+
+

दीपायल सिलगढीका चार विद्यालय समायोजनको तयारी

रामहरि ओझा रामहरि ओझा
२०७६ असार २३ गते ११:१४

२३ असार, डोटी । दीपायल सिलगढी नगरपालिकाले विद्यार्थी संख्या कम भएका चार सामुदायिक विद्यालय समायोजनको तयारी गरेको छ ।

विद्यार्थी संख्या थोरै भएका विद्यालयहरुलाई नजिकको विद्यालयमा समायोजन गर्ने तयारी अन्तिम चरणमा पुगेको दीपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले जानकारी दिइन ।

‘विद्यालयमा तीन विद्यार्थी छन् तर दुई जना शिक्षक पाल्नु परेको छ’, प्रमुख मलासीले भनिन् ‘कुनै विद्यालयमा विद्यार्थी चाप बढी भएर शिक्षक थप राख्नुपर्ने अवस्था त कुनैमा शिक्षकहरुले काम नगरी दिन बिताइरहेका छन् ।’

मलासीले समायोजन हुने चार विद्यालयमा हाललाई बाल विकास केन्द्र सञ्चालन गर्ने बताइन् । उनले भविष्यमा विद्यार्थी संख्या बढे फेरी विद्यालय सञ्चालनमा ल्याउन सकिने जानकारी दिइन् । समायोजनका लागि शिक्षकलाई विद्यार्थी चाप बढी भएको विद्यालयमा पठाउन लागेको उनको भनाइ छ ।

चार विद्यालय, आठ शिक्षक, ३७ विद्यार्थी

समायोजन हुने चार विद्यालयमा जम्मा विद्यार्थी संख्या ३७ रहेको छ भने शिक्षक संख्या आठ । दीपायल सिलगढी नगरपालिका–१, बेगातडमा गोदावरी आधारभूत विद्यालय छ । हाल कक्षा ३ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा दुई शिक्षक कार्यरत छन भने कक्षा १ मा १२, २ मा पाँच र ३ मा चार गरी २१ विद्यार्थी अध्ययरत छन् । उक्त विद्यालयलाई दुर्गा आधारभूत विद्यालय खैरतोलामा समायोजन गरिने नगरपालिकाकी शिक्षा इकाई प्रमुख मञ्जु थापाले जानकारी दिइन ।

वडा नं. ५ घोल्ताडामा रहेको दूधेश्वर आधारभूत विद्यालयलाई नजिकैको दिल्वेश्र माबिमा समायोजन गर्ने तयारी नगरपालिकाले गरेको छ । कक्षा ३ सम्म अध्ययन हुने उक्त विद्यालयको कक्षा १ मा दुई र २ मा एक गरी जम्मा तीन विद्यार्थी छन् । कक्षा ३ मा भने १ जना पनि विद्यार्थी छैनन् । ४ विद्यार्थी मात्रै अध्ययनरत रहे पनि विद्यालयमा तीन शिक्षक जागिर खाइरहेका छन् ।

त्यस्तै, वडा नम्बर ५ कै पुन्योदय आधारभूत विद्यालयलाई पनि समायोजन गर्ने तयारी छ । यो विद्यालयको कक्षा १ मा दुई र २ मा एक गरी जम्मा तीन मात्रै विद्यार्थी छन् । दुई शिक्षक रहेको उक्त विद्यालयलाई नजिकैको महेन्द्र आधारभूत विद्यालय बागठाँटामा समायोजन गर्ने तयारी भइरहेको शिक्षा इकाई प्रमुख तथा विद्यालय निरीक्षक थापाले बताइन् ।

वडा नं. ६ को शैलेश्वरी आधारभूत विद्यालय पनि समायोजन हुँदैछ । उक्त विद्यालयलाई बालमन्दिर आधारभूत विद्यालयमा समायोजन गर्ने गरी काम अघि बढेको नगरपालिकाले जनाएको छ ।

शिक्षक समायोजनमा समस्या

विद्यालय समायोजन गर्न कस्सिएको नगरपालिका शिक्षक समायोजन कसरी गर्ने भनेर अल्मलिएको छ । नगरपालिका प्रमुख मलासी विद्यालय समायोजन गर्न अभिभावक सकारात्मक देखिए पनि शिक्षक समायोजनमा समस्या भएको बताउँछिन् ।

‘हाम्रो पत्राचारपछि केही शिक्षकहरु अर्को विद्यालयमा अध्यापन गराउन थालिसक्नु भएको छ, उहाँहरुले नगरपालिकाको विद्यालय समायोजनको कामलाई सहयोग गर्नु भएको छ’, मलासीले भनिन्, ‘केही शिक्षकहरु अटेरी गर्दै हुनुहुन्छ ।’

शिक्षक महासंघ, दीपायल सिलगढी नगरपालिकाका अध्यक्ष केदार साउदले विद्यालय समायोजन अपरिहार्य भएको बताए । तर, शिक्षक समायोजन गर्दा पायक पर्ने ठाउँ हेरेर गर्नुपर्ने उनको मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?