+
+
Shares

प्रधानमन्त्री रोजगार कार्यक्रम : योग्यता एकातिर, काम अर्काेतिर

मन्त्री भन्छन्– कामलाई खिसिटिउरी नगरौं

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ असार २० गते १०:४६

२० असार, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नयाँ मिलदेखि ड्राइभर टोलसम्म सिद्धार्थ राजमार्ग छेउका झार उखेल्न ११ जनाको समूह ब्यस्त छ । असार १ गतेदेखि झार उखेल्ने मध्ये एक हुन्, सिर्जना भुर्तेल (२०) ।

उनी यो कामबाट सन्तुष्ट छैनन् । बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा भर्खरै कक्षा १२ को परीक्षा दिएकी तिलोत्तमा- ४ की उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको फर्म भर्दा सूचना प्रविधि, शिक्षा जस्ता आफ्नो रुचिको क्षेत्र खुलाएर पठाएकोमा सरकारले सडक छेउको झार उखेल्न लगाएको बताउँछिन् ।

तिलोत्तमा नगरपालिकाले खटाएको यो समूहमा कुलानन्द अर्याल, देवी गिरी, भरत कोइराला, जमुना गिरी, पार्वती बिक, देबी गिरी, बिष्णु परियार, कोपिला चालिसे, कमला परियार र लक्ष्मी बिक पनि छन् । सीप, क्षमता एकातिर छाडेर अर्काेतिर काम गर्नु पर्दा उनीहरुको चित्त बुझेको छैन ।

त्यसमाथि, चर्काे घाममा काम गरेको दैनिक ज्याला कति पाइने हो, त्यो पनि थाह नपाएको तिलोत्तमा- ४, बिष्णुपुरकी ३९ वर्षीया देवी गिरीले बताइन् । उनले भनिन्, ‘दिनको ५१५ रुपैयाँ दिने भनिएको छ, कति दिने हुन् निश्चित छैन ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तिलोत्तमा नगरपालिकाले गत चैत्रमा दर्खास्त आह्वान गर्दा एकहजार २८ आवेदन परेको थियो, जसमध्ये ३१६ जना छानिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरले बताए ।

उनका अनुसार, छनोटमा परेेका बेरोजगार युवालाई सडक निर्माण तथा मर्मत, कृषि तथा सिँचाइ, गार्मेण्ट, खानेपानी, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, वन तथा जलाधार र पर्यटन क्षेत्रको काममा लगाइएको छ । यो कार्यक्रमका लागि नगरपालिकाले ७० लाख रुपैयाँ पाएको जानकारी उनले दिए ।

प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी भने यस्ता कार्यक्रमले मुलुकलाई समृद्धिको दिशामा लैजाने बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कतिपयले खिसिट्यूरी गरे पनि यो समृद्धि हासिल गर्ने राष्ट्रिय जागरण कार्यक्रम भएको बताए । उनले भने, ‘यो कार्यक्रममले देशमा नयाँ तरंग ल्याएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?