Comments Add Comment

उद्योगका कारण सडक हिलाम्य भएको भन्दै लालपर्सावासी आन्दोलित

१६ असार, वीरगञ्ज । उद्योगका कारण सडक हिलाम्य भएको भन्दै वीरगञ्ज लालपर्साका बासिन्दा आन्दोलित भएका छन् । उनीहरुले वीरगञ्जको परवानीपुर स्थित हनुमान मन्दिर देखि पश्चिम लालपर्सा जाने सडक बिहान अवरुद्ध पारेका छन् ।

सडक तत्काल सुधार गरी भोलि (मंगलबार) मध्यान्न १२ बजेसम्म सञ्चालनमा ल्याउने आश्वासन पछि लालपर्सावासी घर फर्किएका छन् ।

प्रहरी चौकी परवानीपुरका प्रतिनिधिको रोहबरमा स्थानीय र उद्योग व्यवस्थापनबीच भएको सहमति अनुसार स्काभेटर लगाएर तत्काल सडक सम्याउने सहमति भएको छ ।

औद्योगिक कच्चा पदार्थ र तयारी मालसमान बोकेका सवारीसाधन ओहोरदोहोर गर्दा सडक जीर्ण भएको तर उद्योगले मर्मतका लागि चासो नदेखाएको आरोप स्थानीयवासीको छ ।

बजरंगी ईलेक्ट्रोनिक्स, अम्बे सिमेन्ट, सत्यसाई पाइप उद्योगलगायत आधा दर्जन बढी उद्योग त्यस क्षेत्रमा छन् ।

सडकमा सबैभन्दा बढी क्षति अम्बे सिमेन्टमा कच्चा पदार्थ ल्याउने र तयारी मालबस्तु लैजान सवारी साधनले पुर्‍याउने गरेको स्थानीयको भनाइ छ ।

स्थानीयवासीका अनुसार अम्बे सिमेन्टको मात्रै १ सय भन्दा बढी सवारी साधन दैनिक सडकमा गुड्ने गरेका छन् ।

समाजवादी युवा फोरमका प्रदेश सदस्य मनोजकुमार यादवले सडक एकदमै हिलो भएर आवतजावतमा समस्या भएपछि बाध्य भएर सडकमा उत्रनु परेको बताए ।

आन्दोलन नगरेसम्म नसुन्ने परिपाटीले गर्दा बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको उनले बताए । ‘घाम लागेपछि ज्यादै धुँलो उड्छ, गएर होहल्ला गर्छौ अनि सडकमा पानी हाल्छन् । पानी परेपछि सडक हिलो हुन्छ, विरोध गर्छौ अनि मर्मत गर्छन्,’ यादवले भने, ‘आन्दोलन नगरेसम्म नसुन्ने परिपाटीले बाध्य भएर सडक अवरुद्ध गरेका छौं ।’

सडक मर्मत नगरेसम्म उद्योगका सवारीसाधन सञ्चालन हुन नदिने अडानमा स्थानीय बासिन्दा रहे पनि प्रहरीका रोहबरमा उद्योग व्यवस्थापन सडक मर्मत गर्न तयार भएपछि घर फर्केको उनको भनाइ छ ।

अम्बे सिमेन्टका खरिद शाखा प्रमुख कृष्ण पौडेलले भने सडक मर्मतका लागि उद्योगले ठेकदार खोजिसकेको बताए । ‘सर्वसाधरणलाई मात्रै होइन हामीलाई पनि चोकमा कार्ड किन्न जानसमेत समस्या छ, सडक मर्मतका लागि रकम छुट्याइसकेका छौं,’ उनले भने, ‘सम्भवत ठेकेदारले आजै काम शुरु गर्छ ।’

छेउमै रहेको बजरंगी इलेक्ट्रोक्सि उद्योगको नाला नभएका कारण सडकमा उद्योगको पानी आएर समस्या भएको दावी उनको छ ।

परवानीपुर चोकदेखि पश्चिम जाने सडकखण्ड भएर लालपर्सा, वगही, प्रसोतीपुर, बेल्वालगायत क्षेत्रका सर्वसाधरण ओहोरदोहोर गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment