Comments Add Comment

पीडित परिवारले भेट्टाएको थियो आक्रमणकारीको मोटरसाइकल

१३ असार, काठमाडौं । जेनिसामाथि शंकास्पद सिरिन्ज आक्रमण भएको महिना दिन नाघिसकेको थियो । तर, आक्रमणकारी पक्राउ परेन । बरू अरू महिलामाथि पनि त्यस्तै प्रकृतिका आक्रमण भएको खबर आउन थाल्यो ।

यसले जेनिसा मात्र होइन, उनलाई सान्त्वना दिइरहेका परिवारका सदस्यहरू पनि तनावमा परे । प्रहरी कहाँ गएर सीसीटीभी फुटेज हेरे, प्रहरीसँग समन्वय गरेर उनीहरु आफैं पनि आक्रमणकारीको खोजीमा निस्किए । घटनामा प्रयोग भएको मोटरसाइकलको नम्बर त थाहा थिएन तर, त्यसमा भएको स्टिकर याद थियो । त्यसैले निलो रंगको मोटरसाइकल देख्यो कि उनीहरू आँखा ठूलो बनाउँथे ।

जेनिसाको देवरका अनुसार घटनामा प्रयोग भएको मोटरसाइकलको ह्याण्डिल सिल्भर कलरको थियो । ‘लेग गार्ड’ पनि त्यस्तै । १५० सीसीको पल्सर मोटरसाइकलको अगाडि र पछाडि दुबैतिर स्टिकर पनि टाँसिएको थियो ।

बिहीबार साँझ ६ बजे जेनिसाका श्रीमानलाई फोन आयो, ‘दाइ, भाउजुलाई सिरिञ्ज हान्ने मान्छे चढेको जस्तै बाइक भेटियो ।’ प्राय मोटरसाइकल उस्तै हुने भएकाले ढुक्क हुन सकेनन् तर, झिनो आशा राखेर प्रहरीलाई खबर गरे र महाराजगञ्जतर्फ लागे । महाराजगञ्जको एउटा क्याफेको पार्किङमा थियो मोटरसाइकल । साँझ ७ बजेदेखि जेनिसाका देवर मोटरसाइकल कुरिरहेका थिए । १० बज्न लाग्दासम्म कोही आएनन् । प्रहरी पनि त्यतिञ्जेल पुगिसकेको थियो ।

आधा रात भइसक्दा पनि मानिस नआएपछि उनीहरु निराश थिए । त्यही बेला मोटरसाइकल पार्किङ गरिराखेको ठाउँकै रेस्टुरेण्ट बन्द भयो ।  रेस्टुरेण्ट बन्द गरेर निस्केका एक युवक आएर मोटरसाइकल चढे । त्यही बेला प्रहरीले उनलाई छोप्यो । रेस्टुरेण्टका सञ्चालक सन्तोष कार्की पक्राउ परे ।

त्यसबेलासम्म पनि कार्की आक्रमणकारी हुन् भन्ने यकिन भइसकेको थिएन । सोधपुछको लागि उनी महानगरीय प्रहरी परिसर टेकु लगिए । त्यसैले घटनाबारे कसैलाई जानकारी दिइएन । शुक्रबार बिहान जेनिसाका श्रीमानलाई प्रहरीबाट फोन आयो । सन्तोषले चारवटा घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले बताए ।

त्यसपछि जेनिसा र उनको परिवारले राहत महसुस गर्‍यो तर, आक्रमणकारीले ढलानको काँटीले आक्रमण गरेको बताएका कारण विश्वस्त हुन सकेका छैनन् । भन्छिन्, ‘सिरिञ्ज नै हो भन्ने लागिरा’छ । डर रत्तिभर कम भएको छैन ।’

त्यो स्टिकर, जसले मोटरसाइकल चिनायो

जेनिसाको देवरका अनुसार घटनामा प्रयोग भएको मोटरसाइकलको ह्याण्डिल सिल्भर कलरको थियो । ‘लेग गार्ड’ पनि त्यस्तै । १५० सीसीको पल्सर मोटरसाइकलको अगाडि र पछाडि दुबैतिर स्टिकर पनि टाँसिएको थियो ।

जेनिसाका देवरले महाराजगञ्जमा मोटरसाइकल देख्दा सबै मिल्यो तर, पछाडि स्टिकर थिएन । स्टिकर भर्खरै निकालिएको जस्तो देखिएपछि शंका गरेको उनले बताए ।

सन्तोष हरेक दिन राति अबेरसम्म रेष्टुरेन्टमा बस्थे । बेलुका महाराजगञ्जबाट कालिमाटी हुँदै घर जान्थे । कहिले उनको साथमा श्रीमती हुन्थिन् त कहिले एक्लै ।

यो पनि पढ्नुहोस ‘काँटीले घोचेको विश्वास छैन, सिरिञ्ज नै हुन सक्छ’

एक्लै भएको बेला उनले बाटोमा भेटिने महिलाहरूमाथि आक्रमण गरेको प्रहरीलाई बयान दिएका छन् । प्रहरीलाई दिएको बयान अनुसार कार्कीले बैशाखको अन्तिम साता राति १० बजे पहिलोपटक एक महिलालाई टार्गेटमा पारे । त्यतिबेला टायरभित्र राखिने तारले आक्रमण गरेको बयान दिएका छन् ।

त्यसपछि जेठ १८, २९, ३० र ३२ गते पकनाजोल, डल्लु र ढल्कु क्षेत्रमा गरी सात महिलामाथि तीखो वस्तु प्रहार भएको छ । तर, सन्तोषले चार जनालाई मात्र आक्रमण गरेको बताएका छन् । आक्रमणमा परेका अरु महिलालाई कस्ले तिखो वस्तु प्रहार गर्‍यो ? त्यसको जवाफ अझै आइसकेको छैन ।

बिहीबार राति पक्राउ परेपछि कार्कीले आफूले प्रयोग गरेको ढलान किला पनि देखाए । त्यो एक इञ्चको ढलान किला छ । आक्रमण गरेर टंकेश्वर पुलमा किला फ्याँकेको भन्दै उनले प्रहरीलाई टंकेश्वर पुलमा लिएर गएका थिए । त्यहाँ ढलान किला पनि भेटियो । जेनीको श्रीमान भन्छन्, ‘किलाले हानेको हुन सक्दैन । त्यस्तो रफ्तारमा आएर एक इञ्चको किला हान्दा ठूलो घाउ चोट हुनसक्छ तर, जेनिसाको घाउ सिरिन्जले घोचेजस्तो सानो छ ।’

महिलामाथि भएको आक्रमणको सीसी टीभी फुटेज

एक महिलामाथि दुई पटक आक्रमण

महानगरीय प्रहरी परिसरमा पुगेकी एक महिलाले आफूमाथि दुई पटक आक्रमण भएको भन्दै उजुरी दिएकी छिन् ।

तर, अहिले पक्राउ परेका सन्तोषले आक्रमण गरे या अरुले उनी बेखबर छिन् । घटनाबारे ढिलो जानकारी पाएकाले उनलाई एचआईभी विरुद्दको खोप पनि दिइएको छैन । त्यसैले अन्य पीडित भन्दा उनी ज्यादा डरमा छिन् ।

चैतको अन्तिम साता आफ्नो श्रीमानसँग होटलको काम सकेर फर्कदा उनको हिपमा आक्रमण भएको थियो । त्यतिबेला उनले खासै ध्यान दिइनन् । दुई सातापछि सिरिन्ज आक्रमणको खबर आएपछि उनी झस्किइन् । उनी डराउँदै टेकु अस्पताल पुगिन् । तर, ६ महिनाको गर्भवती भएकाले उनलाई एचआईभी विरुद्दको औषधि चलाउन नमिल्ने चिकित्सकले बताए ।

‘म मात्र होइन, मेरो पेटको बच्चालाई पनि खतरा होला भनेर एकदम डर लागेको छ’ निराश हुँदै ती महिला भन्छिन्, ‘काँटीले हानेको जस्तो पटक्कै विस्वास लाग्दैन । केही हुने हो कि भनेर एकदम आत्तिएको छु ।’

यो पनि पढ्नुहोस यी हुन् महिलाहरुमाथि काँटी घोप्ने आक्रमणकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment