Comments Add Comment

ए सरकार, कोरियाबाट फर्का ! तँलाई ताजा तरकारी खुवाउँछौं !

कोरियामा निन्द्रा आउँदैन, त्यसैले सपना देखिने कुरा आएन । सपना देख्नका लागि निन्द्रा आउनुपर्छ, जो नेपालमा नै छुट्यो । सामाजिक सञ्जाल र पत्रपत्रिकाले परदेशका कथा भनौं या व्यथा अन्य सबै समाचार भन्दा बढी नबनाएको हैनन् । तर सुन्ने कसले ? के नेपालमा सरकार छ र ? छ होला । तर, जनताप्रति उत्तरदायी छ र ? उत्तरदायी पनि होला । के नागरिकका समस्या चिनेको छ ?

म केही वर्षयता कोरियामा घटेका अनेक घटनाको साक्षी बनेको छु । मभित्र पनि डर, पीडा, त्रास र देशको माया छ । तीन वर्षयता दर्जनभन्दा धेरै साथीहरू बाकसमा फर्किए । फर्किए के भन्नु फर्काइए । फर्काउनुपर्‍यो बाध्यताबस ।

मिल्ने भए केबल एकचोटि मात्रै ती मित्रहरूलाई आफ्नै माटोमा देह त्याग्नु भनेर प्लेन भाडा दिएर पठाउन मन थियो। अपसोच ! सोच कहाँ पूरा हुन्छ ? मन त त्यति मात्रै हैन, यो त बाध्यता बस बोलिएको शब्द हो । सँगै अंगालो मारेर फर्किने रहर, रहर मात्रै रह्यो । आफ्नै भूमिमा सेल्फी हान्ने कल्पना अकल्पनीय भयो ।

केही महिनाअघि एकजना साथीलाई मानसिक असन्तुलनको दर्द देखाउँदै सकुशल देशको माटो टेकाउन पाइयो । हामीलाई यसमा सन्तोष मिल्यो । भनिन्छ नि मर्नुभन्दा बौलाहा हुनु बेस । त्यसमा नै हो, हाम्रो खुसी । अन्यथा करोडौंका सपना, अमुल्य जीवन र अनमोल समय कसरी लेखाजोखा गर्दै खुशी हुन सकिन्छ ?

दुई वर्ष अगाडि घरबाट आएको केही महिनापछि एकजनाको दुर्घटनाबाट ज्यान गयो । नेपाली दूताबासको पहलमा शव घर पुग्यो । हामी त्यो बेला पनि खुसी नै हुनुपर्‍यो । कमसेकम लास भए पनि त घर पुग्यो । सास यस्तै रहेछ मौरीले घारो छोडे जस्तो कतिबेला छाड्छ, केही पत्तो नहुने ! तर फेरि फर्केर आइदे ! वास भने आस हरदम आइरहन्छ । आखिर सास अदृश्य न छ । माया त यही कुहिएर जाने शरीरकै त हो ।

यी प्रतिनिधि घटना हुन् । घटना यस्तै हुन् । योभन्दा पर अरु घटना छैनन् तर, समस्या यी दुई पात्रमा मात्र सीमित छैन । शारीरिक अंगभंगको नाजुग व्यथा किन कोट्याउनु ? खाटा बसेको छ । चलायो भने फेरि बिझाउँछ । हामीमा जस्तोसुकै घटना घटोस् दुख्न छोडिसक्यो । दुख्ने ठाउँ भए पो दुख्छ । दुःख देख्दिने कोही भए पो दुख्यो भन्नु ।

अहिले देशमा विषादीले भरिएका तरकारी र फलफूल छिमेकबाट भित्र्याइँदै छ । यसको असर हामीजस्ता मजदुरलाई नै थुप्रिने हो । ए सरकार ! हामीलाई स्वादेशमा नै गरीखाने वातावरण बना । हामी तँलाई पनि अर्गानिक र ताजा फलफूल खुवाउँछौँ । आफू स्वस्थ बन्छौं, तँलाई पनि स्वस्थ बनाउँछौं । धन्यवाद ।

(सुर्खेत निवासी घोडासैनी हाल दक्षिण कोरियामा छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

नार–फूको यात्रा

Advertisment