Comments Add Comment

साझाले ३० वटा विद्युतीय बस चलाउने, प्रदेश ३ को साथ

१६ असार, काठमाडौं । साझा यातायातले काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा ३० वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश ३ को सरकारका साथै उपत्यकाका दुई महानगरसमेतको लगानीमा साझाले विद्युतीय बस चलाउने भएको हो ।

सोमबार प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगर र साझा यातायातबीच काठमाडौं उपत्यकामा विजुली बस सञ्चालन गर्ने सहमति भयो । कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले ३० करोड र ललितपुर महानगरले २ करोड ५० लाख रुपैयाँ साझा यातायातलाई हस्तान्तरण गरे ।

काठमाडौं महानगरपालिकाले भने विद्युतीय बस सञ्चालनका लागि १० करोड रुपैयाँ लगानी गर्नेछ । बाँकी २ करोड ५० लाख रुपैयाँ साझा आफैले लगानी गर्ने बताएको छ । यि सबै जोड्दा ४५ करोड रुपैयाँ पुग्छ ।

यो रकमले ३० वटा विद्युतीय बस खरिद गर्न पुग्ने अनुमान रहेको साझाका कार्यकारी निर्देशक भुषण तुलाधरले अनलाइनखबरलाई बताए । ‘हामीले प्रारम्भिक प्रक्रिया शुरु गरिसकेका छौं, एउटा बस बराबर डेढ करोड रुपैयाँ खर्च हुने हाम्रो अनुमान छ’ कार्यकारी निर्देशक तुलाधारले भने, ‘प्रदेश सरकार, दुई महानगर र हाम्रो समेत गरी ४५ करोड लगानीमा ३० करोड बस खरिद गर्नेछौं ।

९ महिनाभित्र बस खरिद गरिने

साझाका कार्यकारी निर्देशक तुलाधरले विद्युतीय बस खरिद विषयमा समन्वय गर्न एक समन्वय समिति गठन हुने जानकारी दिए । प्रदेश सरकार, दुई महानगर र साझासमेतको प्रतिनिधित्व हुने गरी समिति गठन हुने र सो समितिले खरिदका लागि गर्नुपर्ने आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए ।

कार्यकारी निर्देशक तुलाधरका अनुसार एकदेखि डेढ महिनाभित्र समिति गठन लगायतका सबै कामहरु सक्ने र त्यपछि टेण्डर आहृवान गर्ने योजना बनाइएको छ । हालसम्म ठ्याक्कै यस्तै बस ल्याउने भन्ने निर्णय भइनसकोको उनले बताए ।

‘सबैको प्रतिनिधि सम्मिलित समन्वय समिति बनाउछौं, बस खरिदका लागि धेरै काम समितिको निर्णयअनुसार हुनेछ,’ उनले भने, ‘कति सिट क्षमता, कत्रो साइज सबै समितिमा छलफल गरिन्छ ।’

प्रदेश ३ का अन्य सहरमा पनि गुड्ने

३० वटा विद्युतीय बसहरु अधिकांश काठमाडौंमै चलाउने साझाको योजना छ । काठमाडौंमा मुख्य चोक-चोक सम्मका रुटहरुमा विद्युतीय सवारीहरु गुड्नेछन् ।

कुन रुटमा चलाउने भन्ने विषयमा निर्णय भइनसकेको कार्यकारी निर्देशक तुलाधरले बताए । तर प्राथमिकतामा भने काठमाडौं उपत्यका नै पर्ने उनको भनाइ छ ।

‘धेरै चल्ले भनेको काठमाडौं उपत्यकामा नै हो, यहाँ आवश्यकता पनि छ’ उनले भने, ‘प्राथमिकतामा काठमाडौं उपत्यका भए पनि ३ नम्बर प्रदेशका अन्य मूख्य सहरहरुमा पनि चलाउने हाम्रो योजना छ ।’

उनले विद्युतीय बस नारायणगढ-हेटौडासम्म चलाउने विषयमा पनि छलफल हुने बताए ।

‘विद्युत् प्राधिकरणसँग सम्झौता भइसक्यो’

विद्युतीय बस सञ्चालनका लागि चार्जिङ स्टेसनका लागि साझाले नेपाल विद्युत प्राधिकरणसँग छलफल गरेको छ । प्राधिकरणले चार्जिङका लागि आवश्यक व्यवस्था गर्ने विश्वास समेत दिलाएको तुलाधरले बताएका छन् ।

चार्जिङ स्टेशन राख्नका लागि जग्गाको व्यवस्था भने प्राधिकरणले नगर्ने भएको छ । ‘प्राधिकरणले चार्जिङको व्यवस्था गर्नेछ, त्यसका लागि चाहिने जग्गा भने हामीले नै खोज्छौं’ तुलाधरले भने, ‘जग्गा हामीले खोजे पनि खर्च प्राधिकरणकै हुने, चार्जिङ उपकरणमा पनि हाम्रो खर्च हुँदैन ।’

काठमाडौंमा धेरै ठाउँ चार्जिङ स्टेशनको आवश्यकता नपर्ने उनले बताए । अध्ययन गरेर केही ठाउँहरुमा चार्जिङ स्टेशन राख्ने र त्यहाँ बसहरु चार्ज गरेर गन्तव्यतर्फ जाने तुलाधरको भनाई छ ।

अन्य नगरलाई पनि समेट्ने प्रयास

विद्युतीय बसमा अहिले साझा, प्रदेश सरकारका साथै काठमाडौं र ललितपुर महानगरले मात्रै लगानी गरेको छ । दुई महानगरले मात्रै लगानी गरे पनि बसहरुको रुट अन्य स्थानीय तहसम्म पुग्नेछन् ।

ललितपुरको गोदावरी नगरपालिकाका, महालक्ष्मी नगरपालिका साथै काठमाडौंकै हकमा पनि बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका लगायतका स्थानीयहरुलाई छुनेछ ।

अन्य स्थानीय तहहरुलाई यो योजनामा किन सहभागी नगराएको हो त ? भन्ने प्रश्नमा साझाका कार्यकारी निर्देशक तुलाधर भन्छन्, ‘अन्य पालिकाहरु पनि लगानी गर्न सकारात्मक हुनुहुन्छ, छलफल भइरकेको छ ।’

तुलाधरका अनुसार विद्युतीय बसमा लगानी गर्न गोदाबरी, महालक्ष्मी लगायतका स्थानीय तहहरुले इच्छा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment