
२२ असार, काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा बागी उम्मेदवारी दिएका पूर्वमन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्ने कि नगर्ने भन्ने बहस चर्किएको छ ।
पूर्व सहायकमन्त्री जोशीले तनहुँ १ मा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीविरुद्ध पौडेलले उजरी दिएपछि ‘नैतिक पतन देखिने भ्रष्टाचारमा विशेष अदालतबाट सजाय पाएको देखिएको’ भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज भएको थियो ।
तर कांग्रेसको अनुशासन समितिले पहिलो चरणमा २५ जिल्लाका बागी उम्मेदवार, तीनका समर्थक तथा प्रस्तावकलाई कारबाही गर्दा जोशीको नाम परेन ।
स्रोतका अनुसार समितिमा जोशीलाई कारबाही गर्ने कि नगर्ने भन्ने विवाद देखिएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवारहरुको सूचीमा उनको नाम नभएकाले कारबाही गर्नु नपर्ने तर्क केही सदस्यले गरेको स्रोतको दाबी छ ।
आयोगका सदस्य धनराज गुरुङले समेत जोशीबारे के भन्ने भन्ने अन्यौल देखिएको स्वीकार गरे । ‘कारबाही गर्न माग गर्दै तनहुँका सभापतिकै नेतृत्वमा केही साथीहरु आउनु भएको थियो । तर, निर्वाचन आयोगले निकालेको उम्मेदवाहरुको सूचीमा नाम नभएकाले के गर्ने भन्ने अन्यौल जस्तो देखिएको छ’ उनले भने, ‘यसबारे हामीले कानुनी परामर्श समेत गर्दैछौं ।’
यद्यपि आफूहरुबीच कारबाही गर्ने कि नगर्ने भन्ने विवाद नभएको उनले दाबी गरे ।
प्रतिक्रिया 4