Comments Add Comment

यसपटकको मदन पुरस्कार : लेखकले जित्लान् कि विषयले ?

सूची 'समावेशी बनेको' समीक्षकहरुको दाबी

२६ असार, काठमाडौं । वि.सं. ०१३ सालदेखि वितरण गरिँदै आएको निजी क्षेत्रको सबैभन्दा प्रतिष्ठित मदन पुरस्कार कसले हात पार्ला भन्ने विषयमा चर्चा सुरु भएको छ । वर्ष ०७५ मा प्रकाशन भएका मध्ये उत्कृष्ट ७ पुस्तकको सूची मदन पुरस्कार गुठीले सार्वजनिक गरेपछि यो चर्चा सुरु भएको हो । यसको पुरस्कार राशी दुई लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।

गुठीले वितेका पाँच वर्षयता मदन पुरस्कारका लागि उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक गर्दै आएको छ । सूचीमध्येबाट एउटा पुस्तकलाई वर्षको सर्वोत्कृष्ट पुस्तकका रुपमा पुरस्कृत गरिन्छ । यसैलाई निरन्तरता दिँदै यो वर्ष सानु शर्माको कथा सङ्ग्रह ‘एकादेशमा’, विन्दु शर्माको कविता सङ्ग्रह ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको लघुउपन्यास ‘ज्ञ’, छुदेन काविमोको उपन्यास ‘फातसुङ’, महेश थापाको कथा सङ्ग्रह ‘मरिचिका’, योगेशराजको उपन्यास ‘रणहार’ र ध्रुव सापकोटाको कथा सङ्ग्रह ‘विचारको लास’लाई गुठीले ‘वर्ष ०७५ का उत्कृष्ट पुस्तकको सूची’ मानेर सार्वजनिक गरेको हो ।

प्रत्येक वर्ष नेपाली भाषामा झण्डै एक हजार साहित्यिक एवं अनुसन्धानमूलक कृति छापिने अनुमान गरिएको छ । ती मध्ये मदन पुरस्कार गुठीमा लेखक अथवा प्रकाशन संस्थाले आफ्नो पुस्तकलाई पुरस्कार दिइयोस् भन्ने आशयले बुझाइएका २ सय ५७ पुस्तक मध्येबाट यी नाम सार्वजनिक गरिएका हुन् ।

वर्षका उत्कृष्ट पुस्तकहरुको सूची गोप्यरुपमा नियुक्त गरेका विज्ञहरुले दिएको नम्बरका आधारमा छनौट गरेको दावी मदन पुरस्कार गुठीले गरेको छ ।
कस्ता छन् पुस्तक ?

सधैं झैँ यो वर्ष पनि मदन पुरस्कारको सूचीमा आख्यानका पुस्तकले बढी महत्व पाएको छ । सूचीमा समालोचनाका पुस्तक समावेश गरिएको छैन । त्यसै गरी वाङ्मयभित्रै पर्ने अनुसन्धानमूलक कृति पनि यसमा समावेश छैन ।

साहित्यको मुख्य विधामा रहेको कविताको एउटामात्र पुस्तक उत्कृष्ट सूचीमा परेको छ । बाँकी रहेका ६ पुस्तकमध्ये ३ पुस्तक कथा सङ्ग्रह परेका छन् भने बाँकी तीन पुस्तकमा उपन्यास विधाको उपस्थिति छ । एउटा उपन्यास भने ऐतिहासिक खोज अनुसन्धानमा आधारित छ । गुठीले सार्वजनिक गरेको सूची हेर्दा बजारमा लोकप्रिय रहेका कथा र उपन्यास विधालाई नै महत्व दिएको देखिन्छ ।

विषयका हिसावले भने पुस्तकहरुमा विविधता देखिन्छ । सूचीले नेपाल बाहिरका कथालाई पनि महत्व दिएको छ । विदेशी भूमिमा भएको नेपाली भाषीको आन्दोलनको कथा भन्ने ‘फातसुङ’ र विदेशीएका नेपालीको कथा भन्ने ‘एकादेशमा’ पुस्तकहरुलाई पनि यो सूचीले समेटेको छ ‘फातसुङ्’ भारतमा बस्ने नेपालीभाषीले छुट्टै राज्यका लागि लडेको पहिचानको लडाईंलाई औपन्यासिक रुप दिएको छ । यसको बुनोट, परिवेश एवं पात्र सबै भारतीय गोर्खाहरुमा अडिएको छ ।

त्यसैगरी ‘एकादेशमा’ कथा सङ्ग्रहले विभिन्न कारणले नेपाल छाडेका तर कुनै न कुनै रुपमा मनमा नेपाल बोकेका प्रवासीहरुको भाव अभिव्यक्त गरेको छ । यसअघि सानु शर्माका अर्धविराम, जितको परिभाषा, अर्थ र विप्लवी उपन्यासहरु प्रकाशित भएका थिए । सानुको यो पहिलो कथा सङ्ग्रह हो ।

विदेशका पृष्ठभूमिका लेखिएका र विदेशमै बस्ने लेखकहरुका यी दुई पुस्तक मदन पुरस्स्कार सूचीमा समावेश गरेर गुठीले संसारका जुनसुकै कुनामा भए पनि नेपाली भाषामा लेखिएका पुस्तकहरु उसको सरोकार हुने सन्देश दिन खोजेको देखिन्छ । बाँकी पाँच पुस्तकका विषय, परिवेश र पात्र नेपालभित्रका छन् ।

गएको वर्षझैं यसपटकको सूचीमा पनि महिलाले लेखेको कृतिलाई मदन पुरस्कार गुठीले महत्व दिएको देखिन्छ । अस्ट्रेलिया निवासी सानु शर्माको कथा सङ्ग्रह ‘एकादेशमा’ सँगै दाङ्की डा.विन्दु शर्माको कविता सङ्ग्रह ‘ओक्कल दोक्कल पिपल पात’ गरी दुई महिला यस पटकको सूचीमा परेका छन् ।

अघिल्लो वर्ष पनि निलम कार्की ‘निहारिका’ र सरस्वती प्रतिक्षा यो सूचीमा परेका थिए । ती मध्ये निहारिकाको उपन्यास ‘योगमाया’ले मदन पुरस्कार प्राप्त गरेको थियो ।

देशभित्र र बाहिरका कथालाई समेटेको भन्दै समीक्षकहरुले यसपटकको सूची समावेशी देखिएको बताएका छन् । समाजिक सञ्जालहरुमा विभिन्न लेखक तथा समीक्षकहरुले मदन पुरस्कारको यो पटकको सूचीलाई कम विवादित एवं समावेशी भएको दावी गर्दै स्टाटसहरु लेखेका छन् ।

ओकल दोकल पिपल पात

डा. विन्दु शर्मा मूलतः समालोचक हुन् । रत्न राज्य क्याम्पसमा २०६३ सालदेखि सहप्राध्यापकका रुपमा अध्यापनरत डा. विन्दु शर्मार् स्नातकोत्तर तहमा समालोचना पढाउँछिन् । उनका चार वटा समालोचना सङ्ग्रह प्रकाशित छन् भने उनको सम्पादनमा चार वटा समालोचना सङ्ग्रह प्रकाशित छन् । ‘ओकल दोकल पिपल पात’ शर्माको नवौं कृति हो । कविताको समालोचना गर्दा गर्दै अरुलाई नमूना देखाउन आफूले कविता सङ्ग्रह प्रकाशन गरेको उनको कथन छ । उनी साहित्यकार नेत्र एटमकी जीवन संगीनी हुन् ।

‘ओकल दोकल पिपल पात’ कविता सङ्ग्रहमा शीर्ष कवितासहित जम्मा २४ कविता सङ्ग्रहित छन् । जसलाई ६-६ वटा कविताका दरले चार भागमा विभाजन गरिएको छ । पुस्तकमा शीर्ष कवितासहित आँशुको सौन्दर्य शास्त्र, पि्रयतमकी आमा, तिम्रो विराशतको अनुष्ठानमा कविता केही फरक छन् ।

मरिचिका

केही साताअघि महेश थापाको कथा सङ्ग्रह ‘मरिचिका’माथि अनलाइनखबरमा एउटा समालोचना छापिएको थियो, ‘मरिचिकामा कहाँ छ मोटर न्युरोन ?’ उक्त समालोचनामा यसअघि शारीरिक दुर्बलता भए पनि पारिजात र झमककुमारीले मदन पुरस्कार पाए जस्तै महेश थापाको यो कृतिले पनि त्यो सम्भावना देखाएको सङ्केत गरेको थियो । नभन्दै ‘मरिचिका’ पुस्तक मदन पुरस्कार सूचीमा परेपछि त्यो दावीले एक खुड्कीलो उक्लिने मौका पाएको छ ।

यसअघि ‘नमोनम’ नामक हास्यव्यङ्ग्य सङ्ग्रह प्रकाशन गरेका महेश थापाले एक औंलाले लेखेको कृति हो मरिचिका । यसमा १६ वटा कथाहरु सङ्ग्रत छन्।

शीर्षकथाले कृत्रिम मानवसँग जिवित मानवको प्रेम हुने मात्र होइन, श्रीमतीसँग सम्बन्धविच्छेद गरेर सँगै बस्ने अनौठो कथा भन्छ । त्यसैगरि दोस्रो कथा होड-२ विपी कोइरालाको होड कथाको विपठन हो । वीपीको कथामा लोग्नेका तर्फबाट कथा भनिएको छ भने होड-२ मा स्वास्नीको माध्यमबाट कथा भनिएको छ ।

त्यसैगरि सङ्ग्रहभित्रका ‘निम्तो पत्र’ र ‘यात्रा’ कथाहरु व्यङ्ग्यको मात्रा अत्यधिक छ । युथोसियाको यात्रामा हिँडेको एउटा यात्रीको जीवनमा आइपरेको घटनाले पाठकलाई जीवन यात्राको औचित्यबारे सोच्न बाध्य बनाएको छ । अभयदान कथाले भने पढ्न नसक्ने तर चिट चोरेर भए पनि पास गर्नु पर्ने बाध्यता बोकेको एउटा युवकको कथा भन्छ ।

कथा सङ्ग्रहभित्रको ‘पुच्छर’ र ‘द द द’ प्रायोगिक विज्ञान कथाहरु हुन् । यी कथाहरुले आम मानिसले कल्पना गर्ने भन्दा फरक शैलीले नयाँ अन्वेषणको कुरा गरेको छ । यो कथा पढिरहँदा अङ्ग्रेजी भाषाका अर्बौं डलरको लागतमा बनेका विज्ञान चलचित्रको सम्झना हुन्छ । तर, पश्चिमा विज्ञानसँग पूर्वीय धार्मिक कल्पना मिसाएका कारण यी कथाहरु कतैबाट प्रभावित जस्ता लाग्दैनन् । पुस्तकमा प्रेम, विवाह र यौनसम्बन्धी सामान्य कथाहरु पनि सङ्ग्रहित छन् ।

उत्कृष्ट कथाहरुका बीचमा एक/दुई कथाहरु लेखकको स्वास्थलाई ध्यानमा राखेर पुस्तक बनाउन मात्र राखिएका हुन् कि भने झैँ लाग्छन् ।

रणहार

इतिहासलाई आधार बनाएर लेखिने आख्यानका आफ्नै जटिलताहरु छन् । यसमा कलम चलाउन इतिहासको जानकारी त हुनैपर्छ, त्यसबाहेक लेखनमा आख्यानशैलीले तान्न सक्नुपर्छ । डायमन्ड शमशेर राणाले सुरु गरेको ऐतिहासिक उपन्यासको बिँडो थाम्दै लेखिएको ‘रणहार’ उपन्यासले एउटा अभागी राजाको कथा भन्छ ।

पृथ्वीनारायण शाहलाई मितछोरा बनाएर उपत्यकामा स्वागत गरेका रणजित मल्ल अन्ततः यिनै मितछोराका कारण राज्य मात्र गुमाउनु परेन, अन्तिम अवस्था त्यही छोराको हातबाट बन्दी हुनुपर्‍यो । जेल मुक्त हुनका लागि उनले काशी जाने इच्छा राखे । बुढेशकाल र रोगी शरीरका कारण काशीमा पनि दुःखद अवस्थामा डेढ वर्षपछि उनको मृत्यु हुन पुग्यो ।

यसपटक मदन पुरस्कार सूचीमा परेको योगेश राजको ऐतिहासिक उपन्यास रणहार फरक शैलीको पुस्तक हो । पुस्तकले भक्तपुरका राजाको कथा मात्र भन्दैन, त्यहाँका जनताको अवस्थाको पनि वर्णन गर्छ । उपन्यास भए पनि यो कतिपय ठाउँमा पुस्तक इतिहासकै पुस्तक जस्तो भान हुन्छ ।

पुस्तकले अन्य आख्यान जस्तो पृथ्वीनारायण शाह वा रणजीत मल्ल कसलाई नायक बनाउन खोजेको हो भन्ने कुरा स्पष्ट हुँदैन । यो पुस्तक इतिहासले काट्न नसकेको तर तथ्यले भन्न नसकेको कुरालाई घालेर लेखिएको पुस्तक हो ।

‘रणहार’ उपन्यसासका लेखक मूलतः इतिहासकार हुन् । उनका नेपालको इतिहाससम्बन्धी दुई वटा अंग्रेजी पुस्तक प्रकाशन भएका छन् । त्यसबाहेक सोसल वाह नामक अनुसन्धानमूलक पत्रिकामा उनका इतिहाससम्बन्धी दर्जनांै लेख छापिएका छन् । उनी नेपाल इन्जिनियरिङ् कलेजका प्रविधि अनुसन्धानका अध्यापक समेत हुन् । उनी नेपालका प्राचीन भाषाविज्ञ पनि हुन् ।

विचारको लास

यो वर्ष मदन पुरस्कार सूचीमा परेका मध्ये सबैभन्दा पाका साहित्यकार हुन्-ध्रुव सापकोटा । समकालीन साहित्य लेखनप्रति तीब्र असहमति जनाउने लेखक मध्ये एक ध्रुव सापकोटाले यो पटक नमूना कथाहरु लिएर आएको दावी गरेका थिए । जसलाई मदन पुरस्कार गुठीले सूचीमा राखेर अनुमोदन गरेको भान हुन्छ ।

पुस्तकमा २१ वटा कथा समावेश छन् । सबै कथाहरुले तीब्र सामाजिक व्यङ्ग्य गरेका छन् । उच्च बौद्धिक पात्र, उनीहरुले बोल्ने संवाद र बुनोटका कारण यो कथाले प्रकाशनका बेलादेखि नै चर्चामा थियो ।

यसअघि उनका उच्चारण, नेपथ्य, हामी हाँसिरहेछौं, अन्धकार जस्ता कथा सङ्ग्रह प्रकाशित भएका थिए । त्यसैगरी उनले आकाश विभाजित छ, अवतार विघटन, देशमुक्त, ज्यागा जस्ता संयुक्त उपन्यास प्रकाशन गरेका छन् । उनी नेपाली साहित्यमा संयुक्त उपन्यास लेखनका मुख्य पात्र मानिन्छन् ।

उनको एकल लेखनमा ‘विखण्डित’ उपन्यास पनि बजारमा आएको छ ।

नगरकोटीको ज्ञ

नेपाली साहित्यमा प्रयोगशील लेखक मानिन्छन्, कुमार नगरकोटी । हरेक वर्ष एउटा पुस्तक प्रकाशन गर्ने नगरकोटीको ‘ज्ञ’ पुस्तक २०७५ सालको उत्कृष्ट सुचीमा परेको छ । लघु आकारको यो उपन्यासमा अङ्ग्रेजी भाषा र दृश्य शैलीको अत्यधिक प्रयोग भएको छ । यसलाई नगरकोटीले नोभेला नाम दिएका छन् । पुस्तकले साङ्केतिक रुपमा पूर्वराजा ज्ञानेन्द्रको जीवन दर्शनलाई बोकेको दाबी गरिएको छ ।

यसअघि उनको मोक्षान्त फिबर काठमाडौं, फोसिल, घाटमान्डौं, दोचा, मिस्टिका, फोसिल, कोमा अ पोलिटिकल सेक्स र बाथटप जस्ता कृतिहरु प्रकाशित भएका छन् ।

मदन पुरस्कार पुस्तकले पाउने हो कि लेखकले भन्ने बहस पनि यदाकदा हुने गरेको छ । यसपटक छानिएका पुस्तकहरुमा चिनिएका व्यक्ति र लोकपि्रयतामा नआएका दुबैखाले लेखकहरु परेका छन् । त्यसैले पुरस्कार व्यक्तिले भन्दा रचनाले नै पाउने अनुमान लगाउन सकिन्छ । रचनामा पनि कुन विधा र विषयले पुरस्कार जित्ला भन्ने प्रश्न महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment