Comments Add Comment

धोनीलाई हारको भिलेन बनाउन कति सही ?

१६ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डसँग ३१ रनले पराजित भएपछि भारतको अपराजित यात्रामा पूर्णविराम लाग्यो । तर, यतिबेला सामाजिक सञ्जालमा भारत हार्नुको मुख्य कारण पूर्वकप्तान महेन्द्रसिंह धोनी भएको भन्दै उनको आलोचना गरिएको छ ।

३३८ रनको ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले तेस्रो ओभरमै ८ रन हुँदा ओपनर केएल राहुललाई गुमाएपछि इंग्ल्यान्डविरुद्धको जित निकै मुश्किलतर्फ धकेलिदै थियो ।

भारतले लक्ष्य पछ्याउँदै ब्याटिङ त गर्‍यो तर जित्न सकेन । यो हारको सिकार फेरि भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनी भएका छन् । धोनीको भूमिकाको विषयलाई लिएर भारतदेखि पाकिस्तानसम्म आलोचना हुन थालेको छ । पाकिस्तानमा धोनी ट्वीटरको टप ट्रेन्डिङमा छन् ।

भारत र इंग्ल्यान्डबीचको खेल चलिरहँदा इंग्ल्यान्डका पूर्वकप्तान नासिर हुसेन पनि खेलको कमेन्ट्री गरिरहेका थिए । अन्तिम पाँच ओभरमा पूर्वकप्तान हुसेन पनि धोनीको खेलदेखेर आजित बने । उनले भनेका छन्, ‘धोनी के गरिरहेका छन ? कम से कम उनले कोशिस त गर्नु पर्छ ।’

हुसेनको कुरामा भारतीय पूर्वकप्तान सौरभ गांगुली पनि सहमत छन् । पूर्वकप्तान नासिरको यो टिप्पणी पनि पाकिस्तानको ट्वीटर ट्रेन्डिङमा छ ।

भारतले पहिलो १० ओभरमा २८ रन बनाएको छ । यही तरिकाले अन्तिम पाँच ओभरमा केदार जाधव र धोनीले तीन चौका र एक छक्का र २० सिंगल रन लिए । ६ बलमा रन बनेन ।

धोनीको आलोचना अफगानिस्तानको खेलमा पनि भएको थियो । अफगानिस्तानविरुद्ध उनले ५२ बलमा २८ रन बनाएका थिए । उनको खेलप्रति भारतीय पूर्वखेलाडी सचिन तेन्दुलकरले पनि असन्तुष्टि जनाएका थिए । त्यसो त अफगानिस्तानविरुद्धको खेलमा धोनी बाहेक अन्य खेलाडीले पनि राम्रो गर्न सकेका थिएनन् ।

इंग्ल्यान्डविरुद्धको खेलमा भने धोनीले अविजित ३१ बलमा ४२ रन बनाए । जित सम्भव हुँदा हुँदै पनि धोनीले राम्रो नखेलेको उनीमाथि आरोप छ ।

विशेषगरी पाकिस्तानमा धोनीको आलोचना हुनु यो पनि मुख्य कारण हो कि भारतले इंग्ल्यान्डलाई पराजित गरेको भए पाकिस्तानको सेमिफाइल पुग्ने सम्भावना प्रबल हुन्थ्यो । अहिले पनि सेसिफाइनल पुग्ने सम्भावना त छ तर त्यसको लागि अब अन्तिम खेलमा इंग्ल्यान्ड पराजित हुनुपर्छ । र, पाकिस्तानले आफ्नो खेलमा बंगलादेशलाई हराउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment