Comments Add Comment

कोपा अमेरिका फुटबलको उपाधि ब्राजिललाई

२३ असार, काठमाडौं । आयोजक राष्ट्र ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

आइतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको हो ।

ब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाबि्रयल जिसस र रिचार्लिसनले गोल गरे । यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए ।

खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १-० गोलको अग्रता दिलाएका थिए । तर खेलको ४४औं मिनेटमा पेरुले गोल फर्काउन सफल भयो । पेरुका लागि गुइरेरोले पेनाल्टीबाट गोल गर्दै १-१ गोलको बराबरी दिलाएका थिए । खेलको पहिलो हाफमै ब्राजिलले अग्रता बनाउन सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा जिससले गोल गर्दै ब्राजिललाई २-१ गोलको अग्रता दिलाए ।

खेलको ७० औ मिनेटमा भने ब्राजिल १० खेलाडीमा सिमित हुन पुग्यो । जिससले दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । २-१ गोलअन्तरले अघि रहेको ब्राजिलले खेलको ९० औं मिनेटमा अर्को गोल गर्न सफल भयो । यो पटक भने पेनाल्टीबाट रिचार्लिसनले गोल गर्दै ब्राजिललाई ३-१ गोलको जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment