Comments Add Comment

फिल्म क्षेत्रको राजनीतिले दिक्क बनायो, खोजे जस्तो कथा नै आएनः रीस्ता बस्नेत

पछिल्लो केही बर्षदेखि चलचित्र हेर्न थालेका दर्शकका लागि रीस्ता बस्नेतको नाम नयाँ लाग्न सक्छ । चलचित्र ‘होस्टेल’बाट नायिकाको रुपमा यो क्षेत्रमा भित्रिएकी रीस्ताले केही चलचित्रमा काम गरिन् । तर, चलचित्रमा उनले सोचेजस्तो सफलता पाइनन् । कलाकार विपना बस्नेतकी छोरी रीस्ता अहिले चलचित्रबाट टाढा जस्तो देखिएकी छिन् । के उनले अब चलचित्रमा काम नगर्ने निर्णय लिएकी हुन् त ? के उनलाई चलचित्र क्षेत्रदेखि दिक्क लागेको हो त ? यो बिषयमा अनलाइनखबरले उनीसँग छोटो कुराकानी गरेको छ ।

१. के तपाई अभिनयबाट ब्याक हुनुभएको हो ?
म आफूलाई अभिनयबाट पछि हटेको नै हुँ भनेर त भन्दिनँ । तर, मैले अहिले चलचित्रहरु गरिरहेको छैन । यसैले पनि दर्शक र मिडियाकर्मीलाई यस्तो लागेको हुनसक्छ ।

२. चलचित्र नगर्नुको कारण के हो त ?
मैले चलचित्रमा काम नगरेको केही समय भयो । पहिले पनि काम गरेका २–३ वटा चलचित्र राम्रो चलेन । यो सबैलाई थाहा भएको कुरा नै हो । यसैले अब कमब्याक गर्दा यस्तै चलचित्र नपरोस् भनेर पनि सजग छु । केही बर्षदेखि राम्रो कथाको अफर पनि आएको छैन । यसैले, जस्तो पनि चलचित्रमा काम गर्नुभन्दा राम्रो गरौ भनेर कुरेकी हुँ ।

३. कस्तो चलचित्रको प्रतिक्षा गर्दै हुनुहुन्छ ? लामो समय ग्याप बस्दा दर्शकले विर्सिएलान् भन्ने डर लाग्दैन ?
मलाई त लाग्छ, मलाई दर्शकले विर्सिसक्नु भयो होला । म राम्रो टिम र बलियो कथाको खोजीमा छु । पहिलेको जस्तै कमजोर टिम र कमजोर कथामा काम गरेर फाइदा पनि छैन । पहिले–पहिले मैले चलचित्रको कथा राम्रो रोज्न नै जानिन । मलाई मेरो भूमिका कती लामो छ भन्ने कुराले खासै फरक पार्दैन । तर, चित्त वुझ्ने हुनुपर्छ भन्ने हो ।

४. परिवार नै फिल्मी पृष्ठभूमीमा भएकाले हिट फिल्म दिनैपर्ने दबाब कत्तीको हुने रहेछ ?
मैले यो समयमा डेब्यू गरेको भए अझै बढी दबाब हुने रहेछ भन्ने लाग्छ । हिट हुने वा नहुने भन्ने परिवारका लागि मात्र नभएर आफ्ना लागि पनि बढी महत्वपूर्ण हुने रहेछ । यत्रो समय यो क्षेत्रमा बिताउँदा मैले धेरै कुरा वुझेँ, धेरै कुरा सिकेँ । चलचित्र क्षेत्रमा छुट्टै खालको राजनीति पनि हुने रहेछ । धेरै गाह्रो लाग्यो मलाई ।

५. चलचित्र क्षेत्रमा राजनीति हुने रहेछ भन्नुभयो, कस्तो राजनीतिको कुरा गर्न खोज्नुभएको हो ?
होइन, मैले धेरै नै राजनीति देखेँ । सबै कुरा भन्न पनि गाह्रो छ । फेरि, चलचित्र पाउन छाडेपछि यस्तो कुरा गर्न थालिछ भन्ने कुरा सुन्नुपर्छ । बरु, यहाँ राजनीति हेरेर नै रमाइलो मानिरहेको छु ।

६. आफूले खोजेजस्तो कथा आएन भने यो क्षेत्र छाडेर अरु नै पेशा अपनाउने सोच्दै हुनुहुन्छ कि के गर्नुहुन्छ ?
होइन, समय अझै पनि बाँकी छ । अहिले नै सन्यास त म लिन्नँ । तर, यही क्षेत्रको मात्र भरोसमा बसेकी छैन । राम्रो कथामा अफर आयो भने त गरिहाल्छु । चलचित्र क्षेत्र जस्तो नजिक र माया लाग्दो क्षेत्र अरु नलाग्ने रहेछ ।

७. केही समयदेखि काम नगरिरहँदा अब मैले काम पाउन छाडेँ भन्ने त लागेको छैन नी ?
काम नै नआएको भन्ने त होइन । काम नभएर यत्तीकै बसेको पनि छैन । मैले चलचित्रमा डबिङ गरिरहेकी छु । अहिलेसम्म ३०–३५ वटा चलचित्रका लागि डबिङ गरिसकेकी छु । म चलचित्रमा आउनु अगाडि पनि डबिङ गर्थेँ । अहिले पनि धेरै चलचित्रका लागि डबिङ गरिसकेकी छु । म्यूजिक भिडियोमा पनि काम गरिरहेको छु । म खाली चलचित्रमा मात्र नदेखिएकी हुँ । मिडियाबाट टाढा भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment