Comments Add Comment

पल्सर स्पोर्टस अवार्ड : युकेश र सावित्रा उत्कृष्ट

१७, असार, काठमाडौं । प्याराग्लाइडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘पल्सर स्पोर्ट्स अवार्ड’मा विभिन्न विधामा ९ खेलाडी तथा खेलकर्मी सम्मानित भएका छन् । प्याराग्लाइडिङले सर्वाधिक तीन विधामा अवार्ड जितेको छ । फुटबल र एथ्लेटिक्सले समान २–२, भलिबलले एक र दृष्टिविहीन क्रिकेटले एक विधामा अवार्ड जित्यो ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्याराग्लाइडिङका युकेश गुरुङले जिते । उनले क्रिकेटका कप्तान पारस खड्का, सोमपाल कामी, गल्फका शुक्रबहादुर राई र जुडोका इन्द्रबहादुर श्रेष्ठलाई पछि पारे ।

१८औं एसियाली खेलकुद प्रतियोगितामा उनले टिम इभेन्ट्समा नेपाललाई रजत पटक जिताउन महत्वूर्ण भूमिका खेलेका थिए । यो पदकले प्रतियोगितामा नेपाल पदकविहीन हुनबाट जोगियो ।

युकेश गुरुङ

प्याराग्लाइडिङले टिम अफ द इयरको अवार्ड जित्यो । उत्कृष्ट प्रशिक्षकको अवार्ड प्याराग्लाइडिङकै योगेश भट्टराईले जिते । उनले क्रिकेटका जगत टमाटा, एथ्लेटिक्सका धनीराम चौधरी, फुटबलका हरि खड्का र एपीएफ महिला भलिबल टिमका प्रशिक्षक ज्ञानेन्द्र विष्टलाई पछि पारे ।

वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड फुटबलकी सावित्रा भण्डारीले जितेकी छन् । उनले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी निमा गुरुङ, जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पार्दै अवार्ड हात पारिन् ।

सावित्रा भण्डारी

उनले विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । त्यो प्रतियोगितामा उनले सर्वाधिक चार गोल गरेकी थिइन् ।

पिपुल्स च्वाइस अवार्ड भने भलिबलकी रेश्मा भण्डारीले जितिन् । उनले ३२.९९ प्रतिशत भोट प्राप्त गर्दै अवार्ड जित्न सफल भइन् ।

रेश्मा भण्डारी

यो अवार्ड जित्ने क्रममा उनले क्रिकेटका युवास्टार खेलाडी सन्दीप लामिछाने, शारीरिक सुगठनका विश्वविजेता महेश्वर महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल फुटबलकी साबित्रा भण्डारीलाई पछि पारिन् ।

उत्कृष्ट युवा खेलाडीको अवार्ड एथ्लेटिक्सका अजितकुमार यादवले जिते । उनले ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी मञ्जलीकुमारी योञ्जन, क्रिकेटका ललितनारायण राजवंशी र करातेका विजय श्रेष्ठलाई पछि पार्दै जितेका हुन् ।

अजितले हङकङमा भएको तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए ।

अजितकुमार चौधरी

स्पेसल अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य रोहित चन्दले हात पारे । अन्तर्राष्ट्रिय जगतमा राम्रो प्रदर्शन गरेको कारण स्पेसल अवार्ड जितेका हुन् । इन्डोनेसियाबाट व्यवसायिक फुटबल खेल्दै आएका रोहित फर्सिज जाकार्तामा आबद्ध छन् ।

त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्ड भने एथ्लेटिक्सका लेजेन्ड हरिबहादुर रोकायलाई प्रदान गरिएको छ । नेपाली एथ्लेटिक्समा पु¥याएको योगदानको कदर गर्दै यो सम्मान दिइएको हो ।

हरिबहादुर रोकाया

पाराएथलेट अवार्डबाट भने दृष्टविहीन महिला राष्ट्रिय क्रिकेट टिमकी मन केसी चौधरीले पाइन् ।

यसै वर्षदेखि थपिएको अन्तर्राष्ट्रिय एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड भने पाकिस्तानका अम्जद अजिज मलिकले पाए । उनी अन्तर्राष्टिय खेलकुद पत्रकार महासंघ (एआईपीएस) का महासचिव समेत हुन् ।

वर्ष उत्कृष्ट पुरुष युकेश, वर्ष उत्कृष्ट महिला सावित्रा, वर्ष उत्कृष्ट प्रशिक्षक योगेश र पिपुल्स च्वाइज अवार्डका विजेता रेश्मा भण्डारी गरी चार विधाका विजेताले पल्सर मोटरसाइकल पाएका छन् । अन्य विधाका विजेताले भने ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मन केसी

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment