Comments Add Comment

छापामा आज : भारतबाट धमाधम भित्रिन थाले विषादीयुक्त तरकारी र फलफूल

२५ असार, काठमाडौं । भारतबाट आयातीत तरकारी तथा फलफूलको विषादी परीक्षणबारे चासो राख्दै आइरहेका पत्रपत्रिकाहरु आज पनि यही विषयमा केन्द्रित छन् ।

अन्नपूर्णले विषादीयुक्त सागसब्जी र फलफूल भारतबाट धमाधम भित्रिन थालेको लेखेको छ । सरकार भारतीय तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेसँगै नाकाबाट धमाधम त्यस्ता तरकारी तथा फलफूल भित्रिन थालेका हुन् ।

प्रदेश १ का तीन नाका झापाको काँकडभिट्टा, मोरङको विराटनगर र सुनसरीको भन्टाबारीबाट सयौंको संख्यामा भारतीय तरकारी र फलफूल बोकेका दर्जंनौं ट्रक नेपाल प्रवेश गरेको समाचारमा उल्लेख छ ।

काँकडभिट्टा नाकाबाट मंगलबारसम्ममा ९० को संख्यामा यस्ता ट्रक भित्रिएका छन् भने विराटनगर र भन्टाबारी नाकाबाट पनि उत्तिकै संख्यामा तरकारी र फलफूल बोकेका ट्रक नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएका छन् ।

अन्नपूर्णका अनुसार सरकारबाट विषादी मापन रोकेको पत्र भन्सारमा सोमबार बिहान आइपुगेकाले तरकारी र फलफूल बिना परीक्षण भित्रिन थालेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताएका छन् ।

कान्तिपुरले पनि विषादी परीक्षणले विकसित राजनीतिक घटनाक्रमकै वरिपरि रहेर मुख्य समाचार र सम्पादकीय लेखेको छ । कान्तिपुरले सरकारका प्रवक्तासँगै नेकपा नेता वामदेव गौतमको भनाइ छापेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकारेका छन् । समाचार अनुसार सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बास्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वभाविक हुने भएकाले त्यसलाई अन्यथा लिन नहुने बताएका छन् ।

तर, प्रवक्ताले भारतीय पत्र स्वभाविक भएको बताए पनि नेकपाका सचिवालय सदस्य वामदेव गौतमले भने यसलाई गैरकूटनीतिक कदम भएको टिप्पणी गरेको छन् ।

कान्तिपुरमै ‘भूमाफिया’ लाई न्यायाधीशको लिफ्ट’ शीर्षकको अर्को समाचार पनि छ । तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्मा, जिल्ला न्यायाधीश नगेन्द्रलाल कर्ण, उच्च अदालतका न्यायाधीशद्वय शिवनारायण यादव र नारायणप्रसाद श्रेष्ठलगायतले बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको पक्षमा फैसला गरेको समाचारको सार छ ।

नागरिकले विषादी परीक्षण प्रयोगशालाबारे सोधीखोजी गरेको छ भने गोरखापत्रले एमआरआई सेवाबारे एंकर बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment