Comments Add Comment

फेरि रोए कप्तान मेस्सी !

१८ असार, काठमाडौं । विश्वका एक महान खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोन मेस्सी जतिको दुःखी खेलाडी अरु को होलान् ? सफल खेलाडीको उपनाम पाएका मेस्सी आफ्नो देशका लागि भने असफल हुँदै गर्दा उनको आँखा भने भिज्ने गरेका छन् ।

बुधबार विहान कोपा अमेरिका फुटबलको सेमिफाइनलमा आयोजक ब्राजिलविरुद्ध अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दै गर्दा कप्तान मेस्सीलाई डर थियो कि नहारौं । तर, हार्‍यो । २-० गोलअन्तरले ब्राजिलसँग हार्दै कोपा अमेरिका कपबाट बाहिरिएपछि कप्तान मेस्सी भावुक मात्रै बनेनन् उनका आँखा रसाए ।

खेल सकिएपछि उनकै टिम, साथी, प्रशिक्षक र अफिसियलले उनलाई सहानुभूति दिदै अंकमाल गरिहेका थिए । त्यो बेला मेस्सीको आँखामा प्रष्ट आँसु देखिन्थ्यो । उनको यो आँसु झर्नुको कारण प्रष्टै छ । फेरि एक पटक उनी आफ्नो देशलाई उपाधि दिलाउन असफल भए ।

सन् २०१४ को विश्वकप फुटबलको उपाधि आफ्नै कप्तानीमा अर्जेन्टिनालाई दिलाउन चुकेका मेस्सीको पीडा निकै दर्दनाक छ । सन् २०१६ मा भएको कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग अर्जेन्टिना पराजित हुँदा आफ्नो देशलाई कप्तान मेस्सीले उपाधि दिलाउन चुकेका थिए । पेनाल्टीबाट विजेताको छिनोफानो लागेको फाइनलमा गोल मेसिनको उपनामले परिचित मेस्सीले नै पेनाल्टी मिस गरे ।

योसँगै उनको चौतर्फी आलोचना भएको थियो भने उनले आवेशमा आएर सन्यासको घोषणा गरेका थिए । पछि फेरि सबैको आग्रहमा राष्ट्रिय टिममा फर्किएका कप्तान मेस्सी फेरि एकपटक असफल भएका छन् ।

यतिबेला उनलाई पूरानै पीडाले सताएको छ । प्रतियोगिताको सुरुवाती समयदेखि नै आलोचना खेप्दै आएका मेस्सीले जारी कोपा अमेरिका कपमा एक गोल मात्रै गर्न सफल भए । यो पटकको कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई दिलाउँदै पुराना सबै घाउहरु टाल्ने लक्ष्यमा थिए मेस्सी तर पुनः चुके ।

स्पेनिस क्लब बार्सिलोनाका एक योद्धा र सर्वाधिक सफल खेलाडी तर आफ्नो टिमको लागि भने फेरि असफल भए । यो कुरा उनको भावुकताले प्रष्टै दर्शाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment