३ मंसिर, काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरूप्रति सरकारको नियत ठिक नभएको टिप्पणी गरेका छन् ।
बुधबार प्रधानमन्त्रीसँगको छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सरकारले दलहरूलाई नियमित गतिविधि गर्न अवरोध पुर्याएर दलहरूको परीक्षण गरिरहेको आरोप पनि उनले लगाए ।
प्रधानमन्त्रीले बोलाएकै कारण आफूहरू छलफलमा उपस्थित भएपनि वर्तमान सरकार पूर्णत: असंवैधानिक भएको जिकिर ज्ञवालीको थियो ।
‘सरकारले बोलायो हामी आयौं तर यो संविधानअनुसार बनेको सरकार त होइन नि त । यो प्रतिनिधि सभालाई कनैपनि हालतमा संवैधानिक भन्न मिल्छ र ? हामीले प्रधानमन्त्रीसँग यही कुरा राखेका छौं । तर मन नपराउनेहरुलाई भड्काउपूर्ण रुपले हेर्ने नै भए,’ ज्ञवालीले भने ।
‘हामी पूर्वनिर्धारित कार्यक्रमअनुसार निस्केका छौं । प्रधानमन्त्रीको जवाफ के हुन्छ पछि थाहा होला । दलहरूलाई कति च्यालेन्ज गर्न सकिन्छ र दलहरूलाई शान्तिपूर्ण आन्दोलनबाट कति रोक्न सकिन्छ भन्ने कुराको परीक्षण सरकारले गरिरहेको छ । यदि यो परीक्षण सफल भयो भने चुनाव त धेरै टाढाको कुरा हो । दलहरुले आफ्नो नियमित गतिविधि र छलफल समेत गर्न नपाउने स्थिति बन्छ ।’
उनले सरकारको यस्तै व्यवहार निरन्तर रहे चुनाव तर परको कुरा दलहरुले नियमित गतिविधि समेत गर्न नपाउने स्थिति बन्ने बताए ।
बुधबार प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनबारे दलहरुसँग छलफल गरेकी छिन् ।
प्रतिक्रिया 4