् । हाम्रो आफ्नै भाइटीका हुँदाहुँदै राखी बान्ने प्रचलनमा नेपालीहरु रमाउन थालेका छन् ।

भारतीय टेलिभिजनबाट आउने सामग्री कस्ता छन् त ? न्यूज च्यानलहरुको कुरा गरौं ।

भारतीय न्यूज च्यानलहरु समाचारभन्दा पनि अफवाहका स्रोत हुन् । अपुष्ट र हावादारी कुरालाई समाचारका रुपमा सम्प्रेषण गरेर प्रपोगण्डा फैलाउनमा उनीहरु विश्वमै बदनाम छन् । भारतीय सिरियलहरु पनि अधिकांस समाजमा खराब सन्देश सम्प्रेषण गर्नेखालका हुन्छन् ।

यी सबै समस्याहरु क्लीन फिडले हल गर्न सक्दैन । यसको एक मात्र समाधान भनेको निश्चित विधाका भारतीय च्यानलहरुमा रोक लगाउनु नै हो । समाचारका नाममा गलत सूचनाको प्रदुषण फैलाउने र सिरियलका नाममा वालवालिकाहरुलाई बिगार्नेखालका च्यानलहरु बन्द गराइदिनु नै जाति हुन्छ । यसका लागि सरकारसँग अहिले सही मौका छ । खाली साहसिक निर्णयको खाँचो छ ।

नेपालमा पनि पछिल्लो समय दर्जनौं संख्यामा टीभी च्यानलहरु खुलेका छन् । मनोरञ्जनात्मक कार्यक्रमहरुको कमी छैन । प्रख्यात अन्तर्राष्ट्रिय रियालिटी शो नेपाल आइडल, को बन्छ करोडपति एपी वानले प्रशारण गरिरहेको छ । यस्तै हिमालय टेलिभिजनले भ्वाइस अफ नेपाल लगायत चर्चित रियालिटी शोहरु प्रशारण गर्दैछ । कान्तिपुर र इमेज टेलिभिजनले मनोरञ्जनात्मक सामग्री पस्किरहेका छन् । समाचार च्यानलहरु त झन् बग्रेल्ती छन् । अर्थात् दर्शकलाई छनोटको सुविधा प्रशस्त छ ।

यद्यपि, केही कमि पनि छन् । जस्तो बच्चाहरुका लागि कार्टुन वा मनोरञ्जनात्मक कार्यक्रमको अभाव छ । दोस्रो प्रभावकारी स्पोट्र्स च्यानल छैन । अहिले नेपालीले विदेशी च्यानलमा बढी हेरिने भनेको यिनै दुई विधा हुन् । जब माग सिर्जना हुन्छ, आपूर्ति पनि भई नै हाल्छ । यदि विदेशी च्यानलहरु बन्द भए यस्ता विधातर्फ पनि नेपाली टेलिभिजनहरुले आफ्नो स्तरवृद्धि गर्ने छन् र दर्शकले विदेशी च्यानलको तिर्खा बिर्सनेछन् ।

यदि सरकार क्लिन फिडमा अडिग रह्यो भने यसमा भारतीय संस्थापनले नै प्रत्यक्ष दबाव दिने निश्चित प्राय छ । यो दवावको सामना गर्न सरकारसित दृढ इच्छाशक्ति चाहिन्छ नै । केपी ओलीले पहिलो पटक प्रधानमन्त्री हुँदा पनि क्लिन फिडको नीति लागू गर्न खोजेका थिए । उनको नेतृत्वको मन्त्रिपरिषदको बैठकले यस सम्वन्धी निर्णय लिएको थियो । तर, यसमा भारतले ठूलै दबाव थोपर्‍यो । भारतीय टीभी च्यानलहरुले विज्ञप्ति निकालेर नेपालमा क्लिन फिड लागू गर्न नसक्ने बताए ।

अहिले पनि दबाव थोपर्न सुरु भइसकेको छ । संसदमा राष्ट्रिय जनता पार्टीले क्लीन फिड हटाउन संसोधन प्रस्ताव दर्ता गरेको छ । प्रष्ट छ, राजपाको काँधमा बन्दुक राखेर गोली हान्न खोजिएको हो । यसबाट पार नलागे भारतले सोझै दबाव दिन सक्छ । ०७२ सालको नाकाबन्दीका बेलामा केबुल व्यवसायीहरुले नै भारतीय च्यानलहरु बन्द गराउँदा तत्कालीन सञ्चारमन्त्री रहेका कांग्रेस नेताले उनीहरुलाई स्पष्टीकरण सोधेका थिए । ती कांग्रेस नेता अहिले सरकारमा छैनन्, तर छायाँ सरकारमा अवश्य छन् । फेरि पनि उनी र उनीजस्ता कांग्रेसी नेताहरु प्रयोग नहोलान् भन्न सकिँदैन । यस मुद्दामा अहिलेसम्म कांग्रेसका होनाहार भनिने नेताहरुले मुख खोलेका छैनन् ।

अन्य देशहरुमा क्लिन फिडमा प्रशारण गर्ने च्यानलले नेपालमा विज्ञापन बजाउनैपर्छ भन्नु हेपाहा मानसिकता नै हो । भारत आफैंले विदेशी टेलिभिजनमा क्लीन फिड लागू गर्छ, अनि नेपाललाई यो लागू नगर्न दबाव दिन्छ । नेपाललाई दबाव दिन उसले चलाउने अन्तिम अस्त्र भनेको भारतीय च्यानलहरुको प्रशारण रोक्ने हो । तर, त्यो भारतले कदापी गर्नेछैन । भारतीय च्यानलहरु नेपाली बजार गुमाउन कदापि चाहँदैनन् । त्यसैले यदि सरकार अडिग भरह्यो भने उनीहरु नाकको चालले क्लिन फिड लागू गर्न बाध्य हुनेछन् ।

यो कुरा केबुल वितरकहरुले महसुस गर्न सकेका छैनन् । उनीहरुको भय छ कि क्लिन फिड लागू भएमा या त भारतीय च्यानलहरुले नेपालमा प्रशारण नै बन्द गर्छन् यो महंगो शुल्क माग्छन् । उनीहरु स्पष्ट भए हुन्छ कि भारतीय च्यानलहरु कदापि नेपालको बजार छोड्न असम्भव छ । चेतावनीस्वरुप केही दिनलाई रोके भने पनि दीर्घकालीनरुपमा सक्दैनन् ।

टीभी च्यानलमार्फत नेपालमा कसरी भारतीय भाषा संस्कृतिको प्रबद्र्धन भइरहेको छ भन्ने त्यहाँको सरकारले पनि राम्ररी बुझेको छ । त्यसैले यदि वितरकहरुले अहिलेको शुल्कमा बढाएर च्यानल नकिन्ने अडान लिनुपर्छ । सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने उपाय यही नै हो ।

फेरि पनि आधारभूत प्रश्न भनेको क्लीन फिडमै पनि भारतीय च्यानलहरु प्रशारण गर्न दिने कि नदिने भन्ने हो । भारतीय टीभी च्यानलका लागि वर्षेनी एक अर्बभन्दा बढी रकम विदेशिइरहेको छ । अहिले भारतीय च्यानल हेर्न नपाउँदैमा नेपालीहरु पछि पर्ने अवस्था छैन । देशभित्र इन्टरनेटको तिब्र विस्तारसँगै नेपालीहरुको घरघरमा फेसबुक र युट्युव प्रवेश भइसकेको छ । टेलिभिजनमा झुम्मिने संस्कृति अहिले पहिलोजस्तो छैन । हात–हातमा मोबाइल छन् । त्यसमा युट्युव खोलेर कुनै पनि समयमा आफूले चाहेको सामग्री हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment