Comments Add Comment

भीआईपीको पेलाइमा ट्राफिक प्रहरी, जागिर खाइदिन्छु भनेर धम्क्याउँछन्

Photo Credit : ट्राफिकले लक गरेको गृह मन्त्रालयका कर्मचारीको गाडी

१२ जेठ, काठमाडौं । गत बुधबार सिंहदरबार बाहिर ‘नो पार्किङ’ मा राखिएको गृह मन्त्रालयका उपसचिव कृष्ण शर्मा चढ्ने गाडीमा एक ट्राफिक प्रहरी जवानले ह्विल लक लगाइदिए । केहीबेरको पौठोजोरीपछि मात्रै जवानले पांग्रामा ‘लक’ लगाउन सकेको घटनाले सामाजिक सञ्जालमा चर्चा बटुल्यो ।

यद्यपि, ट्राफिक प्रहरीका लागि यो नौलो घटना थिएन । विशिष्ट (भीआईपी) तथा अतिविशिष्ट (भीभीआईपी) का सवारीले ट्राफिक नियमलाई उल्लंघन गर्दा कारवाही गर्नु ट्राफिक प्रहरीका लागि सँधै चुनौतीको विषय हुन्छ । दैनिकजस्तो यस्ता घटनामा भीआईपीसँग ट्राफिकको लफडा परिरहने एक प्रहरी बताउँछन् ।

भीआईपीले ट्राफिक नियम मिच्ने संस्कार पुरानो हो । यस्ता कथित भीआईपीमा नेता मात्र हुँदैनन्, उच्च तहका सरकारी कर्मचारीदेखि पत्रकारसम्म हुन्छन् । उनीहरु आफूहरुलाई ट्राफिक नियमले छुनु नहुने जस्तो व्यवहार देखाउने ती प्रहरीको भनाइ छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले तीव्र गतिमा आएर लेन मिच्दै स्कुटरलाई ठक्कर दिएको भिडियो भाइरल भएको थियो । गोप्रो क्यामेराबाट सर्वसाधारणले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चन्दले घटनाबारे दुःख व्यक्त गरे । तर, सबै घटनाको भिडियो खिचिएको हुँदैन । त्यसैले तिनीहरु बाहिर आउँदैनन् ।

ट्राफिक प्रहरीले सडकमा भीआईपीका र त्यसका अगुवा र पछुवा गाडीबाट निरन्तर सास्ती भोगिरहेकै छ । विभिन्न मन्त्रालयका सचिव, सहसचिव, उपसचिव र अधिकृतसहित पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्रीहरु, मेयर, उपमेयर, सांसदलगायत चढ्ने गाडीले पनि सडकमा गुड्दा चर्को रवाफ प्रदर्शन गर्छन् ।

केही सयमअघि पूर्वयुवराज पारसले तीव्र गतिमा गाडी चलाउँदा थापाथली चोकमा खटिएकी एक ट्राफिक जवानको थोरै सावधानीका कारण मात्रै ज्यान जोगिएको थियो ।

लेन मिच्दै नागबेली गरी चलाउने, गति तीव्र गर्ने, अस्वभाविक रुपमा ओभरटेक गर्ने, जेब्रा क्रसिङमा यात्रु छलेर हुँइकाउने, मापसे गरेर गाडी चलाउने लगायतका उश्रृङ्खल गतिविधिको मारमा सर्वसाधारणसँगै ट्राफिक प्रहरी पनि पर्ने गरेका छन् ।

‘नो पार्किङ जोन’ लगेर सरकारी गाडी पार्क गर्ने क्रम पछिल्लो समयमा बढेको ट्राफिक प्रहरीको पनि निश्कर्ष छ । ‘सरकारी मान्छे हुँ’ भन्ने उच्च मनोबलका कारण पैदलयात्रु हिँड्न बनाइएको फुटपाथमा लगेर पार्क गर्ने ट्रेन्ड अझै मौलाउँदो छ ।

आफू भीआईपी भएकै कारण ट्राफिक प्रहरीसँग अटेरी गर्ने प्रचलन भने पुरानै भएको बताउँछन्, पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु । भीआईपी भएकै कारण नियम नमान्ने संस्कार ठीक नभएको उनको भनाइ छ ।

पूर्वट्राफिकका अनेक अनुभव

हाछेथुले पटक–पटक सडकमा त्यस्ता घटना व्यहोरेका छन् । एकपटक बालाजुमा तत्कालीन राजा विरेन्द्र एक आफन्तको बिहेभोजमा सहभागी हुन पुगेका थिए । सो भवनमा राजा वीरेन्द्रको सवारी मात्रै प्रवेश गर्न अनुमति दिने माथिको आदेश थियो ।

राजाको गाडीपछि तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहको गाडी पनि आयो । हाछेथुले रोकेर भित्र जान अनुमति नभएको भन्दै बाहिर पार्क गर्न अनुरोध गरे । तर, ज्ञानेन्द्रले सवारी जबरजस्ती गेटभित्र हुल्न खोजे । हाछेथु गेट लगाएर बीचमा खडा भइदिए । हाछेथुको जबरजस्त व्यवहार देखेपछि ज्ञानेन्द्रले गाडी फर्काए ।

भीआईपीको सामना गर्नुपरेको अर्को अनुभव पनि रोचक छ हाछेथुको । एकपटक एकजना पाटन घर भएका पूर्वमन्त्रीले मापसे गरेर सवारी चलाएको भेटियो, उनले रोकेर चिट काटे, अनि सवारी छाडेर जान आग्रह गरे । तर, ती पूर्वमन्त्रीले फूर्ति देखाएर जागिर खाइदिने धम्की दिए ।

तर, हाछेथु टसमस भएनन् । ती पूर्वमन्त्रीले एकजना डीआईजीलाई सीधै फोन लगाएर लाउड स्पिकरमा कम्प्लेन गरे । तर, डीआईजीले मापसेको केसमा त केही गर्न नसकिने जवाफ दिएपछि उनी गले ।

ट्राफिक प्रहरीका पूर्व डीआईजी केशव अधिकारीसँग पनि यस्ता धेरै अनुभव छन् ।

एकपटक बबबरमहलका एक बिशिष्ट अधिकारीले उल्टो लेनमा अनधिकृत तवरले पार्किङ गरे । ट्राफिक प्रहरीले सो गाडी उठाएर बग्गीखाना लग्यो । गाडी लिन पुगेका ती भीआईपीले डीआईजी अधिकारीलाई ‘माथि रिपोर्ट गर्छु’ भन्दै थर्काए । डीआईजी अधिकारीले अडान लिएपछि उनले हार माने र गल्ती स्वीकारेर जरिवाना तिरेर फर्किए ।

सजिलो छैन ट्राफिकलाई

ट्राफिक अधिकारीहरुको अनुभवमा यस्तो समस्या नयाँ होइन, तर पछिल्लो सयममा भीआईपी भएकै कारण ट्राफिक नियम मिच्दै ट्राफिक प्रहरीको मनोबल गिराउने र सर्वसाधारणलाई दुःख दिने प्रवृत्ति मौलाएको देखिन्छ ।

पूर्व ट्राफिक प्रहरी निरीक्षक हाछेथुका अनुसार माथिल्लो ओहोदामा रहने भन्दा सडकमा खटिने जवानहरुले यस्तो समस्या बढी खेप्नुपर्छ । भीआईपी भएकै आडमा जागिर खाइदिने धम्की दिने र गल्तिबाट उन्मुक्तिको प्रयास गर्नेहरु अहिले प्रशस्तै भेटिने कालिमाटीमा ट्राफिक व्यवस्थापन हेरिरहेका एक ट्राफिक प्रहरीले बताए ।

‘तर, हामीलाई जो भए पनि ट्राफिक नियम मिच्नेलाई नछोड्न भनिएको छ, हामी त्यसकै लागि उनीहरुसँग सवाल–जवाफ गर्छौं,’ उनी भन्छन्, ‘भीआईपी मात्रै हैन, भीआईपीका आफन्तले पनि समातिएपछि रवाफ देखाएर मनोबल गिराउन खोज्छन् । अडान लिएपछि झगडा नै गरेर उम्किन खोज्छन् ।’

हाछेथु अहिले सडकमा नियम मिच्नेलाई छुट दिनुपर्ने बाध्यात्मक अवस्था नरहेको बताउँछन् । ‘ट्राफिकको गतिविधिलाई हेरक समयमा सर्वसाधारणले हेरिहरेका हुन्छन्, उसलाई कुनै गल्ती गर्ने छुट हुँदैन,’ उनी भन्छन्, ‘अहिले सडकमा नियम मिच्ने जो भए पनि कारवाही गर्न सकिन्छ भन्ने मनोबल ट्राफिक प्रहरीमा छ । त्यसैकारण भीआईपी भएकै कारण सान देखाउन खोज्नेसँग कहिलेकाहीँ सडकमै संघर्ष पनि हुन्छ ।’

हाछेथु अहिले पनि साइरन बजाउँदै आइपुग्ने भीआईपीहरु ट्राफिक व्यवस्थापनको मूल चुनौती बनेको बताउँछन् । पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, मन्त्रीहरुले समेत साइरन लगाउँदै हिँड्दा ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा समस्या भोग्नु परिरहेको उनको भनाइ छ ।

आफ्नो कार्यक्रम र भेटघाटका लागि तोकिएको समयसम्म घरमै टिभी हेरेर बस्ने अनि हतारमा निस्किएर साइरन लगाउने ‘भीआईपी कल्चर’लाई कम गर्नुपर्ने उनको सुझाव छ ।

‘अहिले प्रहरी महानिरीक्षकज्युले नै आफ्नो गाडी जाममा परे जाममै छोडिदन र नियमित सवारी आवागमन रोकेर आफ्नो अगाडि नतान्न भन्नु भएको छ,’ उनी भन्छन्, ‘अरु भीआईपीहरुले पनि यस्तो कुरालाई ध्यानमा राखिदिए राम्रो हुन्थ्यो ।’

आक्रोशजति ट्राफिकमाथि

अहिले भुतपूर्वहरु मात्रै हैन, राष्ट्रपति प्रधानमन्त्रीसहित कार्यबाहक विशिष्ट श्रेणीका व्यक्तिको सवारी पनि उत्तिकै आलोचित छ ।

पूर्वट्राफिक प्रहरी डीआईजी केशव अधिकारी भीआईपी सवारीलाई व्यवस्थित नगर्दा जनतामा थुप्रिएको आक्रोश ट्राफिक प्रहरीमाथि नै खनिने गरेको बताउँछन् ।

‘लैनचौरमा केही समयअघि राष्ट्रपतिको सवारीको अवज्ञा भएको घटनाले मान्छेमा भीआईपीका कारण सडकमा सास्ती भोग्नुपर्दा कति उकुसमुकस भएको छ भन्ने देखाउँछ,’ उनी भन्छन्, ‘त्यो दुःखद् घटना थियो, तर जनताको सहनशक्तिभित्र थुप्रएिको आक्रोसको एउटा विष्फोट नै थियो ।’

उनी बिहीबार भएको घटनाले पनि अहिलेको गृह प्रशासन प्रहरीको मनोबल उठाउनुको साटो रसातालमा पुर्‍याउन लागेको छ भन्ने पुष्टी भएको बताउँछन् ।

‘अहिले ट्राफिकसहित सुरक्षा संयन्त्रलाई कमजोर पार्न खोजिँदैछ, त्यसो हुँदा बिहानदेखि रातिसम्म सर्वसाधारणले सडकमा झनै बढी सास्ती भोग्नुपर्छ,’ पूर्वडीआईजी अधिकारी भन्छन्, ‘सडकमा आफ्नो दम्भ प्रदर्शन गर्ने, सुरक्षा संयन्त्र आफ्नो पकडमा छ भन्दै सुरक्षाकर्मीलाई नै हेप्ने र आफ्नो गोजीको कर्मचारीसरहको व्यवहार गर्न अहिलेको सिभिल सुप्रिमेसी उद्यत देखिन्छ ।’

उनी सडकमा नै हैकमी प्रवृत्ति देखाउने भीआईपीहरुका कारण सवारी व्यवस्थापन बिग्रिएर जनताले दुःख पाइरहेको बताउँछन् । प्रत्यक्ष रुपमा जनताले थाहा नपाए पनि १० देखि १५ प्रतिशत सवारी व्यवस्थापनको समस्या भीआईपीका कारण नै सिर्जना हुने अनुभव अधिकारीको छ ।

‘२०६५ सालमै प्रशासन पुर्नसंरचना आयोगले काठमाडौं उपत्यकामा २ हजार ट्राफिक चाहिन्छ भन्यो, १३ वर्षपछि आज बल्ल १ हजार देखि १२ सय मात्रै दरबरन्दी छ, ट्राफिक लाइट, पर्याप्त रोड मार्किङ लगायतका रोड फर्निचर पनि उपलब्ध छैन,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा भीआईपीको उश्रृङ्खलपन पनि सडकमै पोखिन्छ, सबैका कारण जनताले सास्ती भोग्दा उत्पन्न आक्रोशको तारो ट्राफिक प्रहरी बनेको छ ।’

सडक पूर्वाधारको अवस्था दयनीय हुँदा सवारी आयातको नीति खुकुलो छोडेर पनि सरकारले ट्राफिकमाथि नै कार्यभार थपिरहेको जानकारहरु बताउँछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्त सवारीसाधनले ट्राफिक नियम मिच्दा त्यसको मुख्य जिम्मेवार सम्बन्धित सवारीको चालक हुने बताउँछन् । त्यसैका आधारमा चालकलाई नै कारवही गर्ने गरिएको उनको भनाइ छ ।

ट्राफिक प्रहरी पनि छैन चोखो

यता कतिपय ट्राफिक प्रहरीले चाहिँ भीआईपीहरुबाट पाएको सास्तीको झोक सर्वसाधारणमाथि पोख्छन् । ट्राफिकले आफूहरुमाथि मर्यादित व्यवहार नगर्ने र कतिपयले अपशब्दसमेत प्रयोग गर्ने धेरै गाडी चालकहरुको गुनासो हुन्छ ।

‘भीआईपी भनेपछि थरर हुन्छन्, अनि हामीलाई अनावश्यक दुख दिन्छन्,’ एक बस चालकले भने ।

भीआईपी भनेर कुनै छुट नहुने ट्राफिक प्रहरीका अधिकारीले बताउने गरे पनि व्यवहारमा भने त्यस्तो देखिँदैन । सडकमा खटिएका ट्राफिक प्रहरीबाट पहुँचवालाहरुलाई फरक व्यवहार हुने गरेको सर्वसाधारणले गुनासो गर्छन् ।

मोटरसाइकल चालक रवि श्रेष्ठ भन्छन्, ‘हामीलाई मात्रै हो थर्काउने, फलानो मेरो आफन्त हो भनेर शक्तिशालीको नाम लिएपछि ट्राफिक प्रहरीको टोन चेन्ज हुन्छ ।’
तर, एसएसपी वसन्त पन्त भने ट्राफिक प्रहरीले सबै किसिमको गाडीलाई एकै नजरले हेर्ने दावी गर्छन् ।

‘नियम उल्लंघन भएपछि जो पनि कारवाहीमा पर्छन्,’ उनी भन्छन्, ‘गाडीमा भीआईपी छ छैन, हाम्रो सवाल होइन, सवारीले नियम उल्लंघन गर्‍यो कि गरेन भनेर हेर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment