Comments Add Comment

फलफूल र तरकारीमा विषादीको प्रयोगले स्वास्थ्यमा पार्ने असर

विषादीको प्रभावबाट कसरी जोगिने ?

यतिबेला फलफूल र तरकारीमा प्रयोग हुने हानिकारक विषादीले मानिसहरु विभिन्न रोगको सिकार हुन पुगेका छन् । स्वस्थ खाना स्वस्थ जीवनको आधारभूत आवश्यकता हो । पर्याप्त निन्द्रा, स्वस्थ्य खाना, नियमित व्यायाम र सकारात्मक सोचले हामी धेरै रोगहरुबाट बच्न सक्छौं ।

तररकारी र फलफूलमा सिंथेटिक कीटनाशकको प्रयोग पहिलोपल्ट सन् १९४० मा भएको थियो । कीटनाशक र विषादीले गराउने मृत्युमध्ये धेरैजसो निम्न र मध्य आय देशहरूमा हुने गरेको पाइएको छ ।

धेरै कीटनाशकहरु फसल जोगाउन प्रयोग गरिएता पनि अहिले आएर फलफूल छिटो पकाउन र तरकारीको उत्पादन मात्र बढाउन यसको प्रयोग हुने गर्छ । यी बिषादिहरुले प्रयोगकर्तामा मात्र न भएर कृषकहरु को स्वास्थलाई पनि धेरै असर गर्ने गर्छ ।

केही कीटनाशकहरू जस्तै डीडीटी र लिन्डेन वर्षाैंसम्म माटो र पानीमा रहन सक्छ । यी रसायनहरु सन् १९९९ मा एक अन्तर्राष्ट्रिय सन्धीले प्रतिबन्ध लगाएको थियो । कीटनाशकको मात्रा, प्रकार र शरीरमा लिइने मार्गले यसको असर निर्धारण गर्दछ ।

कीटनाशकमा १ हजार भन्दा धेरै प्रकारका रसायनहरु प्रयोग गर्ने गरिन्छ । कीटनाशकमा प्रयोग हुने अर्ग्यानोफोस्फेटले अल्जाइमर लगायत मस्तिक सम्बन्धी रोगको जोखिम बढाउने गर्छ । अमेरिकाको क्यालिफोर्नियामा ४ हजार बच्चाहरुमा गरिएको एउटा अध्य्यनले कीटनाशकले बच्चाहरुमा दमको जोखिम उच्च रहेको बताइएको छ ।

बिषादीले प्रजनन स्वास्थ्यमा पनि धेरै नै नकरात्मक असर पार्ने गर्छ । बिषादीको प्रयोगले बाँझोपनको जोखिम उच्च हुने धेरै अध्य्यनले देखाइ सकेको छ । गर्भावस्थाको समयमा बिषादीको प्रयोगले नवजात शिशुमा इस्पाइना बाइफिडा, क्लेफ्ट लिप, क्लबफुट र डाउन्स सिन्ड्रम जस्ता रोग अधिक हुने गरेको धेरै अध्ययनले पुष्टि गरिसकेका छन् ।

क्यान्सर गराउने विभिन्न कारणमध्ये एक हो हामीले हाम्रो खेतबारीमा प्रयोग गर्ने कीटनाशकहरू । हामीले किन्ने तरकारीमा विभिन्न कीटनाशकहरू प्रयोग गरिएको हुन्छ, तीमध्ये आर्सेनिक, इथाइलिन ओक्साइड र लिन्डेन समूह १ कार्सिनजनहरूको रूपमा दर्जा दिइएको छ । कार्सिनजनहरू भन्नाले क्यान्सर गराउन सक्ने सम्भावना रहेको वस्तु भन्ने बुझिन्छ ।

हरेक दिन हामीले खाने तरकारी र फलफूलमा पाइने यी रसायनहरुले क्यान्सर को सम्भावना धेरै नै हुने गरेको छ । बिषादीको प्रयोगले मधुमेह, पार्किन्सन्स र अरु धेरै रोगहरुको जोखिम बढ्ने गर्छ ।

विषादीबाट बच्ने उपाय

१. अर्ग्यानिक फलफूल र तरकारीको प्रयोग ।

२.फलफूलको बाहिरी भागमा रहेको केही बिषादी पानीले पखाल्न सकिन्छ ।

३. जर्नल अफ एग्रिकल्चर एण्ड फुड रसायनमा हालैको एक अध्ययनले एक राम्रो विकल्प पाएको छ– बेकिंग सोडा ।

सोडियम बाइकार्बोनेट भएको पानीमा १२/१ ५ मिनेटसम्म फलफूल/तरकारी धुनाले कतिपय रसायनलाई पूर्णरुपले हटाउने गर्छ ।

४. तरकारीलाई पकाउनुअघि तातोपानीले धुनाले धेरै विषादी हटाउन सकिन्छ ।

५. १० प्रतिशत भिनेगर र ९० प्रतिशत पानी मिसाएर तरकारी र फलफूल पखाल्नाले धेरै विषादी हटाउन सकिन्छ ।

६. एक चम्चा कागतीको रस, एक चम्चा भिनेगर र र एक कप तातोपानी मिसाएर फलफूलमा छरेर ५/१० मिनेट छोड्दिनुस र १० मिनेटपछि पखालेर खान सकिन्छ ।

बेकिङ सोडा, नुन, कागतीको रस, भिनेगर, तातोपानी आदिको प्रयोगले हामीले विषादीसँग सम्नन्धित विभिन्न रोगबाट बच्न र बचाउन सक्छौं । यो सहज छ र यसले हामीलाई धेरै रोगको शिकार हुनबाट रोक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment