Comments Add Comment

विषादी परीक्षणको निर्णय फिर्ता लिएकोमा भेटरिनरी एशोसिएशनको आपत्ति

Photo Credit : विषादी परीक्षणका लागि नाकामा रोकिएका ट्रकहरु।

२२ असार, काठमाडौं । आयात गरिएको तरकारी र फलफूलको भन्सार विन्दुमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेकोमा नेपाल भेटेरिनरी एशोसिएसनले आपत्ति जनाएको छ ।

आइतबार विज्ञप्ति जारी गरी एशोसिएशनले जनस्वास्थ्य संरक्षण, स्वच्छ व्यापार र स्थानीय कृषि उपजहरुको प्रवर्धनमा सहयोग पुग्ने महत्वपूर्ण निर्णयबाट सरकार पछि हट्नु आपत्तिजनक भएको बताएको हो । ‘तसर्थ, जतिसक्दो चाँडो आवश्यक तयारी पूरा गरी पूर्व निर्णय कार्यन्वयन गर्न गराउन नेपाल सरकारसँग जोडदार माग गर्दछौं’ संघको विज्ञप्तिमा भनिएको छ ।

भन्सार विन्दुमा जीवनाशक विषादी परीक्षणको व्यवस्थाबाट अधिक मात्रामा विषादी अवशेष रहेका ताजा तरकारी तथा फलफूल आयात निरुत्साहित हुने, स्वदेशी किसानहरु विषादी प्रयोग कम गर्न प्रेरित हुने एशोसिएसनको भनाइ छ ।

त्यस्तै विश्व व्यापार संगठनका प्रावधान अनुरुप सेनिटरी एण्ड फाइटोसेनिटरी एग्रिमेन्टहरु कार्यान्वयनका लागिपनि उक्त निर्णयले सघाउ पुर्‍याउने भन्दै एशोसिएसनले नेपाली किसानलाई कृषि उत्पादन अभिवृद्धि गर्न र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने बताएको छ । ‘यसको कार्यान्वयनका लागि सीमा क्षेत्रहरुमा रहेका क्वारेन्टाइन कार्यालय तथा चेकपोष्टहरुको संस्थागत क्षमता अभिवृद्धि गरी कडाइका साथ नियमन गर्न जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ।

सरकारले असारदेखि नेपाल भित्रने तरकारी र फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल प्रवेश गराउने नियम सुरु गरेको थियो । तर सीमा क्षेत्रमा विषादी परीक्षणका लागि आवश्यक पूर्वाधार नभएको भन्दै उक्त निर्णय फिर्ता लिएको छ । भारतले पनि सीमामा विषादी जाँच नगर्न काठमाडौंस्थित दूतावासबाट दबाब दिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment