Comments Add Comment

सरकारको बेवास्ताले प्रदेश १ को नमूना तरकारी बजार सञ्चालनमा ढिलाइ

२२ असार, विराटनगर । प्रदेश सरकारले कम महत्व दिँदा मोरङको कटहरीमा अत्याधुनिक सुविधा सम्पन्न तरकारी तथा फलफूल बजार सञ्चालनमा ढिलाइ भएको छ ।

विराटनगरको तरकारी बजारलाई व्यवस्थित र ‘स्मार्ट’ बनाउने उद्देश्यले १७ करोड लागतमा तरकारी तथा फलफूल बजार निर्माण गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ३ चैत महिनामा तरकारी तथा फलफूल बजारको उदघाटन समेत गरेका थिए । उदघाटन गरेको चार महिना पूरा भइसक्दा पनि बजार सञ्चालन भएको छैन । यो पनि पढ्नुहोस मोरङमा बन्यो नमूना तरकारी बजार, झण्डै ४५ हजार मेट्रिक टन कारोबार क्षमता
तरकारी तथा फलफूल बजारको लागि आवश्यक संरचना निर्माण पूरा भएको करिव १ वर्ष लाग्न लागेको छ । बजार सञ्चालनमा नआउँदा स्थानीय पनि निराश देखिन्छन् । ‘तयारी अवस्थामा सबै कुरा रहँदा पनि किन बजार सञ्चालनमा आउन ढिलाइ भएको हो ?’ स्थानीय नवराज शेर्पा प्रश्न गर्छन्, ‘प्रयोगमा ल्याउनु नै थिएन भने लाखौं करोडौं लगानी बालुवामा पनि हालेसरह किन बनाउनु ?’

‘सरकारको बेवास्ता’

संघीय कृषि विकास मन्त्रालयको ब्यबसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) अन्तर्गत करीब १७ करोड लागतमा कटहरीमा अत्याधुनिक फलफूल तथा तरकारी बजार निर्माण गरिएको हो । यसलाई प्रदेश १ कै नमूना योजना पनि भनिन्छ । विराटनगर महानगरपालिका वडा नं. १४ मा रहेको गुद्री बजारलाई यहाँ स्थान्तरण गर्ने उद्देश्यले छ ।

तर, सरकारले कम महत्व दिँदा गुद्री बजार स्थानान्तरण गर्न नसकिएको विराटनगर महानगरपालिकाका अधिकारीको भनाइ छ । ‘बजार सञ्चालनमा ढिलाइ हुँदा मुख्यतः गुद्री बजारलाई व्यवस्थापन गर्ने कुरा अलपत्र परेको छ,’ विराटनगर महानगरपालिकाका फोकल पर्सन पुनमकुमार दाहाल भन्छन्, ‘महानगरले प्रदेश सरकालाई पटक–पटक बजार सञ्चालनका लागि आग्रह र अनुरोध गरेको छ, तर पनि सुनुवाई अझै सम्म हुन सकेको छैन ।’

विरानटनगर महानगरपालिका कटहरीको तरकारी तथा फलफूल बजारको मुख्य साझेदार निकाय हो ।

स्थानान्तरणमा आनाकानी

विराटनगरको एक मात्रै थोक बजार गुद्री साँघुरो र अव्यवस्थित छ । सहरको मुख्य बजार क्षेत्रमा अवस्थित रुपमा सञ्चालित तरकारी बजारका कारण विराटनगरको सहरी सौन्दर्यमा ह्रास आउनुका साथै फोहोरमैला, भीड र जामको समस्या व्याप्त छ ।

गुद्री बजारका व्यापारीहरुले महानगरपालिका बाहिर र अपायक स्थानमा तरकारी र फलफूल बजार भएको भन्दै कटहरीमा निर्माण गरिएको अत्याधुनिक भवनमा स्थानान्तरण हुन मानिरहेका छैनन् ।
सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समितिका सचिव शाहव अहमत गुडुले कटहरीको तरकारी बजार व्यापारीहरुसँग कुनै समन्वय नगरी निर्माण गरिएको र त्यस स्थान होलसेलका लागि पायक नरहेको बताए ।

‘महानगरभित्र व्यवस्थित तरकारी तथा फलफूल बजार निर्माण गरिनुपर्छ,’ सचिव गुडुले भने, ‘व्यापारीहरु कुनैपनि हालतमा कटहरीमा जान तयार छैनन् । यदि जबरजस्ती लान खोजिए गुद्री बजार टुक्रिन्छ, त्यसको मार उपभोक्तालाई पर्छ ।’

तयार छैन कार्यविधि, दोष संघीय सरकारलाई

कटहरीस्थित आधुनिक तरकारी बजार महानगरपालिका र कटहरी गाउँपालिकाको संयुक्त पहलमा स्थानीय विद्यालय र कटहरी गाउँपालिकाको करिब ६ विघा जग्गा ५० वर्षका लागि भाडामा लिएर निर्माण गरिएको हो । यहाँ होलसेल र खुद्रा तरकारी तथा फलफूल बिक्री स्थल छुट्टाछुटै निर्माण गरिएको छ ।

प्रदेश नं. १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्ट विना तयारी संघबाट कृषि बजार प्रदेश सरकारलाई हस्तान्तरण गरिएकाले सञ्चालनमा आउन ढिलाइ भएको बताए । उनले बजार सञ्चालनका लागि तयारीका कुराहरु पूरा नगरी संघबाट आएकाले आवश्यक कार्यविधि निर्माणमा सरकार लागेको जानकारी दिए ।

संघीय सरकारले गएको चैतको अन्तिम साता तरकारी तथा फलफूल बजार प्रदेश सरकारलाई स्थानान्तरण गरेको थियो । तर पनि अहिलेसम्म प्रदेश सरकारले कार्यविधि निर्माण नै गरेको छैन ।

प्रदेश सरकार आवश्यक कार्यविधि निर्माण गरी चाँडोभन्दा चाँडो बजार सञ्चालनमा ल्याउने तयारीमा जुटेको मन्त्रालयका सचिव विष्टले बताए । उनले भने, ‘भर्खरै मात्र कार्यविधि मन्त्रिपरिषदबाट पास भएको छ, अबको बजार सञ्चालनका लागि कानूनी रुपमा बाटो खुलेको छ । थप अन्य तयारी गरी बजारलाई सञ्चालन गरिनेछ ।’

अत्याधुनिक सुविधा सम्पन्न पूर्वाधार

मोरङको कटहरीमा निर्माण गरिएको तरकारी तथा फलफूल बजार प्रदेश १ कै नमूना योजना हो । विराटनगर महानगरपालिकाको गुद्री तरकारी बजार सार्ने गरी कटहरीमा २०६८ सालमा सम्झौता भइ भूमि कन्स्ट्रक्सनले पूर्वाधार निर्माणको काम शुरु गरेको थियो ।

तरकारी बजार क्षेत्रभित्र २ तल्ले प्रशासनिक भवन, क्यान्टिन, बैंक काउन्टर, हेल्थ क्लिनिक, म्यानेजर क्वाटर, सार्वजनिक शौचालय, नापतौल मेसिन, फोहर व्यवस्थापन क्षेत्र छन् । साथै त्यस बजारभित्र लोड, अनलोड एरिया, गार्ड पोष्ट, पार्किङ एरिया समेत छुट्याइएको छ ।
बजारमा एक हजार चार सय ८८ स्क्वायर मिटरको १७ वटा होलसेल पसल हुनेछन् । त्यस्तै तीन सय ५१ स्क्वायर मिटरमा खुद्रा बजार निर्माण गरिएको छ । दैनिक ४४ हजार नौ सय ६६ मेट्रिक टन तरकारी र आठ हजार सात सय तीन मेट्रिक टन फलफूल बिक्री गर्नसक्ने क्षमता बजारको छ ।

अत्याधुनिक तरकारी बजारमा किसानले सोझै आफूले उत्पादन गरेको तरकारी तथा फलफूल पनि बिक्रीका लागि ल्याउन सक्ने छन् । बिचौलियाको मारमा परेका किसानका समस्यालाई मध्यनजर गर्दै किसानले सोझै उपभोक्तालाई तरकारी तथा फलफूल बिक्री गर्न पाउने व्यवस्था गरिएकोे छ ।

किसानका लागि एक सय ३८ स्क्वायर मिटरमा खुद्रा पसल राख्ने व्यवस्था मिलाइएको छ । बजारलाई सफा र सुन्दर राखिराख्न फोहोर व्यवस्थापनको पक्षलाई पनि विचार पुर्‍याइएको छ ।

तरकारी तथा फलफूल बजारको फोहर संकलन र व्यवस्थापनका लागि छुट्टै यार्डको व्यवस्था गरिएको छ । तरकारी तथा फलफूल ढुवानीमा संलग्न सवारीसाधनका चालकलाई बास बस्नका लागि भवनको व्यवस्था पनि तरकारी बजारभित्रै गरिएको छ ।

बजारमा पानी आपूर्तिका लागि फिल्टरसहितको डिप ट्युबेल, बत्तीका लागि जेनेरेटर र सोलारको व्यवस्था गरिएको छ । बजारमा अन्डर ग्राउन्ड फायर फारिङको व्यवस्था पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

नार–फूको यात्रा

Advertisment