Comments Add Comment

तीन वर्षसम्म पनि भएन देवदह दुग्ध सहकारीको साधारणसभा

१९ असार, बुटवल । सहकारी विभागको नियम अनुसार सहकारी संस्थाहरुले प्रत्येक वर्ष संस्थाको साधारणसभा गर्नुपर्ने हुन्छ । तर, देेवदह नगरपालिकाकै पुरानो देवदह दुग्ध सहकारीको वार्षिक साधारणसभा तीन वर्षदेखि हुन सकेको छैन ।

संस्थाका व्यवस्थापकले आर्थिक हिसाबकिताब पारदर्शी ढंगले देखाउन आलटाल गर्दै आएकाले साधारणसभा हुन नसकेको संचालकहरु बताउँछन् ।

सहकारीका व्यवस्थापक प्रकाश अर्याल हुन् । उनी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का देवदह नगर अध्यक्षको जिम्मेवारीमा छन् ।

व्यवस्थापकले तीन वर्षसम्म संस्थाको आयव्यय पारदर्शी ढंगले संचालक समितिलाई बुझाउन नसक्दा साधारणसभा दुई पटकसम्म स्थगित गर्नुपरेको संचालकहरुको भनाइ छ ।

यसअघि सहकारीको साधारणसभा तथा अधिवेशन २०७२ चैतमा भएको अध्यक्ष गिरप्रसाद पाण्डेले जानकारी दिए ।

किसानका लागि आएका अनुदान रकम संस्थामा दाखिला भएको देखिने तर आधिकारिक खर्च भएको नदेखिने गरेको, ४२ हजार लिटर दूध संस्थाबाट गायब हुने गरेको पनि सहकारीका एक सदस्यले बताए ।

‘हामीले पटक पटक हिसाब माग्यौं तर उहाँले बुझाउन सक्नु भएन,एउटै पार्टीको भएकाले सकभर संस्थाको बद्नाम नहोस् भनेर समस्या बाहिर नल्याएका हौं,’ सहकारीका अध्यक्ष गिरप्रसाद पाण्डेले भने, ‘व्यवस्थापकले राखेको हिसाबमा करिब १४ लाख पुरानो हिसाव नै खाताबाट गायब भएको र ७ लाख नगद काउन्टरको रकम हुनु पर्नेमा सो पनि नदेखिएपछि हिसाब माग्दा साधारणसभा हुन नसकेको हो ।’

सहकारीका अडिटर चन्द्रकान्त भटराईले आय व्ययबारे व्यवस्थापक अर्यालसंग जवाफ माग्दा चित्तबुझ्दो जवाफ नआएको बताइन्छ ।

हिसाब किताव पेश गर्न अध्यक्ष पाण्डेले दवाव दिएपछि व्यवस्थापक अर्यालले राजीनामा पेश गरेका तर बोर्ड बैठकले हिसाव किताब प्रष्ट भएपछि मात्र राजीनामा स्वीकृत हुने अडान राखेपछि उनी अप्ठेरामा परेका छन् ।

यद्यपि व्यवस्थापक अर्याल राजनीतिक पार्टी र शक्तिको आडमा अध्यक्षलाई हटाएर आफु अनुकुलको अध्यक्ष बनाएर हिसाब मिलाउने योजनामा समेत लागेका तर असफल भएपछि पाण्डेसंग रुष्ट भएका छन् ।

व्यवस्थापक अर्यालले पार्टीको कार्यकारी पदमा रहेर संस्थामा नियमित समय नदिँदा संस्थाको कार्य सम्पादनमा असर पुगेको र विद्युतीय हाजिरीको नियमसमेत राम्रोसँग लागू हुन नसकेको संचालकको गुनासो छ ।

सहकारीमा करिब दुई सय ५० दुग्ध किसान शेयर सदस्यका रुपमा आवद्ध छन् । दैनिक सरदर सहकारीले वाषिर्क एक करोड रुपैयाँसम्मको कारोबार गर्छ ।

सहकारीले सिजनमा दैनिक सरदर दुई हजार एक सय लिटर र बेमौसममा १५ सय लिटर दूध बिक्री गर्दै आएको छ ।

प्रमुख राजनीतिक दलको जिम्मेवार व्यक्ति व्यवस्थापक भएको सहकारीमा भएको अपारदर्शीपनले पार्टीकै छबि धुमिल हुन पुगेको देवदहका नेकपाकै कार्यकर्ताहरु बताउँछन् ।

नेकपाभित्रकै एउटा गुटले संरक्षण गरेकाले व्यवस्थापक अर्यालले किसानहरुको पसिनामाथि खेलवाड गरेर संस्थाको छवि धुमिल गराएको नेकपाकै कार्यकर्ता बताउँछन् ।

‘सर्वसाधारणलाई विधिको शासनको पाठ पढाउने नेतृत्वमा रहेका व्यक्ति नै अपरादर्शी र विधि विपरीत चल्न थालेपछि जनताले के आशा गर्ने ?’ सहकारीका एक सदस्यले भने, ‘दलहरुले खराब मान्छेलाई संरक्षण गरेकैले समाजमा विकृति र विसंगति मौलाएको हो ।’

व्यवस्थापक अर्यालले भने कार्य व्यस्तताका कारण हिसाब किताब पेश गर्न ढिलाइ भएको दावी गर्दै अब असार महिनाभित्रै साधारणसभा गरेर आयव्यय पेश गर्ने प्रतिक्रिया दिए ।

आफूले संस्थाको रकम हिनामिना नगरेको दावी गर्दै आउँदो साधारणसभामा सबै हिसाब देखाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment