Comments Add Comment

सिंघानिया हत्या प्रकरण : सञ्जय साहलाई जन्मकैदको फैसला

१७ असार, जनकपुरधाम । जिल्ला अदालत धनुषाले जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा दोषी ठहर गर्दै पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साह र मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो । साहलाई हत्याकाण्डको योजनाकार मानिएको छ । लामाले साहकै निर्देशनमा आफूले सिंघानियालाई गोली हानेको बयान अदालतमै दिएका थिए ।

सिंघानिया हत्या आरोपमा पक्राउ परेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको छ । यस्तै रामविनोद यादवलाई ३ बर्ष कैद सुनाइएको छ । ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ ।

२०६६ साल फागुन १७ गते होली पर्वकै दिन जनकपुरको शिव चोकमा सिंघानियाँको गोली हानेर हत्या गरिएको थियो । उनको हत्या आरोपमा प्रहरीले पूर्वमन्त्री साहसहित रामविनोद यादव, अन्सी राइन, योगेन्द्र सहनी, मनक लामा, ओमप्रकाश यादव, मुकेश चौधरी र रामकरण यादवलाई पक्राउ गरेको थियो ।

अर्काे मुद्दाको पनि जन्मकैद यथावत

पूर्वराज्यमन्त्री साहलाई यसअघि नै जनकपुर बम विष्फोट मुद्दामा जन्मकैद फैसला सुनाइसकिएको छ । सात बर्षअघि सात जनाको ज्यान जाने गरी जनकपुरमा भएको बम विष्फोट घटनाका योजनाकार भएको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद फैसला सुनाएपछि उनी कारागारै जीवन बिताइरहेका छन् ।

जिल्ला अदालतले १४ चैतमा पूर्वमन्त्री साह, मुकेशकुमार चौधरी र राजन मुक्ति भन्ने रन्जित साहलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महल १३ को ४ को १५ बमोजिम ज्यान मार्ने उद्योगमा जन्म कैद र ज्यान मार्ने उद्योगमा १२ बर्षको कैद सजाय सुनाएको थियो । मिथिला राज्यको माग गर्दै जनकपुरको रमानन्द चोकमा धर्ना बसेको स्थलमै १८ वैशाख ०६९ मा बम विस्फोट भएको थियो ।

जनकपुर क्षेत्रबाट दुई पटक निर्वाचित र तत्कालीन फोरम लोकतान्त्रिकबाट भौतिक पूर्वाधार राज्यमन्त्री बनेका साहस ६ बर्षदेखि पुर्पक्षका लागि थुनामै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment