
२३ असार, काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको टिप्पणी गरेका छन् । भारतीय दबावमा निर्णय फिर्ता नलिएको भन्दै उनले हावाको भरमा उनफ्रिन सांसदहरुलाई आग्रहसमेत गरेका छन् ।
राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनु सरह हुने बताए । कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको उनले बताए ।
मन्त्रीको भनाइ जस्तोको तस्तैः
एउटा विषयले बजार गरम छ । माननीय जीहरु पनि तान्नु भएको छ । बडा खुसीको कुरा हो । नेपाली जनताको हकहितका लागि तात्नु राम्रो कुरा हो । तर कुन प्रलोभन, कुन नियतले त्यो प्रश्न कहाँबाट उठिरहेछ ? लामो समय सत्तामा बसेर केही गर्न नसकेकाहरुको अहिले अर्कै फूर्तीफार्ती देखिन्छ ।
हामीले त विषादी खानु हुँदैन भनेर निर्णय गर्यौं । त्यसका लागि जाँच गरेर ल्याउने भन्यौं । तर त्यसका लागि हामीसँग क्षमता नै रहेनछ । म सबै माननीयजीहरुलाई आग्रह गर्छु, एक पटक गएर कृषि मन्त्रालयको क्षमता बुझ्नुपर्यो ।
मेरो कमजोरी हो कि कृषि मन्त्रालयमा क्षमता रहेनछ भन्ने मलाई थाहा भएन । राम्रो काम गर्न खोज्नुलाई कसैले अपराध वा केही बुझ्छ भने अर्कै कुरा हो । हुन त मैले हिजै नै जवाफ दिनुपर्ने हो तर, आफ्नै कारणले गर्न आउन सकिन ।
मन्त्रीजीले के जवाफ दिनुभयो थाहा छैन । तर उहाँकै बाट के जवाफ आएको छ भने हाल नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणको प्रमाणपत्र जारी गर्ने केन्द्रीय तहमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा मात्र अन्तराष्ट्रिय स्तरको प्रयोगशाला रहेको । काठमाडौंमा मात्र रहेको र अरु ठाउँमा नरहेको । सचिवले पठाउनु भएको पत्रमा छ । मन्त्रीजीले पनि सचिवले पठाएको पत्र पढ्नु भएन कि मैले जस्तै । कस्तो हुन्छ भने नि, सचिवले ल्याउँछन्, हामी विश्वास गरेर सही गरिदिन्छौं ।
तर नेपाल विचित्रको भयो । प्रतिपक्ष रचनात्मक हुन्छ रे । यहाँ त पक्ष नै कस्तो न कस्तो देखियो । पक्षका साथीहरुले पनि कस्ता कस्ता प्रश्न उठाउन थाले । रचनात्मक हो कि ध्वंशकारी ? जिज्ञाशा राख्नु एउटा कुरा हो, उफ्रिनु अर्कै कुरा हो । यहाँ दुईवटा प्रवृत्ति देखिन्छ । एउटा, पाएपछि जे पनि गर्न खोज्ने । अर्को, विपक्षीमा बस्यो वा कुर्सीमा जान पाएन भने पुरै अराजक बनिदिने । यसले देश निमार्णय हुँदैन । यथार्थमा टेकेर बहस गरौं । हामी पनि कमजोरी स्वीकार गर्छौं तर तिललाई पहाड बनाउनु राम्रो होइन । माननीयजीहरु पनि हावाको तलमा बोल्नु भएन । गएर हेर्नुस्, हाम्रो के क्षमता छ ।
फेरि आज हामीले बिगारिदिएको होइन । छैँदै छैन के विगार्नू ! अनि विदेशीको अगाडि झुक्यो रे ? जसको आफ्नै बानी छ झुक्ने, तिनीहरुले विदेशीको अगाडि झुक्यो भनिरहेका छन् । न झुक्ने न लड्ने भिड्ने, आवश्यकता अनुसार डिल गर्ने हो ।
म के विश्वास दिलाउन चाहन्छु भने हामी कसैको दबावमा पर्ने छैनौं । व्यवहारबाट के देखियो भने हामी आफैं नाकाबन्दी गर्नेतिर गयौं । भाउ बढ्न थाल्ने भयो । त्यसअनुसार निर्णय गरिएको हो ।
प्रतिक्रिया 4