Comments Add Comment

‘आइफा अवार्ड’बारे के भन्छन् नेपाली कलाकार ?

१६ असार, काठमाडौं । यतिबेला नेपाल सरकारको एउटा निर्णयप्रति चलचित्र क्षेत्रका कलाकारले गुनासो पोखिरहेका छन् । नेपाल सरकारले काठमाडौंमा भारतको प्रतिष्ठित आइफा अवार्डको २० औं संस्करण आयोजना गर्ने र त्यसका लागि आर्थिक सहायता दिने निर्णय गरेपछि यसबारे बहस सुरु भएको छ ।

नेपालमा आइफा अवार्ड हुनु राम्रै भएता पनि कलाकारहरुको आक्रोश बढ्नुको कारणचाहिँ सरकारले नै बलिउडका कलाकारका लागि खाने बस्ने, आउने र जाने व्यवस्था गर्न लागेकोमा देखिएको छ । नेपालमा यस्तो अवार्डको आयोजना हुनु राम्रै भए पनि सरकारले आर्थिक सहायता दिने निर्णय गर्नु आलोच्य विषय भएको कलाकारहरुको प्रतिक्रिया छ ।

सरकारले चाहिँ पर्यटन प्रवर्द्धनका लागि यो कार्यक्रमले फाइदा पुग्ने बताएको छ । पर्यटन बोर्डका अधिकारीहरु यो अवार्ड नेपालमा आयोजना हुनु ठूलो अवसर भएको र यस्तो अवसर ५० वर्षमा पनि नआउने दाबी गर्छन् ।

तर, कलाकारहरु सरकारी दाबीसँग सहमत छैनन् । सरकारले स्वदेशी कलाकारहरुलाई आफ्नो निर्णयमा ‘कन्भिन्स’ गराउन सकेको छैन ।

हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा) ले आफ्नै पारामा प्रतिक्रिया दिए, ‘यो त आफ्नो घरकी श्रीमतीलाई म्याक्सी किन्न नखोज्ने, अनि छिमेकीलाई ट्याक्सी किन्न खोजिदिएको जस्तो भयो !’

यसै सन्दर्भमा हामीले कलाकारहरु भुवन केसी, करिष्मा मानन्धर, जितु नेपाल र केदार घिमिरेसँग छोटो प्रतिक्रिया लिएका छौं ।

यो व्यापारिक अवार्ड हो : भुवन केसी

मैले पनि नेपालमा आइफा अवार्ड आयोजना हुन लागेको सुनें । नेपालमा भारतको प्रतिष्ठित अवार्ड हुनुलाई नराम्रो भन्न मिल्दैन । यस्तो अवार्डहरु नेपालमा भित्रनुपर्छ । हामीले पनि विदेशमा गएर अवार्ड गरेका छौं । तर, मेरो आपत्ति पनि सरकार आयोजक बन्नु र ठूलो रकम अवार्डका नाममा खर्च गर्नुमा नै छ ।
यो व्यापारिक अवार्ड हो । अन्य देशमा आइफा अवार्ड हुँदा पनि उनीहरु आफैंले खर्च गर्छन् । यसैले आइफा अवार्डको नाममा सरकारी कोष खर्च गर्नु गलत कुरा हो । नेपाल सरकारले एउटा विदेशी अवार्डका लागि यति ठूलो रकम खर्च गर्नु गलत हो । उनीहरुको सुरक्षा, उनीहरुका लागि व्यवस्थापनको काम गराैँ। तर, पहिले आफ्नो पूर्वाधार पनि तयार गर्नतर्फ लाग्नुपर्छ ।

अवार्डमा आउने कलाकारलाई स्वागत गर्न हामी तयार हुनुपर्छ । तर, नेपाल सरकारले नै पैसा दिएर खर्च गर्नु विदेशी अवार्डका लागि स्वीकार गर्न सकिने कुरा होइन ।

आफ्नै देशको चलचित्रलाई प्रोत्साहन गर्न नसकेको अवस्था छ : करिश्मा मानन्धर

मैले के सुनेभन्दा धेरै ठूलो रकम दिएर हामीले विदेशी अवार्डलाई नेपालमा बोलाइरहेका छाैँ। आफ्नै देशको चलचित्रलाई यति प्रोत्साहन गर्न नसकेको अवस्थामा, यसै समृद्ध रहेको चलचित्र क्षेत्रलाई बोलाएर खर्च गर्नु सान्र्दभिक होइन । अन्य कलाकारजस्तै म यसमा समर्थन गर्छु ।

सरकारले भिजिट नेपालका लागि अन्य थुप्रै कार्यक्रम बनाएको होला, ठूलो रकम खर्च गरेको होला । हामी अरु तरिकाले पनि भिजिट नेपालका लागि लाग्न सक्छौं । मेरो आपत्ति अवार्ड आयोजनामा होइन, ठूलो रकम विदेशी अवार्डका लागि गर्न लागेकोमा हो ।

भिजिट नेपालका नाममा कुनै देशको अवार्डलाई यति रकम खर्च गर्नु गलत हो । पर्यटन प्रवद्र्धनमा फाइदा पुग्ला, तर यत्रो रकम खर्च गर्नु औचित्य लागेन । देशको आन्तरिक पर्यटन विकास, यहाँका स्थानहरुको पूर्वाधारमा काम गर्दा राम्रो हुन्छ ।
मलाई आइफा अवार्ड नेपालमा आयोजना हुँदा नेपाली कलाकारलाई पनि असर गर्छ भन्ने लाग्छ । हामीले नेपाली कलाकारलाई अगाडि बढाउनका लागि कुनै पनि काम गरेका छैनाैँ । बी ग्रेडका बलिउड कलाकार आउँदा पनि नेपाली कलाकारलाई कुन तरिकाले पछाडि पारिन्छ भन्ने सबैलाई थाहा भएको कुरा हो । मैले पूर्वाग्रही भएर भनिरहेको छैन, तर यो अवार्डमा यत्रो रकम खर्च गर्नु गलत हो ।

हामी प्राविधिकरुपमा चुक्याै‌ँ : जितु नेपाल

नेपालमा आइफा अवार्ड हुनुपर्छ । किनकि, विश्वमै नाम कहलिएका कलाकारलाई स्वागत गर्न पाउँदा म खुशी छु । तर, यो व्यवसायिक अवार्ड हो । अवार्डको सुरक्षा, व्यवस्थापन हामीले मिलाउनुपर्छ । तर, नेपाल सरकार नै आयोजक बन्ने, लगानी गर्ने काम गलत हो । यसका लागि हाम्रो देश तयार छ जस्तो मलाई लाग्दैन ।

नेपालीहरुले किड्नी बेचेर भात खानु परेको छ । तर, विदेशी अवार्डलाई यत्रो रकम दिन खोज्नु सुहाएन कि भन्ने हो

यसका लागि पहिले पूर्वाधार बनाउन आवश्यक छ । म त भन्छु, पहिले देशका विभिन्न ४ स्थानमा २५–२५ करोड खर्च गरेर भव्य कार्यक्रम गर्न सक्ने भवन बनऔं । ता कि, यस्ता कार्यक्रम त्यहाँ आयोजना होस् ।

आजबाट पनि गाउँमा एक सेट किताब किनेर ४ जना विद्यार्थी पढ्छन् । सुख नै खोज्ने हो भने त, ब्रुनाइका सुल्तानले आफ्नो दरबारमा बोलाएर माइकल ज्याक्सनको कन्सर्ट हेर्थे । भनेपछि, जे पनि गर्दिए भयो नि त होइन ?

यो विरोध होइन । तर, प्राविधिकरुपमा हामी चुक्यांै भन्ने हो । पैसाको खर्च सरकारले यसरी गर्दा अरु तिर अपुग होला कि भन्ने हो । यो बर्ष नगरौ बरु हल बनाऔं । दशरथ रंगशाला भूइँचालो गएपछि आजसम्म बनेको छैन । म त रंगशालालाई दंगशाला भन्छु । यो अवार्ड आयोजना गर्न खोज्नु राम्रो हो । तर, जिम्मा अवार्ड आयोजकलाई नै दिनुपर्छ । बरु, अवार्ड आयोजकले टिकटको व्यवस्था गरेर राम्रो रकम उठाउन सक्छ । नेपालीहरुले यो अवार्ड महंगो रकम तिरेर पनि हेर्छन् । नेपालीहरुले किड्नी बेचेर भात खानु परेको छ । तर, विदेशी अवार्डलाई यत्रो रकम दिन खोज्नु सुहाएन कि भन्ने हो ।

आज बर्मा, भुटान र भारतमै लाखौं नेपाली छन् । त्यो ठाउँमा चै हाम्रो चलचित्र नपुर्याउने, बर्मामा अवार्ड गरेर आउ नभन्ने ? भारतमा हाम्रो अवार्ड आयोजना नै हुन सक्दैन । मुख्य कुरा भनेको हाम्रो बजार विकास गर्न लाग्नुपर्छ । यसको प्रमोशनका लागि लाग्नुपर्छ । विदेशी चलचित्रलाई छायांकनका लागि पूर्वाधार बनाउनतर्फ लाग्न आवश्यक छ ।

मागेर चलेको देशले पैसा दिनु गलत हो : केदार घिमिरे

म आइफा अवार्ड नेपालमा हुनुहुन्न भन्ने पक्षमा छैन । किनकी, यो अवार्ड प्राय भारत बाहिर नै हुन्छ । तर, सरकार नै आयोजक बन्ने र सरकारले नै पैसा लगानी गर्ने कुरामा मेरो आपत्ती छ । किनकि, मैले बुझे अनुसार दुबईमा यो अवार्ड आयोजना हुँदा उल्टै अवार्ड आयोजकले दुबई सरकारलाई पैसा दिएका थिए । अवार्ड आयोजना गर्दा त्यहाँका होटलहरुले राम्रो रकम कमाएका थिए । यहाँ त हामीले उल्टै पैसा दिन लागेका छौं ।

म माग्ने बुढा । मागेर चलेको मेरो देश हो । बजेट भाषणमा खाली अरुले यति पैसा दिन्छ र देश चलाउँछु भन्ने सुनिएको छ । यस्तो देशले अरु देशको अवार्डका लागि यत्रो पैसा दिएर पुरस्कृत गर्न खोज्नु सरासर गलत हो ।
हाम्रो देश सार्वभौमसत्ता हो । यो देशमा तुइन हटेको छैन, विद्यार्थीले किताब पाएका छैनन् । आफ्नो घरको श्रीमतीलाई म्याक्सी किन्न नखोज्ने, अनि छिमेकीलाई ट्याक्सी किन्न खोजिदिएको जस्तो भयो यो त ।

नेपाली कलाकारको अवस्था के छ, खै सरकारले बुझेको छ । मर्दा सेतो कपडा किन्ने पैसा हुँदैन । किड्नी फेल हुँदा पुतलीसडकमा तन्ना बिछ्याएर पैसा उठाउनुपर्ने वाध्यता छ । नेपाली कलाकारलाई सुविधा केही नदिने, अनि फेरि दाँज्न भने विदेशी कलाकार जस्तो किन भइनस् भनेर दाँज्ने ? आफ्नै देशका कलाकारलाई खै वास्ता गरेको ?

यो अवार्ड नेपालमा आयोजना भयो भने अवार्डमा सहभागी हुने नेपाली कलाकारको पनि कुनै इज्जत हुन्छ जस्तो मलाई लाग्दैन । किनभने, उनीहरुले नेपाली कलाकारलाई नै चिन्दैनन् । यसअगाडि पनि विदेशी कलाकारबाट नेपाली कलाकार अपमानित भएका छन् ।

भारतीय कलाकार नेपाल आएर देशको पर्यटन विकासमा सहयोग पुग्छ भन्ने पनि मलाई लाग्दैन । कि, उनीहरुलाई २ दिन पोखरा, २ दिन इलाम, २ दिन सगरमाथाको फेदमा राख्न पर्‍यो । धेरै कलाकार त बिहान आएर बेलुका फर्कन्छन् । अनि, कसरी हुन्छ पर्यटन प्रवद्र्धन ?

बरु, म एउटा आइडिया दिन्छु । एउटा हलिउडको निर्मातालाई बोलाएर लुम्बिनीबाट सुरु गरेर काठमाण्डौ हुँदै सगरमाथासम्मको कथामा फिल्म बनाऊ भनेर २५ करोड दिए हुन्छ । कमसेकम विश्वभर नेपालको प्रचार त हुन्छ । यसैले, विदेशी अवार्डका लागि यत्रो रकम दिने कुरामा म सहमत हुन सक्दिनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment