
२१ असार, काठमाडौं । कपिलबस्तुका मोहम्मद अहेमानको हत्या प्रकरणको अनुसन्धान फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा आएको पनि एक वर्ष हुन लागिसकेको थियो । तर अभियुक्त पक्राउ परेको थिएन ।
गम्भीर प्रकृतिको घटना भएकाले सीआईबीले नसिम मुसलमान र उनको समूहको खोजी जारी राखेको थियो । पछिल्लो समय भारत अलिगढवामा बस्दै आएका उनी नेपाल आउने जाने गर्थे । त्यही सूचनाका आधारमा खटिएको सीआईबीका एसपी दिपक केसीको टोलीले उनलाई पक्राउ गरेको हो ।
बादशाह उपनामले चिनिने संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका केन्द्रीय सदस्य नसिम सिरियल किलर नै भएको खुलेको छ । उनी कपिलबस्तुमा भएका ७ हत्या र एक डाँका मुद्दाका अभियुक्त भएको पाइएको छ ।
उनीमाथि कपिलबस्तुको तत्कालीन पिपरा गाविस सचिव राममिलन प्रसाद गुप्ताको गोली हानेर हत्या गरेको आभियोग छ । उनीको सबै मुद्दा कपिलबस्तुमै भएकाले उनलाई शनिबार नै जिल्ला पठाइएको सीआईबीले जनाएको छ ।
खान नेकपाका तर्फबाट निर्वाचित प्रदेश ५ की प्रदेशसभा सदस्य फैजिया नसिमका पति हुन् । उनलाई आइतबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक शमशेर जबराले जानकारी दिए ।
नसिमको हत्या श्रृखला
१. १९ जेठ २०६३ मा कपिलबस्तु फुलिका-३ का धर्मराज बराईको छोराको धारिलो हतियार प्रहार गरी हत्या
२. ६ फागुन २०६४ मा मोतिपुर-१ का भुवन भन्ने प्रेम परियारको गोली हानी हत्या
३. ९ चैत २०६४ मा हथिहवा-३ का शिवपुजन कुर्मीको गोली हानी हत्या
४. २० भदौ २०६५ मा अकला कोहारको हत्या ।
५. ९ कार्तिक २०६५ मा पिपरा गाबिस सचिव राम मिलन प्रसाद गुप्ताको गोली हानी हत्या
६. १३ वैशाख २०६७ मा पकडी-६ का राजेन्द्रप्रसाद तिवारीको हत्या
७. ३ फागुन २०७४ मा मोहम्मद अहेमानको अपरहणपछि हत्या
प्रतिक्रिया 4