Comments Add Comment

असार सकिन लाग्दा २३ प्रतिशत मात्र रोपाइँ

२४ असार, काठमाडौं । असार अन्तिम सातासम्म देशभर जम्मा २३ प्रतिशत मात्रै रोपाइँ भएको छ । बालिविकास तथा जैविकी संरक्षण केन्द्रका अनुसार अघिल्लो वर्षको तुलनामा रोपाइँको अवस्था २९.१९ प्रतिशतले घटेको हो ।

केन्द्रलाई प्राप्त विवरणअनुसार अघिल्लो वर्ष असार २२ गतेसम्म देशभर ५२.९५ प्रतिशत (७ लाख २६ हजार २९७ हेक्टर) रोपाइँ भएको थियो । नेपालमा कुल धान रोपाइँ हुने १३ लाख ७१ हजार ७०६ हेक्टर जमीनमध्ये हाल तीन लाख २५ हजार ९ सय १ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।

उच्च पहाडी भूभागमा धान रोपाइँ हुने ४८ हजार १९३ हेक्टरमध्ये १६ जार ६९३ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । मध्य पहाडमा कुल धान रोपाइँ हुने ३ लाख ४६ हजार ९९ हेक्टर मध्ये एक लाख ७ हजार ८०१ हेक्टर जमीनमा मात्रै रोपाइँ भएको छ । यस्तै तराईका ९ लाख ७७ हजार ४१४ हेक्टर जमीनमध्ये ३ लाख २५ हजार ९०१ हेक्टर जमीनमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशगत रुपमा यस वर्ष कर्णाली प्रदेशमा सबैभन्दा धेरै ५१.४२ र दुई नम्बर प्रदेशमा सबैभन्दा कम १०.२५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको बालिबिकास तथा जैविकी संरक्षण केन्द्रले जनाएको छ ।

प्रदेश १ को उच्च पहाडी क्षेत्रमा पर्ने धनकुटा जिल्लामा यस वर्ष सबैभन्दा कम ४ प्रतिशत र कर्णाली प्रदेशको मुगुमा सबैभन्दा धेरै ९७ प्रतिशत क्षेत्रमा धन रोपाइँ भएको छ । प्रदेश १ को भोजपुर, प्रदेश ३ को भक्तपुर, प्रदेश ५ को रोल्पा, रुकुम पूर्व, प्यूठान एवं कर्णालीको जुम्ला, मुगु, डोल्पा र हुम्लाका धेरै भूभागमा रोपाइँ सकिएको केन्द्रले जनाएको छ ।

कुल धान उत्पादनको झण्डै ७० प्रतिशत हिस्सा ओगट्ने प्रदेश २ को बारामा सबैभन्दा धेरै १७ र धनुषामा सबैभन्दा कम ५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।

बालिविकास तथा जैविकी संरक्षण केन्द्र ललितपुरका वैज्ञानिकहरुका अनुसार समीक्षा अवधिको विवरणकै आधारमा धान उत्पादनबारे चिन्ता गरिहाल्नु पर्ने अवस्था छैन । यस वर्ष सक्रिय मनसुन ढिला सुरु हँंदा यसको प्रभाव रोपाइँमा देखिएको केन्द्रले जनाएको छ ।

वर्षाको पानीकै भरमा रोपाई गर्नुपर्ने स्थानका कृषकको रोपाइँ अहिले प्रभावित भएको छ । मनसुनको सक्रियता बढेको भन्दै शतप्रतिशत रोपाइँ हुने आशामा वैज्ञानिकहरु छन् । कुल धान उत्पादनको ७० प्रतिशत हिस्सा ओगट्ने तराईका सिँचाइ सुबिधा पुगेका स्थानमा नियमित रोपाइँ सुरु नभएका कारण तथ्याङ्क दयनीय देखिएको बाली विकास केन्द्रले जनाएको छ ।

असार १५ देखि साउन १५ धान रोपाइँका लागि नेपालको सबैभन्दा उत्तम समय मानिन्छ । प्राकृतिक विपत्ति नपरेको खण्डमा अबको दुई सातामा देशैभर रोपाइँ सकिने केन्द्रका सूचना अधिकारी डा. जर्नादन खड्काले बताए । धानको बिरुवा ३५ दिनसम्म रोप्दा उत्पादनमा खासै असर नपर्ने केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment